पदमुक्त हुनुभएका मन्त्री रामनरेश रायले भन्नुभयो, राजिनामा त मुख्यमन्त्री राउतले दिनुपथ्र्यो

काठमाडौँ कात्तिक ३० गते । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई पदमुक्तका लागि सिफारिस गर्नुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री राय यादवलाई गर्नुभएको हो ।

तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हाल्नु भएको छ । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गर्नुभएको हो ।
उहाँले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिनु भएको थियो । तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिनु भएको थियो ।

गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उहाँले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गर्नुभएको थियो ।

निलम्बित मन्त्री रामनरेश राय यादवले मुख्यमन्त्री राउतले आफूलाई मन्त्री पदबाट मुक्त गर्नु बिडम्बना युक्त कार्य गर्नुभएको बताउनुभयो । उहाँले आफू यो विषयमा पार्टीभित्र कुरा गर्ने बताउनुभयो । मलाई हटाउनु नै थियो भने पार्टीले निर्णय गर्नुपथ्र्यो, पार्टीले निर्देशन दिएको भए म एक मिनेट पनि सरकारमा बस्दैन्थे तर मुख्यमन्त्री राउतले आफ्नो स्वार्थका लागि मलाई पदमुक्त गर्नुभएको हो, उहाँले भन्नुभयो, मलाई के कारणले सरकारबाट हटायो त्यो कुराको पुष्टि मुख्यमन्त्रीजीले गर्नुपर्छ, पार्टीलाई उहाँले जवाफ दिनुपर्छ ।’

बरु उहाँ (मुख्यमन्त्री) माथि अख्तियारले छानविन गरी दोषी ठहर गरेको छ, कागजातहरु कब्जामा लिएर अख्तियार छानविन गर्दा प्रारिम्भक अनुसन्धानबाट नै मुख्यमन्त्री दोषी देखिनु भएको छ, बरु उहाँले नै राजिनामा दिनुपथ्र्यो, उहाँले राजिनामा दिएर नयाँ सरकार गठन गरी सबै नयाँ अनुहार ल्याउनुपथ्र्यो तर त्यस्तो नगरी आफ्नो बचाउका लागि उहाँले आफूलाई हटाएको मन्त्री यादवको दावी छ ।

प्रदेश २ सरकारका प्रवक्ता शैलेन्द्र साहले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी गराउनुपर्ने भएकाले मन्त्री यादवलाई पटक पटक राजिनामा दिएर सहयोग गर्न सरकारले आग्रह गरेको थियो तर उहाँले राजिनामा दिन अस्वीकार गरेपछि बाध्य भएर पदमुक्त गरिएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो सामेल हुँदैछन् । सम्भवतः उहाँको सपथग्रहण भोली हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया