विवादै विवादमा जसपाको बित्यो एक वर्ष

उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल गठन भएको एक वर्ष भइसक्यो । २०७७ वैशाख १० गते एक वर्ष भएको छ । तर एक वर्षको अवधिलाई मूल्यांकन गर्दा कहिले पनि सुख शान्तिले त्यो पार्टी चलेन । पार्टी स्थापना भएकै दिनदेखि विवादमा चल्यो पार्टी ।

जसपा नेपाल गठन भएसँगै पार्टी दुई गुटमा विभाजन भएको थियो । अहलिे आएर प्रचण्ड रोज्ने कि केपी शर्मा अ‍ोली भनि विवादमा सो पार्टी फँसेको छ । फँसेको मात्र होइन, फुटको अन्तिम अवस्थामा पार्टी पुगेको छ

एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गर्नभएको छ भने अर्को गुटको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको छ । दुई अलग अलग विचार र सिद्धान्त बोकेका पार्टी बीच एकीकरण भयो । एकीकृत पार्टीमा दुई दलको केमेस्ट्री नमिल्दा समस्या भएको जानकारहरुको विश्लेषण छ ।
हुन त यी दुई दलबीच एकीकरणका लागि पहिलादेखि नै प्रयास हुँदै आइरहेको थियो । तर पटक पटक छलफल गर्दा ती दलहरुको बीचमा एकीकरण सम्भव भइरहेको थिएन । कहिले नेतृत्वका लागि कुरा मिलेन भन्थ्यो भने कहिले वैचारिक कुरा मिलेन भन्थ्यो । तर पछिल्लो समय समाजवादी पार्टी विभाजन हुन लाग्दा बाध्य भएर दुई पार्टीबीच एकीकरण हुन पुग्यो ।

सोही पार्टीका नेताहरु भन्नुहुन्छ, ‘दुई पार्टीबीच एकता होस् भनि मधेशमा दवाव थियो तर प्राकृतिक रुपमा एकीकरण नभएको कारण एकता भएकै भोलीपल्टबाट समस्या सुरु भएको थियो ।’

एक नम्बर कि दुई नम्बर
बैशाख १० गते मध्यराती पार्टी एकीकरण भएपछि त्यसको भोलीपल्ट निर्वाचनमा आयोगमा दुई पार्टीबीच एकीकरण भयो भनि सो पार्टीका नेताहरुले पत्र बुझाउनु भएको थियो । तर पार्टी दर्ता कसको नेतृत्वमा हुने भनि लफडा सुरु भयो । महन्थ ठाकुरको चाहना थियो एक नम्बर अध्यक्ष भएर पार्टी दर्ता गराउने, उता उपेन्द्र यादवले पनि आफू एक नम्बरको अध्यक्ष बन्ने चाहना राखेका थिए । डा.बाबुराम भट्टराई सुरुदेखि आफू पार्टीको संघीय परिषद्को अध्यक्ष बन्ने भन्नुभएको थियो । त्यही भएर उनेको लागि खासै विवाद थिएन ।

महन्थ ठाकुर र उपेन्द्र यादवमा एक नम्बरको अध्यक्ष को हुने विवाद तीन महिनासम्म चल्यो । बल्ल बल्ल उहाँहरुमा महन्थ ठाकुर एक नम्बरको अध्यक्ष बन्ने र दोस्रो नम्बरको अध्यक्ष उपेन्द्र यादव बन्ने सहमति भएको थियो । वरिष्ठ नेताका लागि पनि लफडा भएको थियो । वरिष्ठ नेतामा को बस्ने नबस्ने लफडा पनि लामै चल्यो । अन्त्यमा राजपा नेपालबाट राजेन्द्र महतो र समाजवादी पार्टीबाट अशोक राइ बस्ने सहमति भयो ।

कार्यकारिणी समितिमा ककसलाई राख्ने भनि नेता छनौट गर्न दुईटै पार्टीमा निकै सकस परेको थियो । बल्ल कुरा मिलेपछि २०७७ जेठ २५ गते पार्टी दर्ताका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्य नामावली निर्वाचन आयोगमा निवेदन दर्ता गरायो ।

टिपेस्ट काण्ड
निर्वाचन आयोगमा दर्ता गराइएको पत्रका डा.बाबुराम भट्टराईको नाम संघीय परिषद्को अध्यक्षबाट टिपेस्ट लगाएर हटाइएको थियो र उनको नाम वरिष्ठ नेतामा राखेको थियो । कार्यकारिणी समिति तयार भएपनि संघीय परिषद्का अध्यक्षमा भट्टराईको नाम नराखेको कारण त्यसमा लामो लफडा चल्यो । भट्टराईलाई परिषद्को अध्यक्षमा राखिए पनि वरियताक्रमको एक नम्बरमा राख्न नमिल्ने अडानमा अध्यक्ष ठाकुर थिए । तर बाबुराम आफू परिषद्कै अध्यक्षमा बस्ने र वरियताक्रमको एक नम्बरमा राख्ने अडानमा हुनुहुन्थ्यो । यसका लागि लामो छलफल र बहस चलेको थियो । अन्त्यमा अध्यक्ष भट्टराईको वरियताक्रम नखुलाएर माथि राख्यो र एक नम्बरमा महन्थ ठाकुर, दुई नम्बरमा उपेन्द्र यादव, तीन नम्बरमा अशोक राइ र चार नम्बरमा राजेन्द्र महतोको नाम राख्ने सहमति गरेको थियो । सो सहमति भएपछि मात्र साउन २१ गते कार्यकारिणी समितिको पहिलो बैठक बसेको थियो ।

जहाँ समायोजन त्यहाँ विवाद
कार्यकारिणी समितिको पहिलो बैठकबाट नै पार्टीको समायोजना तीन महिनाभित्र टुगों लगाउने निर्णय गरेको थियो । समायोजनका लागि तयार पारेको निर्देशिकाका आधारमा समायोजनको काम अगाडी बढाउने निर्णय भएको थियो तर समायोजनको काम अलिकति पनि अगाडि बढेन ।

जहाँ जहाँ समायोजनको काम अगाडि बढ्यो त्यहाँ त्यहाँ विवाद भयो । पछि समायोजनको काम पनि स्थगित गर्यो । केन्द्रीय समितिमा कसको कति जना राख्ने विवाद पनि पार्टीमा सुरु भयो । पूर्व समाजवादी पार्टीले आफ्नो तर्फबाट दिने नामावली तयार गरेपनि पूर्व राजपा नेपालले आफ्नो नामावली तयार गर्न सकिरहेको थिएन । पूर्व राजपा नेपालमा छजना अध्यक्ष भएको कारणले सबैजनाले नाम दिएपछि सँख्या थुप्रै हुन्थ्यो । सबैलाई समावेश गर्दै ८०१ जनाको केन्द्रीय समिति तयार भयो । कात्तिक ४ गते बसेको कार्यकारिणी समितिको बैठकबाट त्यसलाई पारित गर्यो ।

त्यो बैठकबाट मंसिर १५ गतेभित्र समायोजनाको काम सकाउने निर्णय गरेको थियो । त्यही अनुसारको सर्कुलर सबैतिर जारी भयो तर तोकिएको समयमा समायोजन हुनसकेन । कुनै ठाउँमा भएपनि पूर्व राजपा र समाजवादी पार्टीको समानान्तर कमिटीहरु बने ।
पार्टीमा समायोजनाको विवाद चलिरहेकै बेला पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरे । संसद विघटन गरेपछि जसपा नेपाल विवाद आन्दोलनमा गयो । प्रधानमन्त्री अ‍ोलीले प्रतिगामी काम गरेको भन्दै त्यसको विरोधमा आन्दोलन गर्न थालेपछि समायोजनका सबै कार्य ठप्प भयो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि आन्दोलन स्थगित भयो ।

सत्ता मोह
त्यसपछि नेताहरुमा सत्ताको मोह जाग्यो । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा गए भने अर्का अध्यक्ष उपेन्द्र यादव माआवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा जानुभयो । उपेन्द्र यादवले जसरी पनि प्रधानमन्त्री अ‍ोलीलाई सरकारबाट हटाउनुपर्छ भनि पक्षधर हुनुभयो भने महन्थ ठाकुरले जसले आफूहरुको माग पुरा गर्छ त्यसलाई समर्थन गर्ने पक्षमा जानुभयो । माग पुरा गराउनका लागि महन्थ ठाकुरले प्रधानमन्त्री अ‍ोलीसँग वार्ताको निरन्तरता दिन थाल्नुभयो । पार्टीमा सल्लाहै नगरीकन आफ्नै पक्षका मान्छे राखेर एउटा कार्यदल गठन गर्नुभयो ।

त्यो कार्यदलले सरकारीतर्फ कार्यदलसँग छलफल पनि गर्न थाल्यो । तर त्यो वार्ता र कार्यदलको बारेमा अध्यक्ष उपेन्द्र यादवले अनभिज्ञता जनाउँदै रहनुभयो । प्रधानमन्त्री अ‍ोलीसँग अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग सुरुमा एकदिन वार्ताका लागि बालुवाटार गएका उपेन्द्र यादव यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर छलफल गर्न थाल्नुभयो ।

गुट भेला
पार्टीका आन्तरिक विवाद सुरु भएपछि पूर्व समाजवादी पार्टी र राजपा नेपालको छुट्टा छुट्टै छलफलहरु भइरहेका छन् । केन्द्रदेखि स्थानीय तहसम्म दुई गुटमा विभाजित जसपा नेपालमा कुनै नकुनै बहानामा गुटका भेलाहरु हुन थालेका छन् । कहिले विद्यार्थी भेलाको नाममा त कहिले युवाको भेलाको नाममा त कहिले प्रशिक्षणको नाममा त कहिले शुभकामना आदानाप्रदानको नाममा दुवै पक्षका नेताहरु गुटगतका भेलाहरुमा सक्रिय रहे ।

कार्यकारिणी समितिको बैठक बाहेक जसपा नेपालका कुनै पनि भेला, छलफलहरु संयुक्त हुन सकेको छैन । संसदीय दल समायोजनका लागि तयार पारेको विधानमा छलफल गर्न दुई पटक संसदीय दलको बैठक संयुक्त रुपमा बसेको थियो । तर त्यस यता कुनै बैठक बसेको छैन । बरु संसदीय दलको बैठक पनि छुट्टा छुट्टै बसाउन थालेका छन् ।

चैत पाँच गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो । तर माओवादी केन्द्रलाई समर्थन गर्ने कि एमालेलाई भने विवादका कारण बैठक स्थगित भयो । होलीपछि बस्ने भनिएको बैठक हालसम्म बसेको छैन ।

८०१ जनाको केन्द्रीय समिति बनाएको ६ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म त्यसको बैठक बसेको छैन । पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्नका लागि पदाधिकारी बैठक सुरु भएको थियो तर तीन दिनसम्म चल्यो तर कुनै निर्णय नगर्दै स्थगित भएको बैठक हालसम्म बसेको छैन ।

तपाईको प्रतिक्रिया