एउटा यस्तो सरहदतः जहाँ एक अर्काको भरमा बाँचछन् दुवै देशका नागरिक

कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्। नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन्। अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ?

निषेधाज्ञामा पसल खुल्दैनन्। यस्तोे अवस्थामा भारतका छिमेकीले लुकिछिपी रासन ल्याएर नेपालीलाई नबेच्ने हो भने उनीहरूको छाक कसरी टथ्र्यो र ? मियाँले गत सालको कोरोनाको लहर सम्झिए। नेपालमा गत वर्ष कोरोना महामारीका कारण गरिबले खान नपाएको उनले पनि सुने। तर, सरकारले सीमा क्षेत्रका बासिन्दालाई खाद्यान्न छ–छैन भनेर सोधखोज गरेन।
सीमामा जोडिएरै बसेका ३४ घरका नेपाली आर्थिक रूपले सम्पन्न छैनन्। उनीहरूसँग जग्गाजमिन थोरै छ। भरपर्दो जागिर कमैको मात्र छ। तर, आफ्नै सरकारले वास्तै नगरेको गुनासो उनीहरूको छ। भारतीय छिमेकीकै कारण उनीहरूलाई खाद्यान्न अभाव कहिल्यै पनि भएन।

मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका सीमा क्षेत्रका दुवै देशका बासिन्दाबीच प्रगाढ सम्बन्ध छ । पश्चिममा झैं चरम सीमा विवाद पूर्वमा नपरे पनि भावनात्मक असर भने बेलाबखत पर्ने गरेको स्थानीय सुनाउँछन् । झापाको पूर्वी सीमा क्षेत्र इलामबाट गौरीगन्जसम्मका नेपाली अधिकांश भारतीय बजारमा निर्भर छन् । उनीहरूलाई हरेक कुरा नेपालभन्दा भारतसँग सरोकार हुन्छ । छोरीचेलीको बिहेवारी चल्छ । तरकारी ऐचोपैंचो चल्छ ।

देशमा नाकाबन्दी र महामारी हुँदा सीमा छेक्न सुरक्षाकर्मी खटाउने गरिन्छ । सीमा नाका बाहिरी रूपमा छेकिए पनि ठप्पै पार्न भने नसकिने सुरक्षाकर्मी बताउँछन् । ‘सीमा क्षेत्रका बासिन्दाको मेलमिलाप एकदमै अनुकरणीय छ’, कचनकवलको पाठामारी क्षेत्रस्थित सीमा सुरक्षार्थ खटिएका प्रहरी फणीन्द्र अधिकारी भन्छन्, ‘बरु हामी दुवै देशका सीमा सुरक्षाकर्मीको कुनै व्यवहारमा टसमस हुन सक्छ । तर, स्थानीयबीच सीमालाई लिएर विवाद भएको देखिँदैन ।’

नाकाबन्दीका बखत पनि झापाको दक्षिणी भेगका नेपालीलाई सीमावर्ती भारतीयले नै सहयोग गरेको उनी सुनाउँछन् । भन्छन्, ‘खाद्यान्न अभाव हुँदा पनि सीमा क्षेत्रका भारतीयले आफ्नो रासन कार्डबाट ल्याएको सामानसमेत नेपालीलाई पैंचोका रूपमा बाँडेर खाने गर्थे ।’
भारतसँग सीमा जोडिएको टापु मेचीपारिका बासिन्दा कोरोना महामारीमा करिब–करिब एक्लिएका छन् । उनीहरूलाई नेपाल अथवा भारत दुवै देशको नाकाबन्दी र लकडाउनले प्रत्यक्ष प्रभाव पार्ने गर्छ । वर्षौंदेखि टापुमा एक्लिएका उनीहरूलाई महामारीका बखत नेपालतर्फ आवत–जावत गर्दा नेपालीले नै मन पराउँदैनन् ।
‘नेपालीहरू नै यिनीहरूको भारतसँग साँठगाँठ छ’, मेचीपारिकी मीना राजवंशी भन्छिन्, ‘हामी नेपाली गाउँमा नछिरिदिए हुन्थ्यो भनेजस्तो गर्छन्। बरु भारततिर सीमा प्रहरीलाई भन्दा जान नदिने समस्या हुँदैन ।’

जब देशमा बिपद् आउँछ मेचीपारिका नेपाली उक्त टापुमै रहन्छन् । भारतीय छिमेकीसँग उनीहरूको सम्बन्ध अत्यन्तै सुमधुर छ । भद्रपुर नगरपालिका–३ मा पर्ने उक्त गाउँमा महामारीका बखत भारतीय छिमेकीले रासन कार्र्डबाट खरिद गरेर ल्याएको सामानले जीविकोपार्जन गर्छन् । तर, उनीहरूकहाँ नयाँ पाहुना गए भारतीय सीमा प्रहरीले ‘आतंककारी’ राखेजत्तिकै गरी व्यवहार गर्छन् । राजवंशी भन्छिन्, ‘सायद नेपालबाट भारतीयहरू जतिसुकै मित्रता देखाए पनि असुरक्षित महसुस गर्छन्।’

मेचीपारिका ७५ वर्षीय राजपाल गणेश भारतसँग हामी नेपाली कहिल्यै पनि जुध्न नगएको बताउँछन् । ‘जुध्ने हाम्रो इरादा पनि थिएन । त्यसो त सीमा क्षेत्रका भारतीयले पनि हामीलाई नराम्रो व्यवहार गरेका छैनन्’, करिब ४० वर्षअघिको घटना सम्झिँदै गणेश भन्छन्, ‘सुकुम्बासी खालका भारतीय आएर बेलाबखत हाम्रा गाईवस्तु फुकाएर लैजान्थे । त्यति बेला कसैको घरमा गतिलो वस्तु देख्नै नहुने ।’

नेपाल–भारत सीमा क्षेत्र खुला रहँदै आएको छ । दुवै देशको सीमा क्षेत्रका बासिन्दामा मित्रवत् व्यवहार हुनाले पनि उनीहरूलाई अलग्गै देशका हौं भन्ने देखिँदैन । स्थानीयका अनुसार दुवैतिर बिहेबारी हुँदा सबै मिलेर सहयोग गर्छन् । इद, बकर इद, कृष्णअष्टमी, रामनवमी, दीपावलीजस्ता चाडपर्व पनि दुवै देशका नागरिक एकै स्थानमा भेला भएर मनाउँछन् ।
‘त्यति बेला सीमामा सुरक्षाकर्मी पनि थिएनन् । सीमा खुला थियो । सीमाको महत्व धेरै पछि हुन थाल्यो’, गणेश भन्छन्, ‘अहिले भारतले पनि सीमामा फौज राखेको छ । नेपालले पनि सशस्त्र र प्रहरीको क्याम्प राखेको छ ।’
नेपालीहरू निषेधाज्ञाका बेला खाद्यान्न अभाव हुँदा लुकीछिपी पुग्ने भनेको भारतीय बजार नै हो । पाठामारी क्षेत्रको १ सय १२ नम्बर पिलर आसपास बस्ने रमेश शर्मा भन्छन्, ‘हाम्रा छोरीचेली छिमेक भारततिरै छन् । घरमा केही रासन सकिन्छ, छोरीबाट मगाउँछौं ।’

के भन्छन् स्थानीय जनप्रतिनिधि ?
कचनकवल–५ का वडाध्यक्ष महेशलाल गणेशका अनुसार सीमा क्षेत्र खुला आवत–जावत गर्न मिल्ने भएर पनि होला संवेदनशील मानिन्छ । तर, वास्तविक सीमा क्षेत्र त्यति असंवेदनशील छैन । गत वर्षको कोरोना लहरमा उक्त गाउँपालिकामा एकै दिन १ सय जनासम्म कोरोना पोजिटिभ भेटिएपछि सीमा क्षेत्रमा आउन डराए । यद्यपि, त्यसबखत पनि दसगजा आसपासका नेपाली र भारतीय कसैलाई पनि कोरोना लागेन । अहिले पनि उक्त क्षेत्रका एक जनालाई पनि संक्रमण देखिएको छैन ।

