Khadya Bibhag

धान दिवसः आत्मनिर्भर हुन कति अपुग छ धान ?

काठमाडौँ असार १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि करिब छलाख मेट्रिक टन धान अपुग रहेको जानकारी गराएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेले गत वर्ष ५६ लाख मेट्रिकटन धान उत्पादन भएको थियो आत्मनिर्भर हुनका लागि अझै ६ लाख मेट्रिकटन धान आपूग रहेको जानकारी दिनुभयो ।

१८ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्व २०७८ को उपलक्ष्यमा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आइतवार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता घिमिरेले नेपालमा खाद्यान्नको उपलब्धता हेर्दा ५६ लाख मेट्रिकटनले पनि खान पुग्छ तर बासनादार तथा मसिनो धानको चामल खाने भएकाले केही अपुग भएको दावी गर्नुभयो ।

नेपालीलाई एक करोड १२ लाख मेट्रिकटन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकिएको उहाँले बताउनुभयो । आत्मनिर्भर हुन सक्नुमा मुख्य कारण ऐन कानुन नै हो, उहाँले भन्नुभयो, धानमा आत्मनिर्भर हुने भनि पटक पटक घोषणा गरिए पनि ऐन, नीति, नियमका कारण सम्भव भइरहेको थिएन । भूउपयोग नीति बनिसकेको छ, यो नीति कार्यान्वयनमा आउने वित्तिकै धान उत्पादनमा वृद्धि हुन्छ र चाँडै नै आत्मनिर्भरको घोषणा हुन्छ ।’ भूउपयोग नीति नभएको कारण कुन कृषियोग्य जमिनमा के गर्ने, के नगर्ने जस्ता समस्या भएको कारण सोचेजति उत्पादन नभएको उहाँले दावी गर्नुभयो ।

कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले उपभोक्ताले माग गरेअनुसार धान उत्पादनको प्रयासमा सरकार रहेको बताउनुभयो । बासनादार र मसिनो धान प्रयाप्त रुपमा नेपालमा उत्पादन नहुँदा आयातमा भर परेको बताउँदै उहाँले जनसँख्याको उच्च वृद्धि, खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्नु, उत्पादनशिल कृषि जमिनको गैह्र कृषि क्षेत्रमा उपयोग हुने क्रम बढ्नु, उत्पादनशिल श्रम शक्तिको अभाव, सिंचाई, भण्डारण तथा बजार पूर्वाधार पर्याप्त नहुनु, उच्च उत्पादन लागत आदि कारणले आशातित रुपमा धान उत्पादन बढ्न नसकेको उहाँले बताउनुभयो ।

नयाँ नयाँ जातको धानका लागि प्रयास भइरहेको र त्यसका लागि पहिलो चरणमा २३० वटा स्थनीय तहमा नयाँ जातको बीउ उत्पादनका लागि बीउ विजन आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनभयो । बीउ विजन उन्नत जातको भयो भने १५–२० प्रतिशतले उत्पादनमा वृद्धि हुने उहाँले दावी गर्नुभयो ।

बढी उत्पादन दिने उन्नत जातको प्रयोगलाई बढवा दिनका लागि तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेंचित र वर्णशंकर गरी जम्मा १३४ वटा धानका जातहरु सिफारिस भइ सकेको बताउँदै उहाँले वर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न दुईवटा स्वदेशी वर्णशंकर धानका जातहरु सूचित भई कृषकमाझ लोकप्रिय भइसकेको जानकारी दिनुभयो । पाँच वर्ष भित्रमा धानमा आत्मनिर्भर हुने विभिन्न कार्यक्रमको तयारी भइरहेको बताउँदै उहाँले संघीय सरकारमार्फत प्रदेश र स्थानीय तहहरुको सहकार्यमा धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान एवं उन्नत बीउ प्रयोगकर्तालाई मूल्य अनुदान कार्यक्रम तथा धान बाली प्रवर्द्धन कार्यक्रम संचालन हुन गइरहेको जानकारी दिनुभयो ।

नेपालको जनसँख्या वृद्धिसँगै धान उत्पादनमा पनि वृद्धि भइरहेको बताउँदै उहाँले नेपालमा पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिव ५९ प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो । नेपालमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो) को रुपमा धान खेती हुने गर्दछ ।

नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ भने अन्नबालीले ढाकेको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र अन्नबालीको कूल उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिव २६ प्रतिशत रहेकोमा कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको हिस्सा करिव १५ प्रतिशत रहेको कृषि विभागको तथ्यांकमा उल्लेख छ । विश्वमा करिब १६ करोड २१ लाख हेक्टरमा धान खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ । कूल उत्पादन मध्ये ९० प्रतिशत खपत एशियाली मुलुकमै हुने गरेको तथ्यांकमा उल्लेख छ ।

‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ । विभागका निमित्त महानिर्देशक पाण्डितले कोभिड–१९ लागि स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डभित्र रहेर कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । दुई मिटरको दुुरी कायम गरी, माक्स, सेनिटाइजर प्रयोग गरी नार्कको राष्ट्रिय बाल विज्ञान अनुसन्धान केन्द्र खुमलटारको परिसरमा कार्यक्रमको आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया