काठमाडौँ असार १४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय पार्टी बनाउने कुरा जति गरेपनि उहाँहरु आफूलाई प्रदेश २ मा केन्द्रीत गर्नुभएको छ ।
भाषण र दस्तावेजमा उहाँहरुले राष्ट्रिय पार्टी बनाउने यहाँसम्म कि देशकै वैकल्पिक पार्टी बनाउने कुरा गर्नुहुन्छ तर व्यवहारमा प्रदेश २ भन्दा बाहिर जान नसक्नु भएको आरोप पार्टीभित्र लाग्न थालेको छ । जसपामा उपेन्द्र यादवसँग खटपट गरेर महन्थ ठाकुर र राजेन्द्र महतोले छुट्टै गुट चलाइ रहनु भएको छ ।
दुईजनाको निर्णयबाट अहिले जसपा (महन्थ ठाकुर पक्ष) चलिरहेको छ । पछिल्लो समय भएका विभिन्न निर्णयहरु प्रदेश २ केन्द्रीत छन् । अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेको बैठकले दिएको अधिकारलाई टेकेर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको छ । हेरफेर गरिएको २० जना सदस्यमा सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका छन् त्यो पनि प्रदेश २ का मात्र । उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो गुटबाट २० जना राख्दा अध्यक्ष ठाकुर पक्षका १४ जना र राजेन्द्र महतो पक्षका ६ जना रहनु भएको छ र ती सबैजना प्रदेश २ का रहनु भएको छ ।
त्यस्तै, पछिल्लो समय राजकिशोर यादवसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनालाई प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारमा उहाँहरुले पठाउनु भएको थियो । ती सबैजना प्रदेश २ का हुनुहुन्थ्यो । त्यसमा पनि महन्थ ठाकुर र राजेन्द्र महतोले भागबण्डा गर्नुभएको थियो । शरतसिंह भण्डारी र अनिलकुमार झाले पनि भाग पाउनु भएको थियो तर उहाँहरु आफै मन्त्री बन्नुभएको थियो ।
पश्चिम मधेशबाट अमृता अग्रहरी, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद, गोविन्द्र चौधरी, मालामती चौधरीलगायतका नेताहरु हुनुहुन्छ । तर यीमध्ये कसैलाई पनि मन्त्री बनाउन महन्थ ठाकुर र राजेन्द्र महतोले उचित ठान्नु भएन । सांसदबाट मात्र मन्त्री बनाउने कुरा थियो भने अमृता अग्रहरीलाई पनि बनाउन सकिन्थ्यो, जसपाका एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, यो मन्त्रीमण्डलमा गैर सांसदलाई पनि मन्त्रीमा पठाउन सकिन्थ्यो तर सांसदलाई मात्र पठाउने मापदण्ड बनाएपछि अमृता आग्रहरीलाई पठाउँदा पनि हुन्थ्यो तर उहाँहरुले आफ्ना गोजीका मान्छेलाई मात्र पठाउनुभयो ।’
मधेश राजनीतिमा अमृता अग्रहरीको योगदान महन्थ ठाकुर र राजेन्द्र महतोभन्दा कम छैन । अरु नेताको कुरै छोडौं, ती नेताले भने, राजेन्द्र महतो जतिखेर काठमाडौंमा ठेक्कापट्टा गरिरहनु भएको थियो त्योबेला अमृता अग्रहरी मधेशको अधिकारका लागि संघर्ष गरिरहनु भएको थियो, महन्थ ठाकुृर अदालतमा वकालत गरिरहँदा अमृता अग्रहरी गजेन्द्रनारायण सिंहको साथमा मधेशको आन्दोलनमा हुनुहुन्थ्यो तर पार्टीमा उहाँको अवमूल्यन भइरहेको छ ।’
महन्थ ठाकृुर र राजेन्द्र महतोले रेशम चौधरीको रिहायका लागि अवाज उठाउनु भयो तर त्यो सत्ताका स्वार्थका लागि मात्र थियो भनि आरोप लाग्न थालेको छ । रेशम चौधरीको रिहाइको कुरा उठाएर प्रधानमन्त्री केपी शर्मा अोलीसँग बार्गेनिङ्ग गरी नौवटा मन्त्रालय उहाँहरुले पाउनु भएको थियो । मन्त्रालयमा केही दिन राँइदाइँ गर्नुभयो र सर्वोच्च अदालतको निर्णयका कारण घर फर्किनुभयो । अब रेशम चौधरीको रिहाइको मुद्दा पनि हरायो, महन्थ ठाकुर पक्षका एकजना नेताले भन्नुभयो, जेका लागि रेशम चौधरीको कुरा उठाइएको थियो अब त्यो एपिसोड सकिएको छ ।’
उहाँहरुको यस्तै क्रियाकलापका कारण पश्चिमका नेताहरुले राजपा, जसपा छाड्दै जानु भएको छ । महन्थ ठाकुरले तमलोपा गठन गर्दा सबभन्दा ठूला नेताहरु पश्चिमका हुनुहुन्थ्यो । उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमभन्दा बलियो पार्टी पश्चिममा तमलोपा थियो । अहिले महन्थ ठाकुर सबैभन्दा कमजोर हुनुभएको छ । महन्थ ठाकुरको साथमा अब एकजना सर्वेन्द्रनाथ शुक्ला मात्र हुनुहुन्छ भने राजेन्द्र महतोको साथमा अमृता अग्रहरी हुनुहुन्छ । रेशम चौधरी जलमै हुनुहुन्छ । यस्तै अवस्था रह्यो भने शुक्ला र अग्रहरीले पनि साथ छाडेर जानसक्छ भनि पार्टीमा विश्लेषण भइरहेको छ ।
राजपा नेपाल गठन गर्दा त्यसको पदाधिकारीदेखि लिएर अन्य सबै पद बाँडफाँड गर्दा प्रदेश २ मा केन्द्रीत गरेपछि ह्रदयश त्रिपाठीहरु विच्किनु भएको थियो । अन्ततः उहाँहरु पार्टी छाडेर जानुभयो । उहाँहरुको आरोप थियो राजपालाई प्रदेश २ केन्द्रीत गरेको छ । पश्चिम मधेशका नेताहरुको कुनै स्थान भएन । चुनावमा पनि महन्थ ठाकुृर र राजेन्द्र महतोले भाग नलिने भनि देशैभरि बहिष्कार गर्नुभएको थियो तर अन्त्यमा प्रदेश २ मा उहाँहरुले भाग लिनुभएको थियो । अन्य प्रदेशका नेताहरुलाई धोका दिएको ठहर त्रिपाठीहरुले गर्दै पार्टी छाडेर जानुभयो । चुनावमा एमालेको सूर्य चुनाव चिन्हबाट भाग लिनुभएको थियो । संघमा त्रिपाठी र वृजेश गुप्ता जित्नुभयो भने प्रदेशमा पनि दुईटा सीट जिताउनु भएको थियो ।
जसपा महन्थ ठाकुर पक्षका रेशम चौधरी जेलमा छन् भने लक्ष्मण थारु जसपा छाडि सक्नु भएको छ । जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी पनि महन्थ ठाकुरको पक्षमा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, न म महन्थ ठाकुरको गुटमा छु न उपेन्द्र यादवको गुटमा । म जसपामा छु ।’ उहाँले राजपा विग्रेकै थियो गुटबन्दीको कारणले हो, अहिले जसपामा पनि त्यही रोग लागेको आरोप लगाउनुभयो ।
मधेशको राजनीतिमा मात्र होइन, नेपालकै राजनीतिमा पश्चिम मधेशको योगदान ठूलो छ, रगत पसिना यताका मधेशीले पनि बगाएका छन् तर तर त्यसको हिसाब किताब प्रदेश २ मा मात्र हुने गरेको उहाँले आरोप लगाउनुभयो । पश्चिमतिरका मधेशीको योगदानको अवमूल्य हुने गरेको उहाँले दुखेसो पोख्नुभयो ।
विघटित प्रतिनिधिसभाका सदस्य एवं अमृता अग्रहरीले पनि जसपामा गुटबन्दी भएको आरोप लगाउनुभयो । पार्टीमा सामूहिक निर्णय छैन, शीर्ष नेताहरुलाई जेमन लाग्छ त्यही गर्ने गरेको आरोप लगाउनुभयो । गुटबन्दीका कारण मधेशको राजनीतिक विग्रेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया