Khadya Bibhag

नेता यादवले गर्नुभयो निशुल्क एम्बुलेन्स सेवाको उद्घाटन

पर्सा असार ५ गते । जनता समाजवादी पार्टीका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले निःशुल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको छ । पर्सागढी नगरपालिका वडा नम्बर ५ ले खरिद गरेको एम्बुलेन्सको शनिवार एक कार्यक्रमका बीच सांसद यादवले उद्घाटन गर्नुभएको हो ।

कोभिड संक्रमितका लागि निःशूल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्नुहुँदै सांसद यादवले ग्रामिण क्षेत्रका नागरिकलाई वीरगञ्जसहित अन्य ठाउँमा उपचारका लागि जान एम्बुलेन्स उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कोभिड १९ को महामारीमा एम्बुलेन्सकै अभावमा धेरैले ज्यान गुमाए । अब यस्तो अवस्था आउन नदिन एम्बुलेन्स सिद्ध हुनेछ ।’

वडा नम्बर ५ ले कोभिड संक्रमित र शंकास्पदका लागि निःशूल्क एम्बुलेन्स सेवा शुरु गरेजस्तै अन्य वडाहरुले पनि सकारात्मक कार्यहरुको अनुकरण गर्नुपर्नेमा सांसद यादवले जोड दिनुभयो । अन्य स्थानीय तहका वडाहरु गाउँपालिकाले देला भन्ने आशमा बसेको बेलामा वडा कार्यालय आफैले पहल गरेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नु सह्रानीय कार्य भएको उहाँले बताउनुभयो ।

वडा कार्यालयले खरिद गरेको एम्बुलेन्सबाट वडाबासी मात्रै नभएर अन्य वडाका बासिन्दाले पनि लाभ लिने वडा नम्बर ५ का वडाअध्यक्ष असलम आलमले बताउनुभयो । ‘वीरगञ्ज बजारमा मात्रै एम्बुलेन्सहरु केन्द्रित हुँदा ग्रामिण क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था थियो । कहिले फोन नलाग्ने, कहिले एम्बुलेन्स खाली नहुने जस्ता समस्याबाट छुटकारा पाउन आफैले पहल गरेर एम्बुलेन्स खरिद गरेका हौँ’, आलमले भन्नुभयो ।

वडाअध्यक्ष आलमको अध्यक्षतामा भएको एम्बुलेन्स उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वडा सदस्य शतियाँ देवी, शिवमती देवी अहिरिन, योगेन्द्र साह, धुर्व रायभर, स्थानीय अगुवा शम्भु पंडित, प्रधानाध्यापक रामअषिश यादव, नेता रमेश यादव, अशोक यादव , फजिल मिंया , विकाउ रायभर, उमर मियाँ, सैमुलाह मियाँ , अमुदिन मिँया लगायत स्थानीय को सहभागिता थियो ।

तपाईको प्रतिक्रिया