कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास

काठमाडौँ, ६ भदौः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ । परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबाली, दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बाली उन्मोचन गरेको हो ।

विभिन्न भौगोलिक हावापानी (तराईदेखि उच्च पहाडसम्म) सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषद्ले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

विभिन्न बाली वस्तुका जात/नश्ल तथा उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रममार्फत कृषि क्षेत्रका समस्या निराकरणका उपाय पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई परिषद्ले आवश्यक सहयोग गर्दै आएको जनाइएको छ । कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, आयात प्रतिस्थापन र समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि अनुसन्धानले योगदान पुर्‍याएको परिषद्का प्राविधिक अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया