प्रदेश नामाकरणका लागि लोसपा र जसपाले थाल्यो वार्ता

काठमाडौँ पुस ६ गते । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि मंगलवार एउटा वार्ता समिति बनाएको छ ।

प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । सो समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहनु भएको छ । यो वार्ता समितिले प्रदेश २ का अन्य दलहरुसँग प्रदेश २ को नाम मधेश प्रदेश तथा राजधानी जनकपुरका लागि छलफल गर्ने प्रदेश २ लोसपा संसदीय दलका नेता एवं केन्द्रीय कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनलले जानकारी दिनुभयो ।


प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले पहिलादेखि नै गृहकार्य र वार्ता संवाद गर्दै आएको थियो । पुस ८ गते प्रदेश सभामा प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुने भएकाले लोसपाले वार्ता समिति बनाएर नै छलफल गर्ने भएको छ ।
पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राजधानीको विषयमा छलफल गर्नका प्रदेशसभामा प्रस्ताव लग्न गइरहेको छ । जसपाले पनि मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने प्रस्ताव तयार पारेको छ । आजै जसपाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेको थियो ।

माओवादी केन्द्रले मधेश प्रदेश र जनकपुर राजधानी हुने कुरामा सहमत भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी मधेश प्रदेशप्रति सकारात्मक देखिए पनि पार्टीमा कुनै निर्णय गरेको छैन । हालसम्म जसपा, लोसपा र माओवादी केन्द्र मधेश प्रदेश र जनकपुर राजधानीका लागि तयार भएका छन् ।

तपाईको प्रतिक्रिया