मधेश जित्न जसपाको बार्गेनिङ

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धन छाड्दैछ भनि चर्चा यो बीचमा निकै भयो । जसपाका अध्यक्ष उपेन्द्र यादव मात्र होइन, सो पार्टीका अन्य शीर्ष नेताहरुले पनि गठबन्धन छाड्न सकिने आशयको अभिव्यक्ति दिनुभयो ।

जसपाका नेताहरुले सार्वजनिक मञ्चमा मात्र होइन, गठबन्धनको बैठकमा पनि आफूहरुले दावी गरेको सीट पाउन सकिएन भने गठबन्धन बस्न बाध्य नहुने चेतावनी पनि दिइरहनु भएको छ । जसले गठबन्धनभित्र नै तनाव उत्पन्न गरेको छ ।

गठबन्धनका मुख्यघटक दल नेपाली काँग्रेसका एक नेताले भन्नुभयो, ‘लाग्छ उपेन्द्र यादवजीकै कारण गठबन्धन भत्किन्छ होला ।’ सबै दल आआफ्नो अडानबाट पछाडी हट्ने तयार भएपनि जसपाका अध्यक्ष यादव दयाँ बयाँ हुन नचाहेको ती नेताले बताउनुभयो ।

जसपाले देशभरमा प्रतिनिधिसभामा ३० र प्रदेशसभामा ६० सीट माग गरेको छ । त्यसमा मधेश प्रदेशमा मात्र कम्तीमा प्रतिनिधिसभामा २० र प्रदेशसभामा ३० सीट हुनुपर्ने अडानमा छ ।

जुन सम्भव नै छैन, काँग्रेसका एक अर्का नेताले भन्नुभयो, ‘सबै सीट उपेन्द्रजीलाई नै दिने हो भने के हामी त्यहाँ झाली पिटेर बस्ने हो ।’

भदौं २२ गते हिजो वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जसपा एक्लै पनि चुनाव लड्नसक्छ, त्यसका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

वीरगञ्जको कार्यक्रममा अध्यक्ष यादवले भन्नुभएको थियो, गठबन्धनमा जसपालाई उपेक्षा गरिएको छ, यदि यस्तै रहने हो भने जसपा एक्लै चुनाव लड्न तयार रहनु पर्छ ।’

मधेश प्रदेशमा जसपाले आफ्नो नेतृत्वमा सरकार बनाउने ‘माइण्डमेकअप’ गरी चुनावको तयारीमा लागेको छ । त्यसका लागि यदि त्यहाँ सीटको कुरा मिलेन भने गठबन्धन छाडेर भएपनि चुनाव लड्ने मुडमा जसपा रहेको छ ।

जसपाका एकजना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘हाम्रो मुख्य आधार क्षेत्र भएको मधेश प्रदेश हो, त्यहाँ नै हामीलाई ड्यामेज गर्न खोज्यो भने गठबन्धनमा बस्नुको कुनै अर्थ छैन ।’

मधेश प्रदेशमा जसपाको जे अवस्था छ, त्यो अनुसार सीट दिनुपर्छ नभए मधेश प्रदेशमा पाँच दलबीच गठबन्धन नहुन पनि सक्छ, पाँच दलीय गठबन्धनमा रहेका दलबाहेकका दलहरुसँग पनि गठबन्धन गरेर अगाडी बढ्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति र यी नेताले दिनुभएको जानकारीलाई आधार मान्ने हो भने जसपाले मधेश प्रदेशका लागि धम्की दिएर पनि आफ्नो सीट हात पर्ने दाउमा देखिन्छ ।

र, त्यसैका लागि गठबन्धन छाड्ने अभिव्यक्तिहरु आइरहेको छ । यता, एक सीट भएपनि मधेश प्रदेशमा काँग्रेसले जसपाभन्दा बढी सीट दाउमा छन् । नेकपा एकीकृत समाजवादी पार्टीले अरु प्रदेशभन्दा मधेश प्रदेशमा आफ्नो संगठन बलियो छ भन्दै उसले पनि आफ्नो अडान त्याग्ने पक्षमा देखिएको छैन ।

माओवादी केन्द्र पनि मधेशमा आफू बलियो रहेको भन्दै आएको छ ।

जसपाले मधेश प्रदेशमा प्रतिनिधिसभा भन्दा बढी उसले प्रदेशसभामा डिमाण्ड गरेको बुझिएको छ । जसपाका एक नेताले भन्नुभयो, ‘मधेश प्रदेशमा हाम्रो प्रतिनिधिसभाको सीट घटाइयोस् तर प्रदेशमा हामी कुनै पनि हालतमा घटाउन दिँदैनौं । जसपाको बेसलाइन नै मधेश प्रदेश हो एक्लै चुनाव लडेपनि सबभन्दा बढी सीट ल्याउँछ ।’

जसपा कार्यकारिणी सदस्य रकम चेम्जोङले अहिले नै गठबन्धन छाड्ने अवस्था सृजना नभएको बताउनुभयो । गठबन्धनभित्र छलफल जारी छ, छलफलबाट सहमति सम्भावना बढी रहेका छ त्यसैले जसपा गठबन्धन नै छाड्छ भन्न आधार छैन भन्नुहुँदै उहाँले अन्त्यमा गएर कुरा मिल्दै मिलेन भने जसपा चुनावमा भाग नलिने कुरा हुँदैन एक्लै भएपनि चुनावमा भाग लिन्छ तर अहिले त्यो अवस्था नआएको दावी गर्नुभयो ।

तर जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनको धारणा अलि फरक छ । उहाँले गठबन्धनमा रहेका ठूला दल भनाउँदाहरुले जसपाले हेप्ने र पेल्ने काम गरे भने गठबन्धनमा निरिह भएन बस्न नसकिने बताउनुभयो । मधेश केन्द्रीत दल हो, यसको संगठन छैन, दुई चार सीट दिए यसले मानि हाल्छ नि भनि कसैले सोचेको छ भने त्यो गलत हुनसक्छ भन्दै प्रवक्ता सुमनले सम्मानजनक सीट बाँडफाँट हुनुपर्ने कुरामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया