प्रदेश २ को नाम मधेश राखेर इतिहास रचने काम भएको छ,–महन्थ ठाकुर

काठमाडौँ माघ १० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को नाम मधेश प्रदेश राखेर इतिहास रचेको बताउनुभयो । राष्ट्रिय सभाको चुनावको तयारीका लागि मधेश प्रदेशको राजधानी जनकपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, मधेश प्रदेश नाम राखेर इतिहास रचने काम भएको छ, त्यसका लागि सबै सरोकारबालालाई धन्यवाद दिन चाहन्छु ।

मधेश प्रदेश नामाकारणले आफू निकै खुशी रहेको बताउँदै उहाँले मधेश आठवटा जिल्लामा सीमित नभएको समेत बताउनुभयो । बाँकी ठाउँलाई पनि मधेशको पहिचान दिन संघर्ष जारी रहेको बताउँदै उहाँले स्वायत्त मधेश प्रदेश बनाउने सरकारसँग भएको आफूहरुको सम्झौता अझै पूरा नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘ मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो ।’ उहाँले मधेश आठ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्न नहुने बताउँदै पूर्वदेखि पश्चिमसम्म मधेसी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेस हो तर एक राज्यको रूपमा आठ वटा जिल्लाले मान्यता प्राप्त गरेको बताउनुभयो ।

उहाँले राष्ट्रका लागि भाषा र संस्कृति मात्र पर्याप्त नभएर आफ्नो राज्य पनि जरूरी रहेको बताउनुभयो । मधेश राज्य प्राप्त भएपनि स्वायत्तताको संघर्ष जारी नै रहेको उहाँले बताउनुभयो । अहिले पनि सबै अधिकार केन्द्रसँगै रहेकाले स्वायत्तता प्राप्तिका लागि संघर्ष आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया