Khadya Bibhag

आयोगको सिफारिस कार्यान्वयन गराउन त्रिपाठीको माग

काठमाडौँ माघ २६ गते । जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीलगायतका नेताहरुले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनु भएको छ ।

अध्यक्ष त्रिपाठीसहितका नेताहरु हिजो निर्वाचन आयोग पुगेर स्थानीय तहको नामांकन र सीमांकन बारे भएको निर्णय कार्यान्वयन गराउन माग गर्नुभएको हो । निर्वाचन आयोग पुग्नु भएका नवलपरासीका प्रतिनिधिसभा सांसद वृजेश गुप्ताले स्थानीय तहको नामाकंन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालिन मधेश प्रदेशमा मात्र भएको थियो, त्यसलाई प्रदेश १, लुम्बनी प्रदेश र सुदुर पश्चिममा समेत कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको चुनावअघि नै आयोगको सिफारिश अनुसार प्रदेश १, लुम्बनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि कार्यान्वयन हुनुपर्ने भनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । त्यसको जवाफमा प्रमुख आयुक्त थपलियाले सरकारले पत्र पठाउने बित्तिकै आफूहरुले त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।

यसैबीच, जनता प्रगतिशिल पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने तयारी भइरहेको छ । सम्भवत विहिवार आयोगमा निवेदन दर्ता गराउने सो पार्टीका नेता राधेरमण पाण्डले बताउनुभयो । निवेदन दर्ता गराउनका लागि कागजातहरु तयार गर्ने काम भइरहेको छ, तयारी पुरा भयो भने विहिवार आयोग जाने उहाँले बताउनुभयो ।

हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । हाललाई जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया