काठमाडौँ फागुन १२ गते । गठबन्धन भत्केर नयाँ समिकरणको सरकार बन्ने सम्भावनाको चलखेल सुरु भएको बेला जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानु भएको हो ।
अध्यक्ष भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर सरकारले पारित गराउन लागेको एमसीसीप्रति आफ्नो पूर्ण समर्थन रहेको प्रष्ट पार्नुभएको थियो । स्रोतका अनुसार उहाँले आफ्नो पार्टीका दुई तिहाई भन्दा बढी सांसद एमसीसीको पक्षमा रहेको र भोली बस्ने संसद बैठकमा त्यो प्रतिवद्धता पनि आउने कुरा प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको थियो ।
वर्तमान सरकारलाई जसपाको पूर्ण समर्थन रहने छ र सरकारले चाल्ने अगामी कदममा पनि साथ दिने प्रतिवद्धता अध्यक्ष भट्टराईले जनाएको बालुवाटार स्रोतले जनाएको छ । एमसीसीको विषय लिएर जसपाभित्र विवाद रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा हुनुहुन्छ । एमसीसी लगायतको विषयमा छलफल गर्नका लागि अध्यक्ष यादवले भोली कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ ।
तर त्यसअघि नै एमसीसीलाई समर्थन गर्दै त्यसको जानकारी गराउन अध्यक्ष भट्टराई बालुवाटार पुग्नु भएको हो ।
गठबन्धन विभाजन भएपछि बन्ने अर्को गठबन्धनमा अध्यक्ष भट्टराई जाने लगभग निश्चित छ । काँग्रेस, एमाले, लोसपाबीच बन्ने गठबन्धनमा जसपाबाट अध्यक्ष भट्टराई पनि सहभागी हुने स्रोतले जनाएको छ ।


तपाईको प्रतिक्रिया