उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम विभाजन गर्नुभएका नेताहरु अहिले कहाँ हुनुहुन्छ भनि प्रश्न यतिखेर उठिरहेको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टी पुनः विभाजनको अवस्थामा पुगेको विषयमा विश्लेषण हुँदा धेरैले सोध्न थालेका छन् कि फोरम नेपाल टुक्राउने नेताहरु अहिले कहाँ छन् । अरुले मात्र होइन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि फोरम नेपाल पटक पटक टुक्रा गर्ने नेता तथा टुक्राउनमा सहयोग गर्ने समूह अहिले कहाँ छन् भनि प्रश्न गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, मधेशी जनअधिकार फोरम टुक्राउनेहरुले के पाए, र टुक्रा गरेर जानेहरु अहिले कहाँ छन् ।’ वास्तावमा यो सोचनीय विषय हो । जजसले मधेशी जनअधिकार फोरम टुक्राए उनीहरु अहिले अस्तित्वमा छैनन् ।
अर्थात उनीहरु कहीँ नकहीँ राजनीतिकसँग जोडिए पनि मुलधारमा देखिएका छैनन् । मधेशी जनअधिकार फोरम टुक्र्याउने भाग्यनाथ गुप्ता, विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता, अमर यादव मुलधारको राजनीतिमा देखिनु भएको छैन । उहाँहरुले जुन उद्देश्यका साथ फोरमबाट अलग भएर छुट्टै पार्टी गठन गर्नुभएको थियो, त्यो उद्देश्य पुरा भयो कि भएन त्यो कुरा बाहिर आएको छैन तर उहाँहरुको पार्टी अहिले अस्तित्वमा नै छैन । पहिलो मधेश आन्दोलन चलिरहेकै बेला तत्कालिन मधेशी जनअधिकार फोरम र सरकारबीच २२ बुँदे सम्झौता भएको थियो ।
सो सम्झौताको विरोध पार्टीभित्रै भयो । जुन उद्देश्यका साथ आन्दोलनको सुरुवात भएको थियो, त्यो उद्देश्य यो सम्झौतासँग नमिलेको, सरकारले मधेशलाई धोका दिएको, सरकारसँग उपेन्द्र यादव मिलेर सम्झौता गरेको आरोप भाग्यनाथ गुप्तालगायतका नेताहरुको थियो ।
भाग्यनाथ गुप्ताका साथमा रामकुमार शर्मा, जितेन्द्र सोनललगायतका नेताहरु फोरम नेपाल छाडेर मधेशी जनअधिकार फोरम (मधेश) गठन गर्नुभएको थियो ।
केही दिन उहाँहरुले आन्दोलनका गतिविधि जोडतोडले चलाउनु भयो । धेरै दिनसम्म त्यो चलेनन् । महन्थ ठाकुरको अध्यक्षतामा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीमा रामकुमार शर्मा, जितेन्द्र सोनललगायतका नेताहरु गएपछि भग्यनाथ गुप्ता एक्लै हुनुभयो । उहाँ एक्लै भएपनि केही सानातिना गतिविधिहरु गरि नै रहनु भयो तर पछिल्लो समय सो पार्टीको कुनै गतिविधि छैन । भाग्यनाथ गुप्ता पनि राजनीतिक परिदृश्यमा देखिनुभएको छैन ।
मधेश आन्दोलनपछि संविधानसभाको चुनाव भयो । चुनावपछि माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । सो सरकारमा तत्कालिन मधेशी जनअधिकार फोरम सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सहभागी भएको थियो । सो सरकारमा फोरम नेपालको तर्फबाट उपेन्द्र यादव, विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्तालगायतका नेताहरु सरकारमा सहभागी हुनुभएको थियो । रुक्माङ्गत कट्वाल काण्ड भएपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभयो । त्यसपछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्ने सुरसार सुरु भएको थियो ।
