काठमाडौँ जेठ २२ गते । जहाँ मन्त्री बन्नका लागि सबै हद पार गर्ने नेताहरु छन् भने त्यही मन्त्री बन्नका लागि पटक पटक अफर आएपछि अस्वीकार गर्ने नेता पनि छन् । जसपा नेपालकै कतिपय नेताहरु मन्त्री बन्नका लागि बालुवाटारदेखि अन्य शक्ति केन्द्र धाएका कथाहरु बाहिर आएका छन् । तर मधेशमै यस्ता नेता पनि हुनुहुन्छ जो मन्त्री पद अस्वीकार गर्नुभएको छ ।
उहाँ हुनुहुन्छ वृजेश गुप्ता । ह्रदयश त्रिपाठी संयोजक रहनु भएको स्वतन्त्र राजनीतिक समूहबाट एमालेको चुनाव चिन्हमा कपिलवस्तु क्षेत्र नम्बर २ बाट चुनाव जित्नु भएका वृजेश गुप्तालाई प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्री बन्नका लागि पटक पटक आग्रह गर्नुभएको थियो तर उहाँले अस्वीकार गर्दै आइरहनु भएको छ ।
हिजो जसपा नेपालका नेताहरु मन्त्रीमा सपथ खान तयार भइरहेको बेला प्रधानमन्त्री अोलीले वृजेश गुप्तालाई फोन गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर उनी आफू अहिले सांसद नरहेको कारण नैतिकताको हिसाबले सरकारमा सहभागी नहुने जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्री अोलीले आफूलाई पहिलादेखि नै सरकारमा आउनु आग्रह गर्नुभएको थियो तर आफूले नै अस्वीकार गर्दै आएको बताउँदै नेता गुप्ताले अहिले त झन सांसद नभएको हुनाले सरकारमा जान नै नहुने भएकाले प्रधानमन्त्री अोलीले गरेको आग्रहलाई धन्यवाद दिँदै अस्वीकार गरेको बताउनुभयो ।
समूहका संयोजक ह्रदयश त्रिपाठीले पनि गुप्तालाई मन्त्री पद दिन खोज्दा उहाँले अस्वीकार गर्नुभएको साक्षी आफू रहेको बताउनु भएको छ । उहाँले अद्भुत र उच्च नैतिकतालाई गुप्तालाई फेसबुकमार्फत सलाम पनि गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्री बन्नका लागि नेकपा विभाजन भयो । एमाले पार्टीमा विभाजन छ । जसपा नेपाल विभाजनको संघारमा पुगेको छ । तर त्यही मन्त्री पद अस्वीकार गरेर गुप्ताले उदाहरण कायम गरेको चर्चा सबैतिर भइरहेको छ ।
राप्रपाबाट राजनीति सुरु गर्नुभएका वृजेश गुप्ताले मधेश आन्दोलनको क्रममा महन्थ ठाकुर नेतृत्वको तमलोपामा प्रवेश गर्नुभएको थियो । उहाँ दुई पटक मन्त्री भइसक्नु भएको छ । यसपटक प्रधानमन्त्री ओलीले आफै आग्रह गर्दा उहाँले इन्कार गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया