जनता समाजवादी पार्टी नेपाल एकीकृत हुँदा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नसोधी एउटा बैठक समेत बसाउनु हुँदैन्थ्यो । जब जसपामा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच आन्तरिक द्धन्द सुरु भयो अनि उपेन्द्र र प्रचण्डबीच दोस्ती झन गहिरो भयो ।
पार्टीकै कतिपय नेताहरु भन्नुहुन्छ, ‘अवस्था यस्तो भयो कि उपेन्द्र यादवले पार्टीको निर्णय समेत माओवादीका अध्यक्ष प्रचण्डसँग सोधेर गर्न थाल्नुभयो ।’ उपेन्द्र यादव र बाबुराम भट्टराई बीच दुरी बढाउनमा मुख्य भूमिका प्रचण्डकै छ । एकातिर उपेन्द्र यादवसँग दोस्ती बढाएर बाबुरामलाई टाढा बनाउनमा सफल हुनु भयो भने अर्कोतिर त्यहीं बाबुराम भट्टराईसँग उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटक पटक भेटेर उपेन्द्र यादवसँग अलग हुने जाल ओछ्याउनु भयो ।
प्रचण्ड र बाबुराम बीचको भेट बारेमा उपेन्द्र यादव अनभिज्ञ हुनु हुन्थेन । उहाँलाई बैठकको बारेमा सबै कुरा प्रचण्डबाट जानकारी हुन्थ्यो । तर मनगढन्ते । बाबुराम भट्टराईसँग जे कुरा त्यहाँ हुँदैन्थ्यो त्यो कुरा प्रचण्डले उपेन्द्र यादवलाई सुनाउनु हुन्थ्यो । ‘उपेन्द्र यादवसँग बस्न मन छैन, उहाँ पार्टी हैकमवादी शैलीबाट चलाउन खोज्नु भएको छ, त्यहाँबाट म निस्कन चाहन्छु त्यसको वतावरण बनाई दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरि दिनुस् भन्नु भएको छ’ भनि अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई सुनाउनु हुन्थ्यो ।
कहिले आफूलाई एकताको प्रस्ताव गरेको कुरा पनि अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई सुनाउनु हुन्थ्यो भने कहिले समाजवादी केन्द्र खोल्ने कुरा लिएर आफू कहाँ आउनु भएको कुरा सुनाउनु हुन्थ्यो तर कुरा त्यहाँ फरक हुन्थ्यो, जसपाका एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘उपेन्द्रजीलाई पार्टी चलाउने ढंग नै छैन, त्यही भएर उहाँको पार्टी पटक पटक विभाजन भएको हो, उहाँले आफूबाहेक कसैलाई नेता स्विकार गर्नु हुन्न तपाईलाई थाहै छ नि उपेन्द्रजी माओवादीमा हुँदा कस्तो तामासा गर्नुहुन्थ्यो त्यही भएर उहाँसँग काम गर्न गाह्रो छ, भनि प्रचण्डले बाबुरामलाई पाठ पढाउनु हुन्थ्यो ।’
समाजवादी केन्द्रको अवधारणा जसपाका अध्यक्ष उपेन्द्र यादव नै ल्याउनु भएको हो तर अध्यक्ष प्रचण्डले त्यही अवधारणामा बाबुराम भट्टराईलाई लपेट्नु भयो । समाजवादी केन्द्रकै नाममा बाबुराम भट्टराईसँग भेट्ने र जसपाबाट कसरी निकाल्ने कुरा बाबुरामको कानमा उहाँ फुक्नु हुन्थ्यो । ‘तपाईसँग एक वर्षभन्दा बढी बस्न सक्नु हुन्न भनि लागेको थियो, एक वर्षभन्दा केही बढी समय बस्नु भयो त्यत्रो समय बाबुरामजीलाई तपाई कसरी सहनुभयो’ उपेन्द्र यादवलाई प्रचण्डले भन्नु भएको कुरा हो यो ।
जसपा कार्यकारिणीका ती सदस्यले भन्नुभयो, ‘प्रचण्डले उपेन्द्र यादवको पनि कान फुक्नु हुन्थ्यो, उता बाबुराम भट्टराईको पनि कान फुक्नु हुन्थ्यो आखिर दुवैजनासँग साँठगाँठको उद्देश्य जसपा विभाजन गर्नु नै थियो भन्ने कुरा आज पुष्टि भएको छ ।’ जसपाबाट अलग हुने वित्तिकै नेपाल समाजवादी पार्टी गठन गर्नु भएका बाबुराम भट्टराईलाई अध्यक्ष प्रचण्डले आफ्नो चुनाव चिन्हबाट चुनाव लडाउँदै हुनुहुन्छ । त्यति मात्र होइन, बाबुरामसहित सो पार्टीका अन्य शीर्ष नेता समेतलाई प्रचण्डले चुनाव जिताउनु विश्वास दिलाउनु भएको छ ।
अन्ततः एकदिन माओवादी केन्द्र र बाबुराम भटट्राई नेतृत्वको नेपाल समाजवादी पार्टी एक हुने नै छन् । त्यसका तयारी चलिरहेका छ । दुई पार्टीबीच चुनावअघि नभए चुनावलगतै एकता हुने सम्भावना रहेको छ । बडो चलाखीपूर्वक अध्यक्ष प्रचण्डले उपेन्द्र यादव र बाबुराम भट्टराईबीच खेलेर जसपालाई विभाजन गर्नुभयो । जुन कुराका सुईकोसम्म समेत अध्यक्ष उपेन्द्र यादवले पाउनु भएको थिएन । उपेन्द्र यादवलाई एउटा भ्रम थियो कि प्रचण्ड आफ्नो मान्छे हो तर प्रचण्डले बाबुरामलाई आफ्नो साथमा लिएपछि सो भ्रमबाट उपेन्द्र यादव मुक्त हुनु भएको छ ।


तपाईको प्रतिक्रिया