दूध ढुवानी गर्ने गाडीका लागि लोगो उपयोग गर्न आग्रह

काठमाडौँ असार ६ गते । नेपाल डेरी एशोसिएशनले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा जारी गरिएको लोगो प्रयोगमा ल्याउन डेरी उद्योगीहरुलाई आग्रह गरेको छ ।

एशोसिएशनले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ पास भएपछि राष्ट्रिय दुग्ध विकास बोर्डले सबै डेरी उद्योगहरुलाई आवश्यक कागजात सहित निबेदन दिन आव्हान गरेको थियो ।

सो आह्वान बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षण पश्चात दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराउने निर्णय भएको थियो र सोही निर्णय अनुसार गत असार २ गते डिडिसी र ४ गते हिमालय डेरीलाई लोगो प्रदान गरि सकेको छ ।

सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह ( लोगो) अंकित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक समेत सुनिश्चित हुने एशोसिएशनले जनाएको छ ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम अनिवार्य कायम हुने गरी राख्नु पर्ने हुन्छ । किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने हुन्छ । तर दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा, बन्द, हड्ताल वा अन्य कुनै आपतकालीन समय बेला बेला अवरोध हुने गरेको थियो भने अब यो लोगो प्रयोग हुन थालेपछि सहज हुने बताइएको छ ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने गरेकोले नै आम सरोकारवालाहरुले बेला बेला यस्तो लोगोको माग गर्ने गरेका थिए । सो कुरालाई मनन गर्दै बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

तपाईको प्रतिक्रिया