Khadya Bibhag

एमालेले गर्यो यी मुख्य पाँच निर्णय

काठमाडौँ असार २० गते । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको १३ओैं बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले निम्नबमोजिम संगठनात्मक कार्ययोजना पारित गर्ने निर्णय गरेको छ ।

१.पार्टी सदस्यताको नवीकरण २०७८ असार मसान्तसम्म गरिसकेर साउन ५ भित्र अभिलेख केन्द्रीय अभिलेखमा पठाइसक्नुपर्नेछ। यसबीचमा निधन भएका, निष्क्रिय बनेका, कारबाहीमा परेका र पार्टी परित्याग गरेकाहरूलाई हटाएर नवीकरण गर्नुपर्नेछ ।

२. साउन २५–२७ सम्म पार्टीको विधान महाधिवेशन काठमाडौंमा गर्ने,त्यसनिम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन र रामबहादुर थापा बादलको संयोजकत्मा व्यवस्थापन समिति गठन गर्ने जिम्मेवारी तोकिएको छ।

३. २०७८ भदौ ५ गते वडा र १५ गते पालिकास्तरीय पार्टी अधिवेशन आयोजना गर्ने तय गरिएको छ।

४.केन्द्रीय तहका ३२ वटा विभागहरूमा रहने सदस्यहरूको नाम अविलम्ब प्रस्तावित गरी स्थायी कमिटीको आगामी बैठकले विभागहरू गठनको अन्तिम निर्णय गर्नेछ ।
२०७९ वैशाख १० भित्र पार्टीको दशौं महाधिवेशन गरिसक्नुपर्ने बाध्यतालाई मध्यनजर गरी संगठनात्मक व्यवस्थापन गर्नुपर्ने छ ।

५. सबै तहका निर्वाचनको तयारीमा व्यवस्थित रूपले जुट्न केन्द्रीय कमिटीले निर्देशित गरेको छ।

बैठकको समापनमा बोल्नुहुँदै अध्यक्ष कमरेडले सर्वोच्च अदालतले फैसला गर्नुअघि रिट निवेदनको पक्षमा उभिएका नेताहरूले हस्ताक्षर फिर्ता गर्नुपर्ने अन्यथा पार्टीमा कुनै स्थान नदिने स्पष्ट गर्नुभयो ।
बैठकले विभिन्न ७ वटा समसामयिक प्रस्तावहरू पारित गरेको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार एवं प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया