मधेशको मोटोमा गम्भीर संकट

नेपालको अन्न भण्डार मानिने मधेश प्रदेशको माटोको स्वास्थ्य पछिल्लो समय गम्भीर संकटमा पर्दै गएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मधेशका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन र माटो परीक्षणको नतिजाले माटोको उत्पादक शक्तिमा डरलाग्दो ह्रास आएको देखाएको हो । प्रयोगशालाका वरिष्ठ माटो विज्ञ नेत्रप्रसाद भट्टको नेतृत्वमा मधेश प्रदेशका धनुषा र सिरहा जिल्लाका १० स्थानीय तहमा गरिएको अध्ययनले माटोमा कडापन बढ्नुका साथै सुक्खापन, न्यून पानी धारण क्षमता र बालीको जराको वृद्धि विकास ज्यादै कमजोर रहेको निष्कर्ष निकालेको छ ।

माटो केवल निर्जीव धुलो नभई एक जीवन्त पारिस्थितिक प्रणाली हो । प्राकृतिक रूपमा एक इन्च मलिलो माटो बन्न पाँच सयदेखि एक हजार वर्षसम्म लाग्ने भए पनि गलत कृषि अभ्यासका कारण यो छोटो समयमै नष्ट भइरहेको छ । एक मुठी स्वस्थ माटोमा पृथ्वीमा रहेका कुल मानिसको संख्याभन्दा बढी सूक्ष्म जीवाणु हुन्छन्, जसले कार्बन सञ्चयदेखि पानीको प्राकृतिक शुद्धीकरणसम्मको महत्वपूर्ण काम गर्छन् । तर, मधेशको माटोमा यी जैविक गुणहरू द्रुत गतिमा नष्ट भइरहेका छन् ।

स्वस्थ माटोका लागि कम्तीमा ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनु अनिवार्य मानिन्छ । सरकारको २० वर्षे कृषि विकास रणनीतिले माटोको प्राङ्गारिक पदार्थलाई सन् २०३५ सम्म ४ प्रतिशत पु¥याउने लक्ष्य लिए पनि हाल नेपालको माटोमा यसको औसत मात्रा २.५९ प्रतिशत मात्र छ । तराई क्षेत्रमा त यो अवस्था झनै कहालीलाग्दो अर्थात् १.९४ प्रतिशतमा सीमित छ । डिजिटल सोयल म्यापको तथ्यांक अनुसार मधेशको ५४.७ प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको छ भने ५२.२ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून छ । यसका साथै, ५५.७ प्रतिशत माटोमा फस्फोरस, ५८.४ प्रतिशतमा पोटासियम, ८२.७ प्रतिशतमा जिंक र ५८ प्रतिशत माटोमा बोरन तत्वको गम्भीर अभाव देखिएको छ ।

वरिष्ठ माटो विज्ञ भट्टका अनुसार माटो बिग्रनुमा मुख्यतया किसानमा सन्तुलित मल प्रयोग र खनजोत विधिसम्बन्धी आधारभूत ज्ञानको कमी हुनु हो । पशुपालन घट्दै जाँदा गोठेमलको अभाव हुनु, उपलब्ध गोबरलाई गुइँठा बनाएर बाल्नु र बालीका अवशेष खेतमै जलाउने प्रचलनले माटोले आवश्यक पोषण पाउन सकेको छैन । युरिया र डीएपी जस्ता नाइट्रोजनयुक्त मलको मात्र भर पर्दा माटोको भौतिक र जैविक सन्तुलन बिग्रिएको छ । यसका अतिरिक्त, सिँचाइको उचित व्यवस्थापन नहुँदा लामो समय माटो सुक्खा रहनु र हिउँदे बालीपछि जमिन खाली छाड्ने प्रवृत्तिले पनि उर्वराशक्ति कमजोर बनाएको छ ।

यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् । धनुषाको बटेश्वर गाउँपालिका–१ का किसान रामउद्गार महतोका अनुसार धेरै गुणा बढी रासायनिक मल प्रयोग गर्दा पनि बाली उत्पादन घट्दै गएको छ । मल र उन्नत बिउ समयमा नपाउने, सिँचाइका लागि बोरिङ भए पनि बिजुली अभावले पानी तान्न नसकिने र जोताइको लागत प्रतिघण्टा तीन हजार रुपैयाँसम्म पुग्दा खेती गर्नै कठिन भएको महतोको गुनासो छ । सरकारी निकाय र कृषि ज्ञान केन्द्रले साना किसानलाई बेवास्ता गरेको र माटो परीक्षणको पहुँच गाउँसम्म नभएको किसानहरूको भनाइ छ ।

यद्यपि, सरकारी निकायहरूले भने सुधारका प्रयास भइरहेको दाबी गरेका छन् । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीपकुमार यादवले माटोको अम्लीयपन सुधार्न ५० प्रतिशत अनुदानमा ढैँचाको बिउ, प्राङ्गारिक मल र कृषि चुन वितरण भइरहेको जानकारी दिनु भएको छ । त्यसैगरी, मधेश प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले माटोमा प्राङ्गारिक पदार्थ बढाउन ८५ प्रतिशत अनुदानमा मल वितरण भइरहेको र सिँचाइ समस्या समाधानका लागि ८५ प्रतिशत सरकारी अनुदानमै स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम व्यापक बनाइएको बताउनुभयो ।

कुनै एक स्रोतबाट मात्र सबै खाद्यतत्व पूरा गर्न खोज्नु आर्थिक र वातावरणीय दुवै दृष्टिकोणले हानिकारक हुने विज्ञहरूको निष्कर्ष छ । ५० प्रतिशत रासायनिक र ५० प्रतिशत प्राङ्गारिक मलको सन्तुलन मिलाउँदा मात्र माटो स्वस्थ हुने विज्ञ भट्ट बताउनु हुन्छ । देशको खाद्य सुरक्षा सुनिश्चित गर्न अब माटो परीक्षण सेवालाई किसानको खेतसम्मै पु¥याउने र जैविक मलको प्रवद्र्धन गर्ने गरी तीनै तहका सरकारले राष्ट्रिय अभियान नै सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया