वीरगञ्ज माघ २६ गते । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचन अवरोध गर्ने चेतावनी दिनु भएको छ ।
बुधबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुँदै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’ अध्यक्ष राउतले भन्नुभयो, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भन्नुभयो, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकी एकै दिनमा यो समस्या समाधान हुने होइन ।’
यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आएपनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्पर्ता देखाएको भए हुन्थ्यो भन्दै उहाँले किसान आन्दोलनको ज्ञापनपत्र नलिने तर विदेशीको स्वार्थको पछाडि नेताहरु दौडिरहेको टिप्पणी गर्नुभयो ।
अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने जानकारी पनि अध्यक्ष राउतले दिनुभभो । मौसमको खराबीका कारण हाइवे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताउनुभयो ।
किसान आन्दोलनको विरोध गर्नेहरुप्रति लक्षित गर्दै अध्यक्ष राउतले भन्नुभयो, ‘किसान आन्दोलनमा किसानहरुले प्रहरी–प्रशासनको दमनको सामना गरिरहँदा यहीँकै केही पार्टीहरु जो प्रदेश सरकारमा छन् संघीय सरकारमा छन् उनीहरुले आन्दोलनको विरोधमा प्रदर्शन गरे । प्रेस विज्ञप्ति जारी नै गरेर आन्दोलनमा दमन गर्न प्रोत्साहन गरे ।’
कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्न समेत नचाहेको जिकिर अध्यक्ष राउतले गर्नुभयो । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गर्नुभयो ।
जनमत पार्टीले किसान आन्दोलन मात्रै होइन जनताको जनजिविकासँग सम्बन्धित मागहरुमा समेत आन्दोलन गर्दै आएको र गरिरहने बताउनुभयो ।
‘हाम्रो पार्टीको झण्डामा अष्ट दल छ । जनमत पार्टी सम्यक क्रान्ति अनुसार अगाडि बढ्छ । सम्यक क्रान्तिमा आठवटा आयाम छ, उहाँले भन्नुभयो, ‘राजनीतिक, आर्थिक, समाजिक, शैक्षिक, वातावरणीय, सांस्कृतिकलगायतको क्रान्ति हुनेछ ।’


तपाईको प्रतिक्रिया