जसपा बाबुरामले होइन, उपेन्द्रले फुटाउनु भयो

–दीपक महतो

-केन्द्रीय सदस्य, नेपाल समाजवादी पार्टी

जनता समाजवादी पार्टीबाट अलग भएर डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्नु भएको छ । समुन्नत समाजवाद स्थापनाका लागि सो पार्टी गठन गरिएको भनि उहाँहरुले भनि रहनु भएको छ । पार्टी गठन गर्ने वित्तिकै मंसिर ४ गते चुनावका लागि सो पार्टी तयारीमा जुटेको छ । माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय पनि सो पार्टीले गरिसकेको छ । प्रस्तुत छ, जसपा विभाजनको कारण, नयाँ गठन गरिएको पार्टीका अवस्था, अगामी चुनावको तयारीलगायतका विषयमा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दीपक महतोसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

जसपाबाट अलग भएर तपाईहरु नयाँ पार्टी पनि गठन गरिसक्नु भयो, किन यस्तो हतार ?

–जसपामा बस्न नसकेपछि त नयाँ पार्टी खोल्नै पर्यो । राजनीति गर्ने मान्छे विना संगठन बस्न सक्दैनन् । राजनीति गर्नका लागि एउटा दल (संगठन) चाहिन्छ नै । त्यही भएर हामीले नयाँ पार्टी गठन गरेका हौं । तपाई हतार भन्नु भयो । यो हतार होइन, अलि छिटो गरेका अवश्य हौं । चुनावको मिति घोषणा भइसकेको छ । जसपा छाडेका नेता तथा कार्यकर्ताहरु चुनावमा भाग लिनुहुन्छ । त्यसका लागि दल चाहिन्छ नै । त्यही भएर हामी छिटो छिटो पार्टी बनाएका छौं । चुनावकै मुखमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा जे क्रियाकलाप गर्नुभयो त्यसले त्यहाँ बस्ने वतावरण भएन । यसरी भन्दा हुन्छ कि उपेन्द्र यादवले हामी त्यहाँ नबसि दिए हुन्थ्यो जस्तो व्यवहार गर्न थाल्नुभयो । त्यही भएर चाहदा नचाहदै हामी त्यहाँबाट निस्कियौं ।

उपेन्द्र यादवबाट कस्तो व्यवहार तपाईहरु पाउनु भयो ?

–जसपालाई उपेन्द्र यादवले निरकुंश शैलीबाट चलाउन खोज्नु भयो । पार्टीमा सामूहिक नेतृत्व छदै थिएन । झन सामूहिक निर्णयको त कल्पना समेत गर्न सकिदैन । कलस्टर अनुसार पार्टीमा सीट बाँडफाँट गरौं भन्दा उपेन्द्र यादवले आफूलाई असुरक्षित महसुस गर्नु भयो । र, त्यो गर्न चाहनु भएन । हामीले भन्यौं, पार्टी अन्तरिम विधानमा जे व्यवस्था गरिएको छ त्यसलाई त्यसलाई कार्यान्वयनमा ल्याऔं । पार्टीको विधानअनुसार दुईजना अध्यक्ष हुनुपर्छ । जसपाबाट महन्थ ठाकुर गइसकेपछि सो पद खाली थियो । त्यहाँ कसैलाई मनोनित गरौं हामीले भनेका थियौं । हामीले भन्यौं, विधानमा भएको व्यवस्था अनुसार दुईजना अध्यक्ष राखौं या विधान नै संशोधन गरौं । तर उहाँले केही गर्न मान्नु भएन । उहाँ एकल ढंगबाट पार्टी चलाउन थाल्नु भयो । सरकारमा मन्त्री पठाउँदा शीर्ष नेताबीच सहमति गरेर पठाउने कुरा भएको थियो तर अध्यक्ष उपेन्द्र यादवले कसैसँग कुनै सल्लाह नगरि मन्त्री पठाउनु भयो । स्थानीय तहको चुनावमा टिकट वितरणमा पनि उहाँले त्यस्तै गर्नु भयो । बैठक बसाउन भन्दा उहाँले मान्नु भएन । यस्ता थुप्रै कारणहरु छन् जसले गर्दा हामीलाई निस्कन बाध्य बनायो ।

बाबुराम भट्टराई आफै अध्यक्ष बन्न खोज्नु भएको रे, मुख्य विवाद त्यसैमा हो भनिन्छ नि ?

–होइन, यो एकदमै गलत कुरा हो । बाबुराम भट्टराईले कहिले पनि आफ्नो लागि अध्यक्ष माग्नु भएन । उपेन्द्र यादवले पार्टी र पार्टी बाहिर एउटा भ्रम सृजना गर्नु भएको छ कि बाबुराम अध्यक्ष बन्न चाहनु भएको छ, त्यो पुरा गलत कुरा हो । उपेन्द्र यादवले एकजना जनजातिलाई अध्यक्ष बनाउन प्रस्ताव गर्नुभएको थियो । त्यसमा अशोक राईको नाम पनि उहाँले भन्नु भएको थियो । बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष छदै हुनुहुुन्थ्यो,  एकजना जनजातिबाट अध्यक्ष राख्न प्रस्ताव गर्नु भएको थियो । तर उपेन्द्र यादवले मान्नु भएन । उहाँले जनजातिबाट खतरा देख्नुभयो । त्यही भएर बाबुरामको प्रस्तावलाई अस्विकार गर्नुभयो । र पार्टीबाट निस्कासन गर्नुभयो ।

बाबुराम भट्टराईले जडीबुटीमा आफ्नो गुटको भेला गर्नु भयो र पार्टी विभाजन त्यहींबाट भयो भनिन्छ नि ?

–त्यो गुट भेला थिएन । पार्टीमा आन्तरिक विवाद चलिरहेको थियो । पार्टीका बैठकहरु सबै ठप्प थिए । पार्टीका कुनै पनि गतिविधिहरु अगाडी बढी रहेको थिएन । पार्टीभित्र अन्योल थियो, त्यही अन्योलको बारेमा पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउनका लागि बाबुराम भटट्राई राष्ट्रिय भेला गर्नु भयो । पार्टीमा के भइरहेको छ त्यसको यथार्थ जानकारी भेलामा दिनुभयो । हामी पार्टी विभाजनको पक्षमा छैनौं, नेतृत्व पक्षसँग पार्टीमा सहमतिका लागि छलफल गर्ने निर्णय पनि भेलाले गर्यो । अनि त्यो बैठक पार्टी विभाजनका लागि थियो भनि कसरी भन्न सकिन्छ ? बैठकमा बाबुराम भट्टराई पेस गर्नु भएको दस्तावेज पनि हेर्नुस् त्यसमा कही पनि पार्टी विभाजनको कुरा गर्नु भएको छैन । बरु पार्टीलाई कसरी एकीकृत गरी झन बलियो बनाउने धारणा बाबुराम भट्टराईको थियो । पार्टी विभाजनका लागि त्यो बैठक बसेको भन्नु गलत हो ।

त्यसरी भेला गर्दा पार्टीको झण्डा, लेटर प्याड, ब्यानर युज गर्न पाइन्छ त, पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्यो भेलाको बारेमा हामीलाई केही जानकारी छैन भन्नुभयो, यस्तो किन ?

–पहिलो कुरा उपेन्द्र यादवले जडीबुटी भेलाको बारेमा केही जानकारी छैन भन्नु नै गलत हो । उहाँलाई सबै कुराको जानकारी छ । बाबुराम भट्टराईले जडीबुटी भेलाको मिति तय गरेपछि उपेन्द्र यादवले पनि वीरगञ्जमा सोही दिन केन्द्रीय समितिको बैठक बोलाउनु भयो । बरु त्यो बैठकको बारेमा हामीलाई जानकारी गराइएन । बाबुराम भट्टराईलगायत धेरै नेता तथा कार्यकर्तालाई कुनै जानकारी थिएन । बाबुराम भट्टराईले राष्ट्रिय भेला नाम दिनु भएको थियो तर उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाउनु भएको थियो । सबै केन्द्रीय सदस्यलाई जानकारी दिनु पथ्र्यो कि पर्दैन्थ्यो ? तर कसैलाई जानकारी दिनु भएन । त्यही बैठकबाट बाबुराम भट्टराईलगायतका नेतालाई कारवाही गर्नु भयो । त्यसको आवश्यकता किन पर्यो । केन्द्रीय समितिको बैठक सकाएर आएपछि एकपटक छलफल गरि सहमतिको प्रयास गर्नुपथ्र्यो तर उहाँले त्यसको आवश्यकता नै ठान्नु भएन र सिधै निरकुंश शैलीमा कारवाही ठोक दिनु भयो । पार्टी विभाजनको सुरुवात वीरगञ्ज बैठकबाट नै भएको हो ।

पार्टी अलग गर्नुभयो, चुनावको तयारी कस्तो भइरहेको छ ?

–कार्यकारिणी समितिको बैठकले पार्टीभित्र कार्यविभाजन गरेको छ । केही मनोनय पनि गरिएको छ । निर्वाचन परिचालन समिति पनि गठन भएको छ । घोषणापत्र लेख्ने जिम्मेवारी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई दिएको छ । निर्वाचनमा केन्द्रीत भएर सातवटै प्रदेशमा अभिमुखी कार्यक्रम गर्ने पनि तय भएको छ । अर्थात पार्टीभित्र चुनावको तयारी तीब्र रुपमा अगाडी बढेको छ । हामी चुनावमा भाग लिनका लागि आतुर छौं ।

तपाईहरु माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिँदै हुनुहुन्छ त्यस्तो किन ?

–यो एक प्रकारको चुनावी गठबन्धन नै हो । माओवादी केन्द्र पाँच दलीय गठबन्धनमा छ । हामी पनि त्यही पाँच दलीय गठबन्धनमा सामेल हुन चाहेका थियौं तर सम्भव भएन । समाजवादी केन्द्र बनाउने कुरा पनि छलफलमा छ । समाजवादी केन्द्र बनाउने दलहरु एक ठाउँबाट नै चुनाव लडौं भनि चाहनाले यस्तो भएको हो । त्यही भएर हामी माओवादी केन्द्रसँग तालमेल गरेका छौं । तालमेल गरेपछि एउटै चुनाव चिन्हबाट किन नलड्ने भनेर हामी हंसुवा हथौडा चिन्ह लिएर निर्वाचनमा भाग लिँदैछौं । हसुवा हथौडा पुरानो चुनाव चिन्ह हो त्यसबाट चुनाव लड्दा दुवै दललाई सजिलो हुने भएर नै हामीले त्यस्तो गरेका हौं ।

चुनाव जितेर आएपछि तपाईहरु नेसपाको सांसद होइन, माओवादी केन्द्रका सांसद कहलाउनु हुन्छ अनि पार्टी गठन गरेको के काम ?

–कानुनी रुपमा माओवादीको सांसद कहलाए पनि हामी नेसपाकै सांसद हुन्छौं । हामी आफ्नो पार्टी गतिविधिमा हुन्छौं । हामी आफ्नो तरिकाले संसदको गतिविधि अगाडी बढाउँछौं । बहुमत वा कुनै संसदीय प्रकृयामा माओवादीलाई संसदको आवश्यकता परेमा हामीले साथ दिन्छौं । त्यो पार्टीको चिन्हबाट चुनाव जितेका हुन्छौं भने त्यति त गर्न आवश्यक भइ हाल्छ नि ।

आफ्नो अनुसार चलेपछि माओवादी केन्द्रले कारवाही गर्ला नि फेरी त्यो कुरा बुझ्नु भएको छ कि छैन ?

–कानुनमा कारवाहीको कुरा प्रष्ट छैन । तर माओवादीले गर्ने ह्वीप हामीलाई पनि लाग्न सक्छ । अर्को कुरा, हामीले कारवाही गर्ने खालको कुनै गतिविधि नै गर्दैनौं । संसदीय अभ्यासमा संसदको जे काम पर्छ, जे भूमिका हुन्छ त्यसमा हामीले माओवादीले भने अनुसार नै गर्छौ । त्यसबाहेकका पार्टी जीवन त हाम्रो आफ्नो जीवन हो नि । हामीले माओवादी केन्द्रको चिन्हमा चुनाव जितेपछि पार्टीको कुनै पनि गतिविधि गर्नु हुँदैन भने होइन । हामी आफ्नो सबै गतिविधि गर्छौ तर संसदीय राजनीतिमा माओवादी केन्द्रलाई साथ दिन्छौ ।

माओवादी केन्द्रसँग एकताको अभ्यास त होइन यो ?

–होइन, अहिले पार्टीले त्यस्तो कुनै निर्णय गरेको छैन तर भविष्यमा के हुन्छ त्यो कुरा अहिले भन्न सकिदैन । राजनीतिमा कहिले काही नसोचेका घटना भइ दिइन्छन् । समाजवादीहरु सबै एक ठाउँमा आउनुपर्छ भनि बाबुराम भट्टराईको लाइन पनि हो । त्यसका लागि उहाँले समाजवादी केन्द्र बनाउने प्रयास पनि गरिरहनु भएको छ । त्यसैले माओवादी केन्द्रसँग नेसपाको एकता हुँदैन भने होइन, भइ नै हाल्छ भने पनि होइन । तर माओवादी केन्द्रसँग हाम्रो गठबन्धन रहन्छ नै । त्यो गठबन्धनमा काम गर्दै जाँदा एकताको आवश्यकता महसुस भयो भने त्यो पनि हुनसक्छ तर अहिलेसम्म त्यो कुरामा पार्टीले केही सोचेको छैन ।

तपाई पनि चुनाव लड्ने घोषणा गर्नु भएको छ, कस्तो छ त्यसको तयारी ?

–हो, यसपटक चुनाव लड्ने घोषणा गरेको छु । तर पार्टीमा त्यसको बारेमा निर्णय भएको छैन । सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने सोच बनाएको छु । पार्टीमा नाम पनि सिफारिस भएको छ । पार्टीले टिकट दियो भने चुनाव लड्छु । अब युवालाई मौका दिनुपर्छ । सधै त्यही पुरानो अनुहार, पुरानै सोच भएका व्यक्तिलाई संसदमा ल्याई रह्यो भने परिवर्तन सम्भव हुँदैन । समाजवाद उन्मुख आर्थिक समृद्धिका लागि युवा नै अगाडी आउनुपर्छ । नीति निर्माण तहमा युवाको पहुँच भएन भने देशमा आर्थिक समृद्धि सम्भव छैन । त्यसैले म पनि यसपटक चुनावका लागि अगाडी आएको छु ।

तपाई युवाको रुपमा चुनावमा जाँदै हुनुुहुन्छ, त्यही अनुसारको तपाईको चुनावी एजेण्डा होला, के के एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?

–मेरो मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास गर्नु नै हो । विकासको मुख्य पूर्वाधार भनेको सडक हो । सर्लाहीमा सडकको अवस्था जर्जर छ । चुनाव जितेर गएपछि पहिलो काम त्यहाँ सडक निर्माण तथा यतायातको विकास गर्ने हो । त्यस्तै, पर्यटनको विकासमा पनि मेरो जोड हुनेछ । सर्लाहीमा धेरै यस्ता ठाउँहरु छन्, जसको विकास गरेपछि पर्यटकहरु आउन सक्ने गरि बनाउने मेरो योजना छ । त्यस्तै, कृषिको विकास पनि जोड दिनुपर्छ । कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण, यान्त्रिकीकरणका साथै व्यवसायीकरणमा जोड दिनुपर्छ त्यसमा म लाग्ने छु । कृषि सडकको विस्तार गर्नुको साथै खेत खेतमा विजुली पुर्याउने मेरो योजना छ । त्यस्तै, शिक्षाको स्तर सुधार गर्ने मेरो चाहना छ । स्वास्थ्यमा पनि थुप्रै कामको योजना बनाएको छ । र, ती सबै योजना लिएर म जनता समक्ष जाने छु । विश्वास छ कि यसअघि आएका सांसदहरु भन्दा त्यहाँका जनताका लागि राम्रो गर्छु । जनताले मलाई विश्वास गरेर संसदमा पुर्याउने छ । म सांसद नभए पनि धेरै कामहरु गराएको छु क्षेत्रमा । जनताले यो कुरा थाह पाइसकेको छ कि अहिले सांसद हुनुहुन्न भने यतिका काम गर्नु भएको छ । भोली सांसद हुनुभयो भने कति काम गर्नुहुन्छ भनि जनताले भन्न थालेको छ ।

तपाईको प्रतिक्रिया