Khadya Bibhag

नयाँ पार्टी खोलेर विद्रोह गर्ने मुडमा राजेन्द्र महतो !

‘पाँच वर्षमा के गरे, यत्रो आन्दोलन भयो । यतिका मान्छे सहादत दिए । यतिका मान्छे घाइत भए । तर मधेशले के पायो ? अब फेरि चुनाव लडेर त्यही संसदको चक्कर लगाउने, मन्त्री बन्ने फेरि पाँच वर्षको समय त्यसैगरि सकिन्छ, यसबाट मधेशलाई फाइदा के भयो त ?’ यो प्रश्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना निकट नेताहरुसँग गर्नु भएको छ ।
असोज ६ गते अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उहाँले आफ्ना निकट केही नेताहरुलाई राखेर उहाँले् आफ्नो बारेमा आफै समिक्षा गर्दै यस्तो प्रश्न बारम्बार गर्नुभयो ।

उहाँले पाँच वर्षको समिक्षा गर्नुभयो । पाँच वर्षमा के गरे, यत्रो आन्दोलन भयो । यतिका मान्छे सहादत दिए । यतिका मान्छे घाइत भए । तर मधेशले के पायो ? उहाँको निष्कर्ष छ मधेशले केही पाएन । फेरि चुनाव हुँदैछ । करौडो रुपियाँ खर्च गरेर चुनाव जित्ने । सांसद भएपछि मन्त्रीका लागि दौडधुप गर्ने, सरकारमा जाने मन्त्री बन्ने, फेरि सरकारबाट हटाउन प्रपञ्च हुन्छ । अर्को सरकार बन्छ । फेरि अर्को सरकार बन्छ । यसै गरी बित्ने छन् फेरि अर्को पाँच वर्ष । त्यसैको लागी चुनावमा जाने हो त भनि आफ्ना निकट नेताहरुलाई बारम्बर उहाँले प्रश्न गर्नुभयो ।

अरु दिनको तुलनामा त्यो दिन वरिष्ठ नेता महतोको मुड अलि बढी नै अफ थियो । मुड अफको एउटा अर्को कारण पनि थियो । सहमतिमा तयार गरेको समानुपातिक उम्मेदवारको सूचीमा नै गडबड भएको छ । सहमतिमा एउटा सूची तयार भयो र तर निर्वाचन आयोगमा पुग्दा अर्को सूची गयो । त्यो थाह पाएर नेता महतो निकै दुखी हुनुभयो । यसको बारेमा उहाँले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि कुरा गर्नुभयो । तर अध्यक्ष ठाकुरले तपाईहरुकै सहमतिमा बनाएर दिएको लिस्ट हो अब त्यसमा कुनै हेरफेर हुने छैन भनि जवाफ दिनु भएको थियो ।

अध्यक्ष ठाकुरले आफ्नो छोरी र आफ्नो नातीको नाम प्राथमिकतामा राखेर पठाएपछि नेता महतो आक्रोशित हुनु भएको थियो ।
त्यसपछि उहाँले आफ्ना निकट नेताहरुलाई भेला गरेर पार्टीको विकल्प खोज्ने प्रस्ताव राख्नु भएको थियो । उहाँले आफ्ना निकट नेताहरुको छलफलमा भन्नुभयो, ‘मधेशका समस्याका जस्ताको त्यस्तै छ । नागरिकताको समस्या समाधान भएको छैन, वर्षौदेखि संविधान संशोधनका लागि हामी चिच्याई रहेका छौं, लाठी खाइ रहेका छौं, त्यसका लागि ज्यान पनि गएको छ, फेरि हामी जहाँ थियौं त्यही आइपुगेका छौं, त्यही भएर यो चुनावको अर्थ छैन ।’

उहाँले नयाँ पार्टी गठन गरेर चुनाव वहिष्कार गरी आन्दोलनमा जाने कुरा राख्नु भएको थियो । उहाँले भन्नु भएको थियो, ‘चुनाव नै लड्ने हो भने लोसपा छदैछ, त्यहाँबाट म टिकट पाइ हाल्छु, चुनाव पनि जिति हाल्छु तर समस्या त्यतिले मात्र समाधान हुँदैन त्यसैले चुनावमा जाने मेरो ‘मुड’ छैन त्यही भएर नयाँ पार्टी बनाएर आन्दोलनमा जाउँ ।’ महतोले नयाँ पार्टी खोलेर चुनावी राजनीति होइन, अधिकारका लागि संघर्ष गर्ने प्रस्ताव गर्नुभएको थियो । ‘चुनावको राजनीति जसपा, लोसपाले गरोस् म नयाँ पार्टी खोलेर संघर्षको राजनीति गर्छु, उहाँले भन्नुभएको थियो ।

तर उहाँ निकट नेताहरुले तत्कालै राजेन्द्र महतोको प्रस्तावलाई स्विकार गर्नुभएन । उहाँहरुले अहिले नयाँ पार्टी गठन गर्ने समय होइन, चुनावको मुखमा नयाँ पार्टी गठन गरेर आन्दोलनमा गयो भने गलत सन्देश जान्छ, आन्दोलनले गति लिँदैन, जनता पनि अहिले चुनावको मुडमा छैन भनि सुझाव दिनुभएको थियो । यसको बारेमा चुनावपछि सोच्न सकिन्छ भनि उहाँहरुले सुझाव दिनु भएको थियो ।
यो सुझावपछि नेता महतो अलि शान्त हुनुभएको थियो ।

र, उहाँ काठमाडौँ छाड्नु भयो । एकाएक उहाँ सर्लाही जानुभयो । अध्यक्ष ठाकुरले बैठक बस्नका लागि आग्रह गर्दागर्दै उहाँ असोज ७ गते सर्लाही जानुभयो । सर्लाहीमा पनि उहाँले विभिन्न व्यक्तिहरुसँग छलफल गर्नुभयो । त्यहाँ छलफल गरिरहेकै बेला अध्यक्ष ठाकुरले एमालेसँग गठबन्धन गर्नुपर्छ भनि नेता महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति बनाउनु भयो । र, त्यसको जानकारी नेता महतोलाई गराउनु भयो ।

त्यसको जवाफमा नेता महतोले आफू १० गते मात्र काठमाडौँ फर्किने त्यसपछि मात्र त्यस विषयमा कुरा गर्ने भन्नु भएको थियो । सर्लाही हुँदै नेता महतो जनकपुर पनि जानु भयो । त्यहाँ पनि नेता, कार्यकर्तासँग सल्लाह गरेर काठमाडौँ फर्किनु भयो । उहाँ काठमाडौँ फर्केपछि एमालेसँग गठबन्धन गर्नका लागि वार्ता गरिरहनु भएको छ तर अझै पनि उहाँ बेचैन हुनुहुन्छ । चुनावमा जाने उहाँको अलिकति पनि मुड छैन । उहाँ अलमलमा हुनुहुन्छ ।

-सहारा टाइम्स पत्रिकारबाट

तपाईको प्रतिक्रिया