देशमा आरजु, मधेशमा मञ्जु

नेपाली काँग्रेसमा मात्र होइन, देशकै राजनीतिमा अहिले दुई ‘फस्र्टलेडी’ को चर्चा छ । उहाँ हुनुहुन्छ, आरजु देउवा र मञ्जु खाँण । आरजु देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी हुनुहुन्छ भने मञ्जु खाँण गृहमन्त्री बालकृष्ण खाँणका पत्नी हुनुहुन्छ । अहिलेको राजनीतिमा दुवै महिलाको खुब चल्छ । नेपाली काँग्रेस पार्टीमा मात्र होइन, सरकारमा पनि आरजुको कुरा चल्छ । साना ठूला हरेक निर्णयमा आरजुका सहमति चाहिन्छ नै । उहाँको सल्लाह बेगर कुनै काम अगाडि बढ्दैन । काँग्रेसका एक नेताले भन्नुभयो, ‘प्रधानमन्त्री देउवाको भन्दा आरजु कहाँ बढी भिड हुन्छ, ‘भेटघाटदेखि लिएर हरेक कुरामा आरजुले नै डिल गर्नुहुन्छ ।’

राजनीतिक नियुक्तिदेखि लिएर सरुवा, बढुवा र अन्य व्यवस्थापनमा आरजुको भूमिका हुन्छ । अहिले पार्टीमा होस् वा सरकारमा आरजुको जो निकट हुन्छ उसको काम बन्छ । उहाँले अन्तराष्ट्रिय सम्बन्धदेखि लिएर अन्य उच्चस्तरीय सम्बन्धहरुलाई पार्टी र सरकारमा व्यवस्थापन गरिरहनु भएको हुन्छ । र प्रधानमन्त्री देउवालाई यी सब कुराको कुनै चिन्ता छैन । को मान्छे आए, को गए, को सँग भेट्ने कोसँग न भेट्ने कुराको तनाव प्रधानमन्त्री देउवालाई हुँदैन । आधा भन्दा बढी काम आरजु राणा देउवा नै भ्याइ सक्नु भएको हुन्छ । त्यसैले कतिपयले भन्ने गरेका छन्, ‘यो सरकार शेरबहादुर देउवाले होइन, आरजु देउवाले चलाउनु भएको छ ।’


त्यस्तै, अवस्था रहेको छ, गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँणको । मञ्जु खाँण बालकृष्ण खाँणका कान्छी श्रीमती हुनुहुन्छ । उहाँ सिरहा बन्दीपुरका हुनुहुन्छ । उहाँ पनि गृहमन्त्री खाँणको आधाभन्दा बढी काम सम्हाल्दै आउनु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मञ्जुको प्रभाव मधेशमा बढी देखिएको छ । मञ्जुको चुनावी कार्यक्षेत्र मधेश प्रदेशको सिरहा हो । सिरहा जिल्लाको कर्जन्हाबाट पार्टीको महाधिवेशन प्रतिनिधि हुनुको साथै त्यहीबाट क्रियाशिल सदस्यता पनि लिनु भएको छ ।

अर्थात उहाँले मधेशलाई आफ्नो कर्म क्षेत्र बनाउनु भएको छ । गृहमन्त्री खाँणको श्रीमती भएको कारणले अहिले उहाँको प्रभाव मधेशमा मात्र होइन, देशैभरि चलिरहेको छ तर खासमा उहाँले मधेशमा आफ्नो प्रभाव देखाउन चाहनु भएको छ किनभने उहाँले त्यहीबाट राजनीति गर्ने सोच बनाउनु भएको छ ।

स्थानीय चुनावमा टिकट वितरणदेखि लिएर हरेक राजनीतिक गतिविधिमा उहाँले हस्तक्षेप गर्दै आउनु भएको छ । अहिलेको संघ तथा प्रदेशको चुनावमा मधेशमा कसलाई टिकट दिने, कसलाई नदिनेसमममा मञ्जुको प्रभाव रहेको बुझिएको छ । काँग्रेसका नेता विमलेन्द्र निधि देउवा गुट छाडेपछि मधेशमा मञ्जुको चहलपहल बढेको हो । एकातिर महेन्द्र यादवले मधेशको मोर्चा सम्हाल्नु भएको छ भने अर्कोतिर मञ्जुले आफ्नो प्रभाव देखाई रहनु भएको छ । महेन्द्र यादव पनि बालकृष्ण खाँण र मञ्जु खाँणकै आडमा मधेशमा शक्तिशाली बन्न खोज्नु भएको छ । मधेशमा महेन्द्रभन्दा बढी मञ्जुको चल्छ । अहिले पनि मधेशी नेता तथा कार्यकर्ता महेन्द्रभन्दा बढी मञ्जुतिर हुन्छ ।

मञ्जु शक्तिशाली हुनुमा गृहमन्त्री खाँणको मात्र होइन, आरजुको पनि सहयोग रहेको छ । बालकृष्ण अहिले गृहमन्त्री हुनुहुन्छ । त्यसले उहाँ पावरफुल हुने कुरा भइ नै हाल्यो तर त्यसअघि पनि मञ्जु पार्टीमा पावरफुल नै हुनुहुन्थ्यो । पार्टीमा मञ्जुलाई आरजुको ठूलो सहयोग रहेको छ । आरजुको सहयोग पाएर पार्टीमा बालकृष्णलाई शक्तिशाली बनाउने मञ्जु नै रहेको धेरैको बुझाई रहेको छ । पछिल्लो समय बालकृष्णलाई गृहमन्त्रीबाट हटाउने चर्चा चलेको थियो । तर ती सबै कुराको ‘सेटअप’ मञ्जुले गर्नुभएको काँग्रेसभित्र चर्चा रहेको छ । मञ्जुले आरजुसँग मिलेर यी सबै कुराको व्यवस्थापन गर्नुभएको धेरैको बुझाई रहेको छ ।

काँग्रेसको भातृ संगठन महिला संघमा उमा रेग्मी अध्यक्ष हुँदा मञ्जु खाँण महासचिव हुनुहुन्थ्यो । तर संघमा उमाभन्दा मञ्जुको चल्थ्यो । कारण थियो, आरजु । आरजुले सुरुदेखि मञ्जुलाई सहयोग गर्नुभएको कारण काँग्रेसभित्र मञ्जु पावरफुल नै हुनुहुन्थ्यो । अहिले त झन गृहमन्त्रीको श्रीमती भएपछि अन्य शक्ति केन्द्र उहाँको वरिपरी घुमिरहेको छ । उहाँले अहिले रुपन्देही, जनकपुर र सिरहामा बढी सक्रिय हुनुभएको छ ।
प्रधानमन्त्री देउवाले धना खतिवडालाई महिला संघको अध्यक्ष बनाउन खोज्नु भएको थियो । धना खतिवडा काँग्रेस नेता कृष्ण सिटौला पक्षका नेतृ हुनुहुन्छ । अन्य चारवटा भातृ संगठनमा प्रधानमन्त्री देउवाले आफ्ना पक्षका मान्छे राखेपछि यो महिला संघमा सिटौला पक्षलाई राख्ने सोच बनाउनु भएको थियो । सिटौलालाई प्रधानमन्त्री देउवाले वचन पनि दिइसक्नु भएको थियो ।

तर मञ्जु खाँणले हस्तक्षेप गरेपछि उषा मिश्र महिला संघको अध्यक्ष हुनुभयो । उषा मिश्र सिरहाकै हुनुहुन्छ । उहाँलाई देउवा निकट मानिन्छ । तर उहाँ प्रदीप गिरीको अनुयायी हुनुहुन्छ । स्रोतका अनुसार उषा मिश्रको पढाई लेखाईमा प्रदीप गिरीको ठूलो सहयोग रहेको छ ।

त्यही उषा मिश्रलाई मञ्जुले महिला संघको अध्यक्ष बनाउनमा सहयोग गरेको पार्टीभित्र चर्चा छ । उषा मिश्र यसअघि महिला संघको सचिव हुनुहुन्थ्यो । तर महिला संघमा एकजना मधेशीले स्थान पाउँछ भनि धेरैले कल्पना गरेको थिएन तर मञ्जुले त्यो गरेर देखाई दिनुभयो ।

यसपटक उहाँ सिरहाबाट चुनाव लड्ने तयारीमा रहेको चर्चा पनि चलेको छ । सिरहाको जुनसुकै क्षेत्रबाट चुनाव लड्नु हुन्छ, एक नेताले भन्नुभयो, ‘उहाँको चुनावी क्षेत्र सिरहा–४ हो तर उहाँ जहाँबाट चुनाव लड्ने इच्छा देखाउनु हुन्छ त्यहीबाट टिकट पाउनु हुन्छ ।’

तपाईको प्रतिक्रिया