Khadya Bibhag

बाढी पहिरो: सरकारमाथि प्रश्न उठाउनुभयो प्रचण्ड

काठमाडौँ असार २ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी रवैयाका कारण देशमा बाढी तथा पहिरोका कारण धनजनको क्षति भएको दावी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डल आज एक विज्ञप्ति जारी गरी मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रवयाका कारण धनजनको यति ठूलो क्षति भएको बताउनु भएको छ ।

केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुहुँदै उहाँले यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन पनि दिनुभएको छ ।

राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति उहाँले धन्यवाद ज्ञापन पनि गर्नुभएको छ ।

बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध पनि उहाँले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया