Khadya Bibhag

जसपामा उपेन्द्र यादवलाई शक्तिशाली बनाउने व्यक्ति को हुन् ?

काठमाडौैँ असार २६–जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा विभाजन भइसकेको छ । त्यसको परिणाम आउन मात्र बाँकी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । त्यसपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि सो पार्टीमाथि आधिकारिता दावी गर्नुभयो । दुवै पक्षले दावी गरेपछि आयोगले असार २२ गते सहमतिका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

छलफलमा दुवै पक्षले अलग हुने पत्रमा हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर पछि अब जसपा कसको पक्षमा जान्छ भने निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई गएको छ । निर्वाचन आयोगमा अहिलेसम्म गएको प्रमाण अनुसार पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई प्राप्त हुने दावीहरु भइरहेको छ । उपेन्द्र यादवले ३१ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनु भएको छ । उता महन्थ ठाकुरले ३८ जना सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनु भएको छ ।

महन्थ ठाकुरले हेरफेर गर्नुभएको कार्यकारिणी समितिबाट ३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा दिनुभएको छ । ५१ सदस्यीय पुरानो कार्यकारिणी समितिबाट २० जनालाई हटाएर आफ्नो तर्फबाट २० जना राखेर कायम गर्नुभएको कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको दावी महन्थ ठाकुरले गर्नुभएको छ । जुन कुरालाई विवादीत मानिएको छ । महन्थ ठाकुरले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई दिएको अधिकारको आधारमा कार्यकारिणी समिति हेरफेर गरेको दावीसहितको पत्र निर्वाचन आयोगमा दिनुभएको छ भने उपेन्द्र यादवले त्यो कार्यलाई फर्जि भन्दै आउनु भएको छ ।

जे होस् जसपामा संसदीय दलमा महन्थ ठाकुर बहुमतमा छन् जो अहिले विघटित अवस्थामा छन् । त्यस्तै, उपेन्द्र यादव जसपामा कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा हुनुहुन्छ । दुवैको बहुमत उहाँले निर्वाचन आयोगमा प्रस्तुत गर्नुभएको छ ।
जसपामा कमजोर आवस्थामा रहेका उपेन्द्र यादव कसरी यसरी शक्तिशाली हुनुभयो भनि चर्चा भइरहेको छ । कार्यकारिणीमा महन्थ ठाकुरको एकजना सदस्य बढी थियो भने संसदमा दुवै पक्ष बराबार थिए तर कसरी उहाँ बहुमतमा पुग्नु भयो र जसपामाथि काब्जा गर्ने अवस्था बनाउनुभयो । त्यसको मुख्य स्रोत हो महेन्द्र राय यादव ।

पूर्व राजपा नेपालमा महेन्द्र राय यादवले साथ दिएपछि उपेन्द्र यादव शक्तिशाली हुनुभएको हो । तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलका सदस्यमध्येका एक हुनुहुन्छ महेन्द्र राय यादव । तर राजपा गुटमा महेन्द्र राय यादवमाथि जुन व्यवहारहरु भयो त्यही व्यवहारका कारण उहाँले उपेन्द्र यादवको साथमा जानुभयो । महेन्द्र राय यादव निकट एक नेताले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, उपेन्द्र यादवलाई सहयोग गर्न बाध्य पार्ने महन्थ ठाकुरहरु नै हुनुहुन्छ ।’ महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झाले महेन्द्र राय यादवलाई पार्टीभित्र कमजोर बनाउँनमा लाग्नु भएको बताउँदै उहाँले भन्नुभयो, हुँदा हुँदै मर्यादाक्रममा अनिल झाभन्दा तल महेन्द्रराय यादवलाई राख्नुभयो, उहाँहरु कुनै निर्णय गर्दा सोधखोज समेत गर्नुहुन्थेन । पार्टीमा के भइरहेको छ भने कुराको जानकारी पनि उहाँलाई दिँदैन्थ्यो अनि बाध्य भएर उहाँले उपेन्द्र यादवलाई साथ दिन थाल्नुभयो ।’

राजपा नेपालको प्रमुख ६ जनामध्ये एकजना महेन्द्र यादवले उपेन्द्र यादवलाई साथ दिने भएपछि उहाँ त्यतिकै बलियो हुनुभयो । जसपा नेपाल बनाउनेमा सबभन्दा बढी जोड महेन्द्र राय यादवको नै थियो । महन्थ ठाकुर र राजेन्द्र महतोको चाहना नभएपनि उहाँले उपेन्द्र यादवसँग निरन्तर संवाद गरिरहनु भएको थियो । एकताका लागि उपेन्द्र यादवलाई दवाव दिँदै आइरहनु भएको थियो । त्यसको कारण थियो, राजपाबाट बाहिरिनु । महन्थ, राजेन्द्र महतोहरुको व्यवहारले गर्दा महेन्द्र राय यादव आफूलाई त्यहाँ सुरक्षित ठान्नु भएको थिाएन अनि बाध्य भएर उहाँ समाजवादी पार्टी र राजपाबीच एकीकरण गराउनमा जोड दिन थाल्नुभयो । त्यसका लागि उहाँले राजपा र समाजवादी दुवै तर्फका नेतालाई दवाव दिन थाल्नुभएको थियो । अन्ततः दुवै पार्टीबीच एकीकरण भयो ।

एकीकरण भएकै दिनदेखि महेन्द्र राय यादव उपेन्द्र यादवको पक्षमा जानुभयो । महन्थ ठाकुर पक्षको बैठक तथा भेलामा पनि जान छाड्नुभयो । उपेन्द्र यादवलाई बलियो बनाउनका लागि उहाँ दिन रात मेहनत गर्न थाल्नुभयो । पूर्व राजपाका नेताहरुसँग छलफल गरेर उपेन्द्र यादवको पक्षमा ल्याउन थाल्नुभयो । अर्थात पूर्व राजपाको तर्फबाट महेन्द्र राय यादव महन्थ ठाकुरहरुको विरुद्धमा क्रियाकलाप गर्न थालेपछि उपेन्द्र यादव शक्तिशाली हुनुभएको छ ।

तपाईको प्रतिक्रिया