लोसपामा परिवारवाद हावी भएपछि अरगरियाले पार्टी छाड्दै, अरु ककसले छाड्दै ?

काठमाडौं भदौं ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने हुनुभएको छ । असोज ८ गते जनकपुरमा एक कार्यक्रमको आयोजना गरी उहाँले एमालेमा प्रवेश गर्न लाग्नु भएको हो । लोसपा छाडेर एमालेमा प्रवेश गर्न लागेको कुरा नेता अरगरियाले पुष्टि गरिसक्नु भएको छ ।

नेता अरगरियाबाहेक लोसपाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गर्न लाग्नु भएको छ । त्यसका लागि अरगरियासहितका ती नेताहरु अहिले छलफलमा जुट्नु भएको छ । लोसपा एउटा पार्टी होइन, त्यो क्लव जस्तो भएको छ, लोसपा छाड्न लाग्नु भएको एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘लोसपामा कुनै गतिविधि छैन, पार्टी भएपछि त्यसका नियम सिद्धान्त, विचार र आफ्ना कार्यक्रम हुन्छ, पार्टी चलायमान नै छैन, लोसपा व्यक्तिगत हिसाबमा चलिरहेको छ । त्यहाँका नेताको आफ्नो व्यक्तित्व छन् र चुनाव जितिरहेका छन् लोसपाको कुनै संगठन छैन व्यक्ति–व्यक्तिको भरमा पार्टी चलिरहेको छ, ।’

पार्टीमा कार्यकारिणी समिति छ । त्यसको पनि बैठक बस्दैन । पार्टीका पाँचजना नेता अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र कार्यकारिणी सदस्यहरु अनिलकुमार झा र सर्वेन्द्रनाथ सुक्लाले जे गर्नुहुन्छ त्यही हुन्छ । पार्टीका अरु नेताहरुको कुनै महत्व नै नरहेको ती नेताले बताउनुभयो ।

लोसपामा परिवारवाद हावी भएको गुनासो ती नेताहरुको रहेको छ । अगामी चुनावमा लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गर्नुभएको छ । यसरी आआआफ्ना नातागोताको भर्ती केन्द्र बनाउने हो भने अरुको त्यहाँ कामै छैन भन्दै आफूहरु त्यहाँबाट निस्कन लागेको एक नेताले सहारा टाइम्सलाई बताउनुभयो ।

काँग्रेसबाट राजनीति सुरु गनुृभएका अरगरिया मधेश आन्दोलनपछि उहाँ मधेश राजनीतिमा प्रवेश गर्नुभएको थियो । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर मधेशको राजनीतिमा सक्रिय हुनुभएका अरगरिया विजयकुमार गच्छदारका साथमा सो पार्टी छाडेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्नुभएको थियो । पछि नेता गच्छदारले काँग्रेससँग एकीकरण गरेपछि उहाँ पुन उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गनुृभएको थियो ।

२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जित्नु भएका अरगरिया जसपा विभाजन हुँदा उहाँ महन्थ ठाकुरलाई साथ दिनुभएको थियो । महन्थ ठाकुर नेतृत्वको लोसपामा उहाँ कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक पनि हुनुहुन्छ । उहाँ ओली नेतृत्वको तत्कालिन सरकारमा १८ दिनका लागि मन्त्री पनि बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया