देउवालाई समर्थन गर्न जसपामा हानाथाप किन ?

काठमाडौँ साउन ३ गते । नेपाली राजनीतिमा यस्ता घटनाहरु नौलो होइन । आजको राजनीतिक घटनाक्रम पनि इतिहासमा दर्ज हुने खालेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भनि तीन वजेसम्म अन्योल थियो ।

देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मतमा समर्थन सांसदको खोजी भइरहेको थियो । काँग्रेसका नेताहरुको दौडधुप एकातिर थियो भने माधवकुमार नेपाल पक्षका नेताहरुको पनि चहलपहल निकै थियो । यता जसपा उपेन्द्र यादव पक्ष जसपाकै महन्थ ठाकुर पक्षका सांसद तान्नमा व्यस्त थियो । महन्थ ठाकुरका सांसदहरु उपेन्द्र यादव पक्षको पार्टी कार्यालय बालकुमारी गएर हस्ताक्षर गरिरहेका थिए, त्यही बीचमा राजकिशोर यादवले शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो । उता प्रमोद साह रेणु गुरुङहरु उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले तयार पारेको माइन्युटमा हस्ताक्षर गरिरहनु भएको थियो ।

उपेन्द्र यादव पक्षकै सांसदहरु कसैले २० सांसद पुग्यो, कसैले १८ पुग्यो, कसैले हामी बहुमतमा छौं भनि सम्मको घोषणा फेसबुकमार्फत गरिरहनु भएको थियो । त्यहाँ महन्थ ठाकुरको पराजय र उपेन्द्र यादवको विजय भइरहेको थियो ।

महन्थ ठाकुरमा छटपटाहट भयो, उपेन्द्र यादव विजय हुनुभयो आफू पराजय भएको भान भएपछि महन्थ ठाकुरले पनि चाल चल्नुभयो । त्यही बेला प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई एउटा पत्र पठाउनु हुन्छ, पत्र पाउने वित्तिकै विश्वासको मतमा समर्थन गर्ने निर्णय गर्नुभयो । तर यो खेलमा मधेशको सम्झना गनुृभएन ।

उपेन्द्र यादव र महन्थ ठाकुर दुवैजनालाई उधारोमा देउवालाई समर्थन गर्न हानाथापा गर्नुभयो । मानौ आज समर्थन नगरेको भए रेल छुट्यो र गन्तव्यमा पुग्न सकिदैन्थ्यो । पहिला कसले समर्थन गर्ने भनि हतार हतार गर्नुभयो । त्यो हानाथापमा मधेशलाई कसैले सम्झनु भएन । एक सदन रोकेर समर्थन गर्नुभन्दा पहिले एउटा छलफल गरी कमसे कम सम्झौता गरेको भए मधेशी जनतालाई सन्तोष हुन्थ्यो । तर उहाँहरुले आआफ्नो व्यक्तिगत स्वार्थका लागि देउवालाई समर्थन गर्नुभयो ।

सबभन्दा कमाल त महन्थ ठाकुरले गर्नुभयो । आज विहानसम्म एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको साथ नछाड्ने अभिव्यक्ति दिइ रहनु भएको थियो उहाँ । हिजो मात्रै बालकोट गएर अ‍ोलीसँग भेटेर राजनीति सहयकार्यलाई निरन्तरता दिने सहमति गरेको थियो । महन्थ ठाकुर पक्षको संसदीय दलको बैठकले पनि विपक्षमा बस्ने र ओलीलाई समर्थन जारी राख्ने निर्णय गरेको थियो ।

तर अचानक के भयो तीन घण्टामा सबै समिकरण उलट पुलत भयो । महन्थ ठाकुरका लागि के छुट्दै थियो, देउवालाई समर्थन नगरेको भए महन्थ ठाकुरको के जान्थ्यो । उपेन्द्र यादव त पहिलादेखि गठबन्धनमा भएको कारणले उहाँ समर्थन गर्नु समान्य कुरा भयो तर महन्थ ठाकुर त्यो गठबन्धनको विरोधमा हुनुहुन्थ्यो । अ‍ोलीसँग संसद विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतबाट पुर्नस्र्थापना भएको संसदमा त आउनु नै भयो त्यसमा पनि देउवालाई समर्थन पनि जनाउनुभयो । यो जतिको लज्जास्पद कुरा अरु के हुनसक्छ ?

त्यत्रो वार्ता, सहमति छलफल गरेर सम्झौतापत्रमा हस्ताक्षर गरेर सरकारमा सहभागी हुँदा पुरा नहुने माग देउवालाई त्यतिकै समर्थन गर्नुले त्यो कसरी पुरा हुन्छ यो कसले विश्वास गर्छ । या कि मधेशको मागको रट नै लगाउनु हुँदैन । सिधै सत्ताको राजनीति गर्नुपर्छ तर त्यस्तो नगरेर मधेशको माग पुरा गराउन रोइलो गर्छन् तर सत्ताको कुरा आउँदा समर्थन गरेर हानाथाप गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया