मधेशमा को को हुन् महामुर्ख ? महामुर्ख सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ चैत ३ गते । मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा हरेक वर्ष धुमधामसँग मनाइने होरी (होली) महोत्सव आज यहाँ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

होरीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ । होरीका अवसरमा आयोजना हुने सो सम्मेलन देशैभर प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भूमिका खेलेको मिथिला नाट्य कला परिषद् र मिनापले संयुक्त रुपमा सम्मेलन आयोजक गर्दै आएका छन् । मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्याङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । यो मिथिला क्षेत्रमा चर्चित छन् ।

विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रुपमा लिइएको होरी पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाले पनिसँगै मिलेर होरी मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होरी गीत गाउन सुरु गरिन्छ । अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेको जनाइएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

फागु गीत प्रतियोगितामा धनुषा,महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुनेछन् । उहाँले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताउनुभयो ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ  । यस अन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला लगाउने प्रचलन छ ।

सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा आयोजना गरिने सम्मेलनले निकै उचाइ पाएको छ । मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र हुनुभएको थियो ।

सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्व महासचिव एवं पत्रकार चन्द्रकिशोर झा भन्नुभयो, “ २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना पछि सम्मेलन आयोजनाको अवधारण बनेको हो । समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका निर्वाह गर्नेछ ।”

जनकपुरमा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । सो वर्ष महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा शीतल झा, २०६३ मा हरिबहादुर विसी, २०६४मा ओमकुमार झा, २०६५ मा डा राजेन्द्र बिमल, २०६६ मा रामचन्द्र झा, २०६७ मा सिकेलाल, २०६८ मा रामभरोष कापड़ि भ्रमर, २०६९मा रामसरोज यादव, २०७० मा डा विजयकुमार सिंह, २०७१ मा शत्रुधन महतो र २०७२ मा पवन सिङ्घानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । २०७४ मा वृषेशचन्द्रलाल , २०७५ मा लालकिशोर साह, २०७६ मा लालबाबु राउत र २०७७ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
यसवर्ष महामुर्ख को बन्ने भनेर अहिले जनकपुरधाममा चर्चाको विषय बनेको छ ।

परिषद्का पूर्व अध्यक्ष मदन ठाकुर भन्नुहुन्छ, “महामूर्खको छनोटका लागि तयारी सुरु भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । यसैले निर्णय गर्दै आएको छ । ”

जनकपुरधामको स्थानीय पत्रिका एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाउँमा चर्चा चलाएको हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको लोकप्रिय कार्यक्रम हो । मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढ्ने गर्छ । समान्यतया धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ रु तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपाली म महामूर्ख बनु ।”

विसं २०६५ का महामूर्खकको उपाधि प्राप्त गर्नुभएका मैथिलिक वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद बिमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि रहेको छ, प्रेमले मानिस हरेकथोक अर्थात विषपनि पिउने गरेको इतिहास रहेको छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”

तपाईको प्रतिक्रिया