उता प्रचण्डपनि प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएको थियो भने माधव कुमार नेपाल पनि जवर्जस्त उम्मेदवार हुनुहुन्थ्यो । विजयकुमार गच्छदार माधव कुमार नेपालको नेतृत्वमा बनेको सरकारमा जान चाहनु भएको थियो भने उपेन्द्र यादव प्रचण्ड नेतृत्वमा सरकार बनोस् भनि चाहना राख्नुभएको थियो ।
अन्ततः दुवैजनामा विवाद उत्पन्न भएपछि गच्छदारले २०६६ मा पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी गठन गरेर माधवकुमार नेपाल नेतृत्वमा गठन भएको सरकारमा सहभागी हुनुभएको थियो । फोरम लोकतान्त्रिक पार्टीलाई राम्रै चलाउनु भयो उहाँले । उपेन्द्र यादव नेतृत्वको फोरम नेपालबाट ठूलो पार्टी बनाउनुभयो संसदमा । तर उहाँले त्यो पार्टीलाई धेरै दिनसम्म चलाउन सक्नु भएन काँग्रेसमा प्रवेश गर्नुभयो । काँग्रेस पार्टीमा गएपछि उहाँ ओझेलमा पर्नुभयो ।
अहिले उहाँमाथि बालुवाटारको ललिता निवासका कारण मुद्दा दायर भएको छ । सो मुद्दाका कारण सांसदबाट निलम्बनमा पर्नुभएको छ । अहिले उहाँको राजनीतिक गतिविधिहरु पुरै शुन्य छ ।
झलनाथ खनालको नेतृत्वमा सरकार ढलेपछि अर्को सरकार बनाउनका लागि तत्कालिन मधेशी जनअधिकार फोरममा पुनः विवाद भयो । त्यतिबेला पनि उपेन्द्र यादवले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन चाहनु भएको थियो । त्यसका लागि निकै प्रयासहरु भइरहेको थियो । तर जेपी गुप्ता प्रचण्डको पक्षमा हुनुहुन्थेन । त्यही विवादको बिचमा मधेशी जनअधिकार फोरम नेपाल पुनः विभाजित भयो । जेपी गुप्ता उपेन्द्र यादवबाट अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी गठन गर्नुभयो । फोरम गणतन्त्रिक बनाएपछि उहाँले डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनमा ठूलो भूमिका खेल्नुभयो । जेपी गुप्ता भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बन्नुभएको थियो । उहाँ मन्त्री भएकै अवस्थामा पुरानो भ्रष्टाचारको आरोपामा पक्राउ पर्नुभएको थियो । उहाँ जेल पर्नुभयो । जेलबाट १३ महिनापछि बाहिर आउनुभयो । उहाँ तराई मधेश राष्ट्रिय अभियान गठन गरेर राजनीतिमा सक्रिय हुनुभयो ।
तर त्यो अभियान धेरै चलेन । विस्तारै उहाँको साथमा रहनुभएका नेताहरु छाड्दै अन्य पार्टीमा जान थाल्नुभयो । उहाँको अभियान कमजोर हुँदै गयो । त्यसपछि उहाँ निस्कृय हुनुभयो र कृषि कर्ममा लाग्नुभयो । अहिले उहाँ राजनीतिमा त्यति सक्रिय हुनुहुन्न । कृषि फर्ममा रमाई रहनुभएको छ । अमर यादव पनि मधेशी जनअधिकार फोरमबाट अलग भएर तराई मधेश फोरम नेपाल गठन गर्नुभएको थियो । सुरुमा उहाँ सो पार्टीबाट निकै सक्रिय भएर काम गर्नुभयो ।
तर विस्तारै सेलाउँदै जानुभयो । प्रतिनिधिसभा चुनावभन्दा पहिला उहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । तर उहाँ सो पार्टीमा धेरै दिन टिक्नुभएन । फेरि पुरानै अवस्थामा फर्किनुभयो । त्यसपछि उहाँ माओवादी पार्टीमा प्रवेश गर्नुभयो । तर उहाँ माओवादी पार्टीमा पनि अहिले सक्रिय हुनुहुन्न । उहाँ भन्नुहुन्छ, म अहिले माओवादीमा छैन ।’ उहाँ राजनीतिमा निस्कृय हुनुभएको छ ।
उहाँहरु उपेन्द्र यादवमाथि जेजे आरोप लगाएर पार्टीबाट निस्केर अर्को संगठन बनाएर सक्रिय हुनुभयो त्यो कुरा पुरा गर्न सक्नुभएन र विस्तारै उहाँहरु आफै निस्कृय हुनुभएको छ । अर्थात जजसले मधेशी जनअधिकार फोरम विभाजन गरे, त्यो अहिल कुनै पनि राजनीतिक दलमा सक्रिय छैनन् ।


तपाईको प्रतिक्रिया