प्रदेश २ सरकारमा जसपा, काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दै

काठमाडौँ जेठ २४ गते । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दैछ ।
जसपा नेतृत्वको सरकारमा काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट १ जना गरी तीनजना सपथ लिने तयारी भइरहेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को सरकारबाट एकमन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने बाटो खुलेको हो ।

जनकपुरमा रहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरेर आजै सो विषय टुग्यांउन लाग्नु भएको हो ।

 

काँग्रेस धनुषाका सभापति रामसरोज यादवले सरकारमा जाने सहमति भइसकेको छ, कुन कुन मन्त्रालय लिने भने विषयमा जसपा नेपालसँग छलफल भइरहेको बताउनुभयो । अहिले प्रदेश २ सरकारसँग ६ वटा मन्त्रालय रहेका छन् त्यसमा ४ थपेर १० बनाउने तयारी रहेको छ । कुन मन्त्रालय भत्काउने कुन मन्त्रालय राख्ने विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राएर थप चारवटा मन्त्रालय बनाउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया