काठमाडौँ असोज १७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र केपी शर्मा अोली नेतृत्वको नेकपा एमालेबीच तत्काल चुनावी गठबन्धन नहुने भएको छ ।
लोसपाका अध्यक्ष ठाकुर र एमालेका अध्यक्ष अोलीबीच आज भएको छलफल अनुसार दुई दलबीच चुनावी तालमेल नहुने निष्कर्ष निकालेको छ ।
स्रोतका अनुसार दुई दलको बीचमा सिट बाँडफाँटमा कुरा नमिलेको कारण गठबन्धन नहुने भएको छ । सम्भव भयो भने कुनै नेता विशेषका लागि सहकार्य गर्न सकिन्छ नत्र मित्रवत प्रतिस्पर्धा गर्दै एक्ला एक्लै चुनाव लड्ने दुई अध्यक्षको बीचमा सहमति भएको स्रोतले जनाएको छ ।
लोसपा नेपालले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले एमालेसँग पटक पटक छलफल गर्यो । तर त्यहाँ कुरा नमिलेपछि आज अध्यक्षद्धयको बीचमा कुरा हुँदा गठबन्धन नगर्ने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।
हिजो नै लोसपाको शीर्ष नेताहरुको बीचमा भएको छलफलमा एमालेसँग गठबन्धन गर्न नसकिने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार आज एमालेसँग छलफल गरेको हो ।


तपाईको प्रतिक्रिया