‘कोरोना संक्रमण हुन नदिन भारतीय जनप्रतिनिधि पनि उत्तिकै सजग छन् । सीमा क्षेत्रमा मास्क नलगाई उनीहरू कसैलाई आवत–जावत गर्न दिँदैनन्’, वडाध्यक्ष गणेश भन्छन्, ‘आफ्नो देशका नागरिक र अति विपद्मा परेका भारतीयलाई मात्र आवत–जावत गर्न दिइन्छ । लापरवाही छैन ।’

मेचीपारिको नेपालतर्फ जनप्रतिनिधि र सुरक्षाकर्मीको पहलमा सीमा क्षेत्रमा कडा निगरानी राखिएको छ । कसैलाई आवश्यकै परेको खण्डमा पनि परिचयपत्रका आधारमा मात्र ओहोरदोहोर गर्न दिइन्छ । प्रशासनले खुला सीमामा भीडभाड गर्न दिएको छैन । दुवै देशका सुरक्षाकर्मी मिलेर सीमा व्यवस्थित गर्ने प्रयासमा छन् ।

‘कोभिडको समय हाम्रा लागि निकै चुनौतीपूर्ण रह्यो । सीमा जोडिएको छ, कसैगरी पनि भारततर्फ जान र भारतीयलाई नेपाल आउन नदिने प्रयास गरिन्छ । आँगन जोडिएको सीमाका कारण भने ठप्पै पार्न भने सधैं चुनौतीका रूपमा रह्यो’, भद्रपुर नगरपालिका–३ की वडाध्यक्ष कमला थुलुङ भन्छिन् ।

दिनभर आवत–जावत ठप्पप्रायः हुन्छ । तस्करले राति भने खुला सीमाको फाइदा उठाउन खोज्छन् । ‘कोरोना कहरमा मात्र होइन द्वन्द्वकालमा पनि सीमा नजिकैका गाउँहरू नै युद्धमा होमिएकाहरूले रोज्ने गर्थे । किनभने, भारतमा पुगेपछि सुरक्षित भइन्छ भन्ने उनीहरूलाई थियो । सधैंभरि खुला सीमा यसकारण पनि चर्चामा रहन्छ’, वडाध्यक्ष थुलुङ भन्छिन् ।
जिल्लाकै सुदूरपूर्व बाहुनडाँगी क्षेत्रवासी सरस्वती तामाङले सीमा क्षेत्रमा जीवन बिताएको ३५ वर्ष पुग्योे । उनका अधिकांश आफन्त भारतमा छन् । भन्छिन्, ‘नेपालमा सीमा नाका बन्दको घोषणा भयो भने त्यसको असर भारतीयभन्दा पनि हामीलाई पर्छ ।’

गाईवस्तु भारततिरै चर्न जान्छन् । भारतका नेपालमा आउँछन् । ती गाईवस्तु लिन सीमा काट्नुपर्छ । यता खाद्यान्न अभाव हुँदा भारतकै भर पर्नुपर्छ । यस्तो कुरा देशका राजधानीमा बस्नेलाई थाहा हुँदैन । सरकारले दुई जना प्रहरी राखेर मात्र सीमा बन्द गर्न सक्दैन । कोरोना कहर सुरु भएसँगै सरकारले सीमाबाट भारतीयहरू खुला रूपमा नछिरुन् भनेर जिल्लाका सबै सीमा गौँडामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

आफ्नै घर अगाडिका सीमा क्षेत्रमा सुरक्षाकर्मी पाउँदा स्थानीयवासी हर्षित भएका छन् । कचनकवल–४ पाठामारीका रमेश यादव भन्छन्, ‘हाम्रै भरमा सरकारले सीमा सुरक्षा गरेजस्तो लाग्थ्यो । कोरोना आएसँगै आफ्नै देशका सुरक्षाकर्मीसँगै सीमा सुरक्षा गर्न पाइएको छ । यद्यपि रासनपानी ठप्पै भने भएको छैन । आवश्यक पर्दा अनुरोध गर्दा १–२ जनाका दरले समय मिलाएर भारत जान पाइन्छ । भारतमा पनि सीमाका नेपालीको मर्का बुझेर जान आउन समस्या छैन ।’

सीमा क्षेत्रमै जन्मेहुर्केका मेचीपारिका अर्जुन राजवंशीले दसगजामा नेपाली सुरक्षाकर्मी देखेको पनि धेरै वर्ष भएको छैन । सीमाका हरपलका सिपाही नै आफूहरू रहेको राजवंशी बताउँछन् । सीमामा नेपालतर्फ भारतीयले खेती गरेका छन् । भारतीयले त्यही खेती उठाउने निहुँमा नेपाल छिर्न नपाएपछि बेलाबखत झगडा गर्छन् ।
‘आँगनमा भारतको सीमा पर्छ । उनीहरू मौका पायो भने खुर्सानी रोप्ने लोभले सीमा मिच्न लागिपर्छन्’, राजवंशी भन्छन्, ‘भारत पक्षका सीमा प्रहरी एसएसबीको टोली पनि सीमा नाकामा बस्छन् भन्ने मात्र छ । उनीहरू भारतीयले नै गर्ने गतिविधिमा नजरअन्दाज गरिदिन्छन् । नेपालतिर नयाँ मान्छे कोही आउनै हुँदैन निकै चासो दिन्छन् ।’

मेचीपारिको गाउँ बाबुबाजेले जतन गरेर बचाएको भूमि रहेको उनी बताउँछन् । ‘पटक–पटक भारतीयले धम्की दिएर, भूमि हत्याउन खोज्दा हाम्रा बाबुबाजे सीमामा रातदिन सिपाहीभैmं तैनाथ भएकाले नै आज मेचीपारीको नेपाल रहेको छ’, भन्छन्, ‘नेपाल–भारत सीमाका बासिन्दाबीचको सम्बन्ध नराम्रो छैन । तर, मौका पाए भने भारतीयले हेप्न पछि पर्दैनन् ।’
भारततर्फ पाठामारीकै भारतीय जनप्रतिनिधि जमिल मोहम्मद सीमामा दाजुभाइजस्तै मिलेर बसेको बताउँछन्। भन्छन्, ‘नेपालीलाई केही समस्या पर्दा हामी सघाउँछौं । भारतीयलाई पर्दा नेपालीले सहयोग गर्छन् ।’ सीमा व्यवस्थित गरिनुपर्नेमा मोहम्मद भन्छन्, ‘नेपालबाट भारतले असुरक्षित महसुस भने गर्छ। खुला सीमा भएकाले को कति बेला ओहोरदोहोर गर्छ भन्न सकिँदैन । दुवै देशलाई असुरक्षा छ ।’
विभिन्न अपराध गरेर सुरक्षित हुन पनि नेपालकालाई भारतमा लुक्न सहज छ भने भारतीयलाई नेपालमा । यसका लागि सीमाका हरेक गौडामा कम्तीमा परिचयपत्र देखाएर मात्र ओहोरदोहोर गर्न मिल्ने व्यवस्था हुँदा दुवै देशका नागरिकलाई सहज हुने भारत पाठामारीका जनप्रतिनिधि बताउँछन् ।
जिल्लाको १ सय ७४ हेक्टर जमिन भारतले मिचेको सीमाविद् राजकुमार पोख्रेल बताउँछन् । मुख्य ७०, सहायक १ सय ८, साना ८ सय १० गरेर जम्मा ९ सय ८८ सीमा स्तम्भ छन्। सीमास्तम्भ आसपास पनि भारतीयहरू खेती गर्दै पुगेका छन् ।

कोराना सुरु भएसँगै झापाका सीमामा सतर्कता बढाउन गत वर्ष प्रहरीले नै स्थानीय समिति गठन गरेर नयाँ अभियान सुरु गरेको थियो । सरकारले जति नै कडाइ गर्न खोजे पनि सीमा नाका ठप्पै पार्न भने नसकेपछि प्रहरी र स्थानीयबीच यस्तो सहकार्य भएको हो । स्थानीय सीमा क्षेत्रमा करिब ५ सय नेपाली सुरक्षाकर्मीसँगै सीमामा अहिले पनि तैनाथ छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार कोरोना सुरु भएपश्चात् जिल्लाको १४४.२ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १ सय २८ वटा अस्थायी बुथ छन् । ९ सय ३४ जना सशस्त्र र ४ सय ९३ जना प्रहरी खटिएका छन् । प्रहरीका ३१ ठाउँमा एकल पोष्ट छन् भने ५६ ठाउँमा संयुक्त ।

‘सीमाका कतिपय ठाउँमा आँगन जोडिएका छन् । तिनले गर्दा पनि मानवतालाई पनि ध्यान दिनुपर्ने हुन्छ’, प्रवक्ता थापा भन्छन्, ‘खुला सीमा छेक्न समस्या र चुनौती दुवै छ ।’
सरकारले जिल्लामा २०२२ सालमा सीमा क्षेत्रका जग्गा नापजाँच गरी धनीपुर्जा दिएको थियो । तर, मेची नदीले धार परिवर्तन गरेसँगै २०४५ सालदेखि भारतीयको आक्रमण सुरु भएको भनिन्छ । अन्ततः जिल्लाको १४४.२ किलोमिटर खुला सीमा क्षेत्रका दिगो रूपमा सिपाही नै स्थानीय रहँदै आएका छन् । उनीहरू भन्छन्, ‘खुला सिमानाका फाइदा–बेफाइदा दुवै छन् । हामीलाई खाद्यान्न अभाव हुँदैन । सस्तोमा पाइन्छ । भारतले सधैं संकाको दृष्टिले भने हेर्ने गर्छ। नेपालीलाई हेप्ने प्रवृत्ति भने छ ।’

के भन्छन् सीमाविद्हरू ?
सीमाविद् डा।राजकुमार पोख्रेलका अनुसार सीमामा बस्ने नेपाली र भारतीयबीच एक किसिमको अपनत्व छ । उनीहरू चाडपर्वसमेत सँगै मनाउँछन् । अर्को पक्ष भने बाहुँनडाँगीबाट झापा गाउँपालिकासम्म खोलाले धार परिवर्तन गरेको क्षेत्र भारतले मिच्नै खोजेको हो। सीमामा बस्ने नेपाली आफैं सिपाही भएर तैनाथ भएका कारण सीमा क्षेत्र जोगिएको पोख्रेल बताउँछन् ।
नेपाल–भारत सीमा क्षेत्रमा ३ पुस्ता बिताइसकेका मेचीपारी भारत गलगलियाका दिपेन्द्र क्षेत्री भन्छन्, ‘नेपाली दाजुभाइको सहयोग नभई हामी हाम्रा छोराछोरीको बिहेबारी पनि गर्न सक्दैनौँ । नेपालीको जग्गा भाडामा लिएर मकै लगाएका छौं । हामीसँग जग्गा छैन । हामी फरक देशका हौं भन्ने पनि लाग्दैन ।’

जब मेची खोलाले धार परिवर्तन गर्दै गयो । त्यतिबेला भारतीयहरू सीमा मिच्ने निउँमा नेपालीलाई रासन कार्ड दिँदै नेपालीसँग भएको लालपुर्जासँगै जमिन पनि आफ्नो बनाउने अभियानै थालेको सीमाविद् बताउँछन् । सीमा व्यवस्थापनबारे दुवै देशलाई उत्तिकै खतरा रहेको सीमाविद्ले बताउँदै आएका छन् ।

सीमाविद् बुद्धिमान श्रेष्ठका अनुसार दुवै देश नेपाल र भारतले एक अर्कोबाट सुरक्षा खतरा छ भनिराखेको छ । नेपालमा योजना बनाउँछन् । भारतमा गएर तहल्का मच्चाउँछन् भन्ने भ्रम भारतलाई छ । नेपाललाई भारतले बर्सेनि सीमा मिचेको छ भन्ने छ । सीमाविद् श्रेष्ठ भन्छन्, ‘अब्दुल कलिम, टुन्डा, यासिन भडकलजस्ता रेड नोटिसमा रहेका र सधैं तहल्का मच्चाउने आतंककारीहरू भारतविरुद्ध नेपालमा बसेर योजना बनाइरहेको भन्ने पनि भारतलाई छ ।’

नेपालमा खुला सीमाका विषयमा २०२७ सालमा पहिलो नाकाबन्दी लागेको थियो । २०२७ सालमा नेपालमा भारतले नाकाबन्दी गर्नुको कारणचाहिँ भारतको खटनपटन नेपालले मान्न हिचकिचाउनाले दुई देशबीच राजनीतिक सम्बन्धमा तनाव आएको थियो । नेपालको पञ्चायती राजनीतिक परिस्थिति जस्तो भए तापनि नेपालले घुँडा टेक्ने मनसाय देखाएन । सीमा विवादको कुरा पनि त्यसबखत उठेको थियो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार उक्त नाकाबन्दी लामो समय रहेन । आपसी कुराकानीद्वारा सल्टियो । यस नाकाबन्दीबाट नेपाललाई खास नकारात्मक असर परेन ।
त्यसबखत नेपाल खाद्यवस्तु उत्पादनमा आत्मनिर्भरजस्तै थियो । नुन, मसलाजस्ता पदार्थमा निर्भर थियो । पेट्रोलियम पदार्थ नभएर जनजीवनमा खास असर पर्ने अवस्था थिएन । नेपालीको क्रयशक्ति त्यस्तो बढेको थिएन । खर्च गर्ने बजार पनि सीमित थियो । त्यसैले कसैलाई वास्तै भएन । नेपालीले ती दिन बिर्सिए ।
श्रेष्ठ भन्छन्, ‘२०४५ को नाकाबन्दी यो नाकाबन्दीचाहिँ निकै कडा थियो । २०४५ चैत १० देखि नेपालको भारतसँग जोडिएको पारवहनका मूल १० नाका र अन्य ११ नाकामा भारतले एकाएक नाकाबन्दी गर्यो‍ । यात्रु वारपार गर्नसमेत लगभग मुस्किल परेको थियो ।’

केही महिनापछि जोगवनी–विराटनगर र रक्सौल–वीरगन्ज नाका हल्का गरियो । यो नाकाबन्दी नेपालमा पुनः प्रजातन्त्र प्राप्तिपछि २०४७ असार १७ देखि खुलेको थियो ।
त्यो समयमा लगभग १५ महिना नाकाबन्दी हुनुको पछाडिका कारण सीमाविद् श्रेष्ठ मोटामोटी पाँच कारण रहेको सुनाउँछन् । पहिलो, चीनबाट नेपालले एके–४७ राइफल, एन्टी एयरक्राफ्ट गन तथा गोलीगठ्ठा भारतलाई सोध्दै नसोधी खरिद ग¥यो भन्ने जिकिर भारतको थियो । दोस्रो, भारतले प्रस्ताव गरेको दुई देशबीचको सीमासम्बन्धी विषय लगायतका कुरामा नेपालले पटक्कै दिलचस्पी देखाएन । तीन, राजा वीरेन्द्र र प्रधानमन्त्री राजीव गान्धी बीचको प्रोटोकल भेदभावका कारण । चार, सोनिया गान्धीलाई पशुपतिनाथ दर्शन गर्न नदिएको कारण पनि थियो । पाँचौं, ऐनमौकामा नेपाल–भारत व्यापार पारवहन सन्धिको म्याद सकिने अवस्था थियो । व्यापार र पारवहन सन्धि छुट्याएर अलग–अलग गर्ने वा एउटै गर्ने भन्ने सम्बन्धमा समेत कुराकानी मिलेन । त्यसपछि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी घोषणा गर्‍यो ।

यी कुरा जेजस्तो भए पनि नाकाबन्दीको समय खाद्यान्न, नुन, तेल, मसला नपाएर एकै जना नेपाली भने मरेनन् । त्यसबखत पनि सीमा आसपास बस्ने नेपाली र भारतीयबीचमा एक किसिमको अपनत्व भने थियो । उनीहरू नेपालीलाई रातको समयमा लुकीछिपी सामान ल्याएर दिन्थे । तर मालसामानको अभाव र मूल्यवृद्धि भएको थियो। सरकारले पेट्रोलियम पदार्थ समेत अर्को देशबाट ल्याएको थियो ।

सीमाविद् श्रेष्ठ भन्छन्, ‘खुला सीमा दुवै देशलाई छेक्न पिरल्लो भइरहेको छ । कोरोनाको समयमा पनि एउटा कुरा महसुस दुवै देशलाई के भयो भने, सीमा नियमन भइदिएको भए समातेर क्वारेन्टाइनमा राख्न सकिन्थ्यो । उनीहरू खुलेआमा आएर मकैबारीमा लुक्ने अझै धेरै समाजमा आएर धेरै जनालाई कोरोना फैलाउने क्रम रह्यो।’ श्रेष्ठका अनुसार अबको एक मात्र सीमामा गर्न सकिने भनेको एकीकृत सीमा व्यवस्थापन गरिनुपर्छ । त्यो गर्दा दुवै देशका जनतालाई पनि दुःख हुँदैन ।

सीमा क्षेत्रका बासिन्दा मिल्दा राम्रा र नराम्रा दुई कुरा हुने रहेछ । काँकडभिट्टा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुनील दाहाल भन्छन्, ‘तस्करीजस्ता कुरा रोक्न एकदमै चुनौती हुने गर्छ ।’
गत वर्षदेखि नेपालबाट भारतमा जाने र भारततर्फ नेपालमा जानेलाई पूर्वका मुख्य बोर्डर काँकडभिट्टा र जोगवनीमा परिचयपत्रका आधारमा अति आवश्यक काममा आवत–जावत गर्न दिइएको थियो । साना नाकामा भने आवश्यकताका आधारमा आवत–जावत गर्न दिइएको छ ।

सीमामा नियमन नहुँदा दुवै देशको सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या भएको भारतीय जनप्रतिनिधि जमिल मोहम्मद बताउँछन् । सीमा बासिन्दालाई असुरक्षा, अभावसँगै आरोप–प्रत्यारोपमा पनि लाग्ने गर्छ । मोहम्मद भन्छन्, ‘खोलाले धार परिवर्तन गर्दा, बाढीले पिल्लर बगाउँदा त्यसको अपजस पनि सीमामा बस्नेले पिल्लर सारे भन्ने आरोप लाग्छ ।’
भारतीय सीमाविद् तथा प्रोफेसर बीसी उप्रेतीले एउटै मान्छे दिनको १० पटक पनि आवत–जावत गर्दा विशेष परिचयपत्रको व्यवस्था हुनुपर्ने कुरा दुवै देशको सीमा बैठकमा राखेका थिए। उनले भनेका थिए, ‘साना बोर्डरदेखि ठूला बोर्डरसम्म एउटै नियमन भयो भने खुला सीमामा नमीठा घटना घट्न सक्छन्।’

दुवै देशका सीमा क्षेत्रका बासिन्दा एक अर्कामा निर्भर छन्। त्यो एउटा पाटो हो। खुला सीमा सधैं खुला भने छाड्न नहुने कचनकवल क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का सांसद बसन्त बानियाँको बुझाइ छ। भन्छन्, ‘सद्भाव एउटा ठाउँमा छ। कम्तीमा हरेक सीमा क्षेत्रमा परिचयपत्रको व्यवस्था गर्न सके राम्रै हो। तर, सीमा वारपार गर्ने नाकाबाहेक अन्यमा तारबारकै व्यवस्था गरिनुपर्छ।’

भारतसँग सीमा जोडिएको मेचीपारि गाउँका एक मात्र जनप्रतिनिधि अर्जुन राजवंशी भन्छन्, ‘खुला सीमा छेक्न तारबार पनि लगाउने भन्ने सुनिन्छ। सीमा क्षेत्रका बासिन्दाबीचको आत्मीयतामा खलल पुग्न सक्छ। सीमा नियमनका लागि परिचयपत्र नै सबैभन्दा उत्तम हो। यस बिषयमा दुवै देशको ध्यान जाओस्।’
अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया