लाराले किन खेल्न चाहदैनन यी विज्ञापन ?

बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पु¥याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् । उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।

‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिनुहुँदैन । मैले सेनेटरी नेप्किनको पनि प्रचारप्रसार गर्न अस्वीकार गरिसकेको छु’, उनले भनेकी छन् । लाराले पछिल्लोपटक फिल्म ‘बेल बटम’ मा आफूलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा प्रस्तुत गरेकी थिइन् । यो फिल्ममा अक्षय कुमार र हुमा कुरैशीले पनि प्रमुख भूमिकामा अभिनय गरेका थिए ।

लाराले सन् २००० मा ‘मिस युनिभर्स’ को उपाधि जितेकी थिइन् । सन् २००३ मा फिल्म ‘अन्दाज’ बाट बलिउडमा ‘डेब्यु’ गरेकी लाराले ‘मस्ती’, ‘नो एन्ट्री’, ‘भागम भाग’, ‘झूम बराबर झूम’, ‘पार्टनर’, ‘चलो दिल्ली’ र ‘डन २’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया