काठमाडौँ असार २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गर्नुभएको छ ।
सप्तरीको बिरौलस्थित खाँडो नदी किनारमा सो प्रतिष्ठानलाई भर्चुअलको माध्यमबाट उहाँले शिलान्यास गर्नुभयो । प्रतिष्ठानको लागि दुई कित्ताका गरी ६१ विघा ६ कठ्ठा क्षेत्रफल जग्गा दर्ता भएको छ । यसबाट १० जिल्लाका गरी चार लाख १३ हजार ३८८ जना सेवाग्राहीहरु लाभान्वित हुने दावी गरिएको छ ।
प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब ९८ करोड रकम खर्च हुने अनुमान गरिएको छ । यस्तै, प्रतिष्ठानको डीपीआर तयार पार्न मात्र १५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लामो समयको प्रयास र प्रतिक्षापछि प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ भएको बताउँदै प्रतिष्ठान निर्माणले प्रदेश २ का सप्तरीसहित सम्पूर्ण जिल्ला, छिमेकी जिल्ला तथा भारतीय नागरिकहरु स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, हामीले भवनको शिलान्यास गरेका छौ, हाम्रो सपना छिटै नै व्यवहारिक रुपमा देखिन्छ । शिलान्यास भएपछि सपना पूरा भएको छ ।’
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको निर्माणले देखिने गरी, लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाउनुभयो । सप्तरीमा बनेको कुनै पनि संरचना भन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलिया र आकर्षक हुने उहाँले भन्नुभयो, बाहिरी पक्षमा आकर्षण मात्र होइन, आन्तरिक हिसाबले सेवा पनि बलियो र आकर्षण हुनेछ ।
प्रतिष्ठानले रोजगारीको अवसरहरु सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउँदै उहाँले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताउनुभयो ।
सप्तरी पछाडि परेको ठाउँको रुपमा होइन, विकासका हिसाबले अगाडि बढेको बताउनुभयो । रुपनी सडक, औद्योगिक क्षेत्र सञ्चालन, छिन्नमस्ता पर्यटकीय गन्तब्य क्षेत्र विकास लगायतमा काम अगााडि बढाइएको प्रम ओलीले सिंचाइ, रेल सञ्चालन, व्यवस्थापन पनि कार्य भइरहेको जानकारी दिनुभयो ।
हिमाल पहाड र तराई सबै क्षेत्रको विकास र उन्नतीको लागि काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, कुनै भ्रममा परिरहने आवश्यक छैन ।
भ्रममा परेर दिशा बिहीन भएर देशको विकास उन्नतीमा आफूलाई पछाडि पार्नुहुन्न भन्दै प्रम ओली भन्नुभयो, हाम्रो देशमा भौगोलिक, प्राकृति, सामाजिक, जैविक विविधता छन् । यो विविधताहरु भनेको सम्पन्नता, समृद्धि, सम्पदा हो । राजनीतक रुपमा फरक–फरक विचार हुन सक्छ तर, एक अर्काप्रति सहिष्णुता, सहअस्तित्वको काम र साझा समस्या समाधानमा एक भएर अगाडि बढ्नु पर्छ ।सबै मिलेर गरिबी, पछेटोपन हटाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गर्नु भएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै समयमा निर्माण सम्पन्न गराउन नगरवासीले हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका निर्देशक तथा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले शिलान्यासको भूमि पुजन गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया