नागरिकता विहिनलाई मतदाता हुनबाट वञ्चित गर्नु मानवता विरोधी कार्य–उपेन्द्र यादव

काठमाडौँ पुस १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार रहेको बताउनु भएको छ ।

नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित गर्नु अपराध हो भन्नुहुँदै उहाँले नेपाली समाज सदियौंदेखि संरचनात्मक विभेदमा आधारित भएको हुँदा ती संरचनात्मक विभेदहरूलाई अन्त्य गरी समानता र समावेशी लोकतन्त्रमा आधारित समाजमा रुपान्तर गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल इञ्जिनियरिङ्ग संगठन, सोसलिस्ट इञ्जिनियरिङ्ग एशोसिएसन नेपाल र नेपाल इञ्जिनियरिङ्ग समाजद्वारा आयोजित उम्मेदवार घोषणा सभामा उहाँले लाखौं जन्मसिद्ध नागरिकका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको गुनासो गर्नुभयो ।

यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट बञ्चित गर्नु तथा निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य अन्तर्राष्ट्रिय कानुनको विपरीत र मानवता विरोधी कार्य भएको उहाँले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया