काठमाडौं, ९ गते । ललितपुरको जावलाखेल मैदानमा १४ औँ गोदावरी पुष्प मेला हुने भएको छ। कृषि विभाग र फ्लोरिकल्चर एशोसिसन (फ्यान) को संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो । मेला कार्तिक १२ देखि १५ गतेसम्म ललितपुरस्थित जावलाखेल फूटबल मैदानमा हुनेछ।
नजिँकिएको तिहार तथा छठलाई लक्षित गरी हुने मेलामा विभिन्न प्रजातिका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीवितरण गरिने फ्यानका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए ।
फ्यानका अनुसार ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ हुने प्रदर्शनीमा व्यावसायिक ४४ र सूचनामूलक चार गरी ४८ वटा स्टल रहने छन् ।
मेलामा १६ लाख खर्च हुने अनुमान गरिएको छ। मेला सञ्चालनका लागि बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार लाख सहयोग गर्ने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
त्यस्तै, ८ लाख रूपैयाँ स्टल भाडाबाट आउने छ। मेला हेर्न जान विद्यार्थीलाई ५० रूपैयाँ र अन्यलाई एकसय रूपैयाँ तोकिएको छ।
मेलामा अनावश्यक भीडलाई नियन्त्रण गर्न उक्त शूल्क तोकिएको आयोजकले बताएको छ।
पुष्प व्यवसायीहरू प्रतिस्पर्धाका लागि आवश्यक पर्ने फूल विरूवा कोभिडले तयारी गर्न नसकेका कारण गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी भने नहुने मेलाका संयोजक सिताराम पन्तले जानकारी दिनुभयो ।
उनका अनुसार मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद तथा प्रमाणपत्र दिइने छ।
मेलामा ३५ हजार बढीको अवलोकनबाट ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
मेलाले पुष्प व्यवसाय प्रवद्र्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु(याउनेछ आयोजकले विश्वास लिएको छ।
कोरानाका कारण वर्षेनी फूलको कारोबार घट्दै गएको फ्यानका अध्यक्ष कार्कीले बताउनुभयो ।
कोरोना कहर हुनु अघिको सामान्य अवस्थामा आव ०७५÷०७६ मा २ अर्ब ४२ करोड भन्दा बढीको वार्षिक कारोबार भएको थियो। ०७६र०७७ मा कोभिड–१९ का कारण २ अर्ब १५ करोड रूपैयाँको कारोबारमा सीमित भयो ।
०७७÷७८ मा वर्षभरी महामारीका कारण निषेधाज्ञाले गर्दा व्यवसायिक कारोबारमा झनै कमि आई १ अर्ब ६३ करोडको कारोबार भएको छ ।
फुलमा नेपाल आत्मनिर्भर भइसकेको छैन। तिहारका लागि वर्षेनी सयपत्री फूल भारतबाट आयात गर्नु परेको छ। यस वर्ष बमौसमी वर्षाका कारण फूलमा १ अर्ब बढीको क्षति भएकाले फूल आयात बढ्ने देखिन्छ ।
नेपालमा व्यावसायिक फूलखेती सुरु भएको २५ वर्ष पुगिसकेको छ। हाल विभिन्न जिल्लामा फूलको व्यवसायिक खेती हुँदै आएको छ।


तपाईको प्रतिक्रिया