असार दोस्रो साता देशभरका किसानलाई बर्र्खे धान रोपाइँको चटारो छ । खेतीको मुख्य याम सुरु भएसँगै देशका विभिन्न भागमा किसानहरू एक बोरा रासायनिक मलका लागि रातभर लाइनमा बस्न बाध्य छन् । नेपालमा वार्षिक करिब ५ देखि ६ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति नहुँदा वर्षेनी अभाव हुने गरेको छ । तर, कञ्चनपुरको महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखामा भने मल गोदाममै थन्किएको छ । शाखाले निर्धारित समयमा सहकारी संस्थाहरूले मल नउठाएपछि मौज्दात मलको पुनः कोटा निर्धारण गरी वितरण प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डीएपी र १५० मेट्रिक टन पोटास मौज्दात छ । शाखा प्रबन्धक हेमराज जोशीका अनुसार सहकारीमार्फत कोटा प्रणालीअन्तर्गत किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ । कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल १० दिनभित्र उठाइसक्नुपर्ने हुन्छ । “सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै मल भए पनि उनीहरूले तोकिएको समयभित्र नउठाउँदा गोदाममै मौज्दात रहन गएको हो,“ प्रबन्धक जोशीले स्पष्ट पार्नुभयो ।
शाखाले गत साउनदेखि हालसम्म युरियाको नौ कोटा र डीएपीको सात कोटा वितरण गरिसकेको छ । बिक्री नभएर मौज्दात रहेको मल पुनः वितरण गर्नका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई नयाँ कोटा निर्धारण गरिदिन पत्राचार गरिएको शाखाले जनाएको छ ।
“समितिबाट कोटा निर्धारणसम्बन्धी निर्णय आएलगत्तै मौज्दात मल पुनः वितरणको प्रक्रिया सुरु गर्छौं,“ प्रबन्धक जोशीले भन्नुभयो, “हाल मौज्दात रहेको यो मलले धान रोपाइँसम्म पुग्ने हाम्रो अनुमान छ । यसका साथै केही मल साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि उपलब्ध रहेकाले यस वर्ष यहाँका किसानलाई धान खेतीका लागि मल अभाव नहुने विश्वास लिएका छौँ ।’’
राष्ट्रिय अभावको स्थितिलाई मध्यनजर गर्दै महेन्द्रनगर शाखाले आगामी दिनको आवश्यकतालाई समेत दृष्टिगत गरी थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल असारभित्रै आइपुग्ने आश्वासन पाएका छौँ,“ जोशीले भन्नुभयो । पछिल्ला वर्षहरूमा खेतीको मुख्य समयमै रासायनिक मलको अभाव झेल्दै आएका यहाँका किसानलाई यस वर्ष शाखामा रहेको मौज्दात र आउँदै गरेको थप मलले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया