वीरगञ्ज महानगरपालिकाका लागि लोसपा र एमालेबीच तालमेल

पर्सा बैशाख ८ गते । वीरगन्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन भएको छ । महानगरपालिकाको मेयरमा एमालेको तर्फबाट विजयकुमार सरावगी जानु भएका छन् भने उपमेयरमा लोसपाका जिल्ला अध्यक्ष पुरूषोत्तम झा उपमेयरमा जाने भएको छ ।

विजय सरावगी जनता समाजवादी पार्टीबाट मेयरमा चुनाव जितेका थिए । उहाँ हालै मात्र एमालेमा प्रवेश गरेका छन् ।

लोसपा र एमालेबीच तालमेलका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा एमालेका सचिव रघुवीर महासेठले कतिपय मुद्दामा लोसपा र एमालेबीच विचार मिल्ने भएकाले सहमति गरिएको बताउनुभयो । विगतमा लोसपा र एमालेबीच सहकार्य भएको र त्यसको अर्को श्रृङुखलामा वीरगञ्जमा मिलेर चुनाव लड्ने सहमति भएको बताउनुभयो ।

लोसपा नेता लक्ष्मणलाल कर्णले लोसपा र एमालेको सहकार्यबाट आउने दिनमा विरगञ्जनमा पुनः सरावगीलाई नै जनताले मत दिने बताउनुभयो । मेयरमा एमालेलाई सघाउने र उपमेयरमा एमालेले लोसपालाई सघाउने उहाँले बताउनुभयो ।

तालमेलको सहमतिपत्रमा एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारू  र लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गर्नुभएको छ ।

गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सरावगीले १९ हजार ३९३ मत पाउनु भएको थियो । दोस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाउनु भएको थियो ।

त्यस्तै, तत्कालीन राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले आठ हजार ७०१ मत पाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया