Khadya Bibhag

उपेन्द्र यादव अघिअघि महन्थ ठाकुर पछिपछि

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टीमा देखिएको विवादमा अध्यक्ष उपेन्द्र यादव अघिअघि र अर्का अध्यक्ष महन्थ ठाकुर पछिपछि हिडिरहेको देखिन्छ

पछिल्लो घटनक्रममा अध्यक्ष यादवले कुनै क्रिया देखाउँदा त्यसको तुरुन्तै अध्यक्ष ठाकुरले पनि प्रतिकृया देखाउँदै आउनु भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बसाएर लुम्बनी प्रदेशका चारजनालाई सांसदलाई कारवाही गरेपछि अध्यक्ष महन्थ ठाकुरले पनि बबरमहलमा कार्यकारिणी समितिको बैठक बसाएर कुनै कारवाही नभएको निर्णय गरेर पत्र पठाउनु भएको थियो । यद्यपी लुम्बनी प्रदेशको घटनाबारे निर्णय गर्न अध्यक्ष ठाकुरलाई बैठक बसाउन अध्यक्ष उपेन्द्र यादवले आग्रह गर्नुभएको थियो तर उहाँले कोरोनाका कारण देखाउँदै बैठक बसाउन मानेका थिएनन् अनि उपेन्द्र यादवले बैठक बसाएर सो निर्णय गर्नुभएको थियो ।
त्यसपछि बाध्य भएर महन्थ ठाकुरले पनि बैठक बसाएर निर्णय लिनुभएको थियो ।

लुम्बनी प्रदेशका सांसदलाई पार्टीबाट निस्कासन गरेको जानकारी उपेन्द्र यादवको तर्फबाट निर्वाचन आयोगलाई गराउनु भएको थियो । त्यसपछि महन्थ ठाकुरले पनि निर्वाचन आयोगलाई लुम्बनीका सांसद एवं पार्टी नेतालाई कुनै कारवाही नभएको जानकारी आयोगलाई गराउनु भएको थियो ।

त्यसको अघिल्लो दिन अर्थात बैशाख १६ गते महन्थ ठाकुर प्रदेशसभाका सभामुखलाई पत्र लेख्नु भएको थियो । बैशाख २७ गते अध्यक्ष उपेन्द्र यादवले माओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेता माधवकुमार नेपालका साथमा संयुक्त विज्ञप्ति निकालेर वैकल्पिक सरकारका लागि आह्वान गर्नुभएको थियो । त्यसपछि सोही दिन अध्यक्ष ठाकुरले पनि विज्ञप्ति जारी गरेर जसपा नेपालले कुनै वैकल्पिक सरकारको पक्षमा नरहेको जानकारी गराउनु भएको थियो ।

उपेन्द्र यादवले जेठ १ कार्यकारिणी समितिको बैठक बालुवाटारमा बोलाउँदा महन्थ ठाकुरले त्यही दिन विज्ञप्ति जारी गरेर कुने पनि बैठक नरहेको जानकारी विज्ञप्तिमार्फत गराउनु भएको थियो ।

जेठ ४ गते उपेन्द्र यादव र महन्थ ठाकुर दुवैजनाको हस्ताक्षर आठ बुँदे सहमतिको विज्ञप्ति जारी भयो । त्यो विज्ञप्ति जारी हुने वित्तिकै महन्थ ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको पत्र संसदीय दलमा दर्ता गराउनु भएको थियो ।

उपेन्द्र यादवले जेठ ११ गते तीन दिनभित्र स्पष्टिकरण दिन महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ सुक्लालाई पत्र पठाउनु भएको थियो । त्यही दिन महन्थ ठाकुरले पनि तीन दिनभित्र चित्त बुझ्दो जवाफ दिन उपेन्द्र यादवलाई पनि स्पष्टिकरण सोध्नुभयो ।

स्पष्टिकरणको जवाफ दुवै पक्षमध्ये कसैले दिनु भएन । त्यसपछि उपेन्द्र यादवले जेठ १५ गते २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ दिन महन्थ ठाकुरसहित चारजनालाई स्पष्टिकरण सोध्नुभयो । त्यही दिन महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पनि २४ घण्टे स्पष्टिकरण सोध्नुभयो ।

तर २४ घण्टा त के दुई दिनसम्म दुवै पक्षमध्ये कसैले जवाफ दिएनन् । जेठ १८ गते अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्काशित गरेको निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी पनि गराउनुभयो । त्यही दिन अध्यक्ष ठाकुरले उपेन्द्र यादवलाई पार्टीबाट निष्काशित गरेको निर्णय गरे र निर्वाचन आयोगलाई जानकारी गराउनुभयो ।

अर्थात उपेन्द्र यादवले एक्सनमा गएपछि महन्थ ठाकुरले रिएक्सन देखाउँदै जानुभयो । अब पार्टी विभाजनको कदम कसले पहिला उठाउँछन् हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया