रामायण सर्किटः आज विशेष रेलबाट भारतीय पर्यटक जनकपुर आउँदै

काठमाडौँ असार ९ गते । रामायण सर्किटको शुभारम्भ भएसँगै भारतीय रेलबाट आज पर्यटकहरु नेपाल आउन लागेका छन् । ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल मंगलबार साँझ दिल्लीबाट हिडि सकेको छ सो रेल आज जनकपुर आइपुग्ने छ ।

भारतका रेल मन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएपछि भारतबाट नेपालका लागि ‘भारत गौरव पर्यटक रेल’ हिडेको हो ।

यस पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुनेछ । रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पनि पहिलो पटक जोड्दैछ ।

यस रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ । युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन् । यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ ।

यस रेलमा १४ वटा डिब्बा हुनेछन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ ।

यो रेल आज दिउँसो १ः४५ बजे जनकपुर आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिनुभयो । भारतीय धार्मिक पर्यटकहरुलाई जनकपुरधाम रेल्वे स्टेशनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुघन महतो, जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका उतराधिकारी महन्त रामरोसन दास वैष्णव लगायतले स्वागत गर्ने तयारी रहेको छ ।

ेरेलबाट आउने पर्यटकहरु आफ्नै खर्चमा जनकपुरधामस्थित जानकी मन्दिर, गंगा आरती, संकटमोचन लगायत धार्मिक स्थलहरुको दर्शन गरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन पश्चात सीतामढी हुँदै भारत फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया