एमालेमा एक महिना पनि टिक्नुभएन राजेशमान, जसपामा प्रवेश गर्र्दै

काठमाडौँ चैत ३ गते । एक महिना अगाडि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गर्नुभएको राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने हुनुभएको छ ।

एमाले छाडेर जसपामा आउने लगभग निश्चित भइसकेको जसपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताउनुभयो । उहाँले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसपाका तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि जसपाले सिंहलाई पार्टीमा ल्याउने प्रयास थालेको थियो । मेयर सरावगी एमालेमा प्रवेश गरिसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सिंहसँग छलफल गरेर पार्टीमा फर्काउने जिम्मेवारी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवलाई दिनु भएको थियो ।

एमालेले मेयरको उम्मेदवार बनाउने भनेपछि सिंह एमाले प्रवेश गरेका थिए । तर, एमालेले सरावगीलाई उम्मेदवार बनाउने भनेपछि सिंह असन्तुष्ट हुनुभयो । त्यही असन्तुष्टिको फाइदा उठाउँदै जसपाले राजेमानलाई पार्टीमा ल्याउन सफल भएको छ ।

मुख्यमन्त्री राउत र सांसद यादवले सिंहसँग छलफल गरेपछि उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् । अगामी चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जसपाको तर्फबाट उम्मेदवारी दिने पनि लगभग पक्का भएको छ । सांसद यादवले भन्नुभयो, ‘जसपाबाट महानगरपालिका मेयरको उम्मेदवार राजेशमान सिंह नै हुन्छन् ।’ सिंह २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर पदमा तत्कालीन राजपाबाट चुनाव लडेका थिए । उहाँले १२ हजार १६५ मत ल्याएर तेस्रो हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया