कृषिमन्त्री अर्याल जाँदा जाँदै भन्नुभयो, यो सिजनमा मलको अभाव हुनेछैन, मैले सबै अध्यावधिक गरेको छु’

काठमाडौँ जेठ २२ गते । देशभरिबाट मलको अभावको समाचार आइरहेको बेला निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले यसपाली मलको अभाव नहुने दावी गर्नुभएको छ ।

मन्त्रीबाट हट्नु भन्दा पहिले हिजो कृषि समाग्री कम्पनी लिमिटेडको मल गोदामको अनुगमनमा जानु भएका मन्त्री सो दावी गर्नुभएको हो ।
उहाँले यो सिजनका लागि मलको कुनै समस्या छैन, तर कोभिड–१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको स्वीकार गर्नुभयो । यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म मलको मौज्दात रहेको दावी गर्दै उहाँले देखाइएको तथ्यांकले मलको बितरणमा समस्या नरहेको बताउनुभयो ।

कोभिडका कारण वितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो, उहाँले भन्नुभयो, कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासो÷टिप्पणी आएपनि अहिले त्यसको समाधान भइसकेको उहाँको भनाई थियो ।यसको विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको छ ।’

आफू मन्त्रालयको नेतृत्वमा आएदेखि नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै उहाँले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिनुभयो ।

कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

’मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजिकरण गरिसकेका छौ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुस’, उहाँले भन्नुभयो, ’फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस् ।यसमा तपाइहरु सचेत रहनुहोला ।’

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएको छ । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो । त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया