मल नपाउँदा किसान चिन्तित

सर्लाही पुस ११ गते । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गर्नुभयोे ।

मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ । यहाँ मलखादका बिक्रेताले मलखाद चर्को मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ । सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रु ८१५ र डिएपी मल प्रतिबोरा रु दुई हजार २६५ मा सहकारी संस्थामार्फत बिक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा बिक्रीवितरण गरिरहेको किसानको आरोप छ । सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्को मूल्यमा बिक्रीवितरण भइरहेको किसानले बताएका छन् ।

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रु एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रु तीन हजारदेखि रु तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफुहरुले चर्को मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरुको आरोप छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ । जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ ।

तपाईको प्रतिक्रिया