Khadya Bibhag

अन्योललमा जसपा–एमाले गठबन्धनका मतदाताहरु (फरकमत)

–जीबछ यादव ‘उदासी’

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोयन दर्ता गराई चुनाव चिन्ह प्राप्त गरेर विभिन्न दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा पनि लागि सकेका छन् । विभिन्न समाजिक सञ्जालदेखि लिएर मतदातासँग भेटघाट, विभिन्न विचार गोष्ठी, सभा सम्मेलनमार्फत चुनाव प्रचार प्रसार तीब्रता लिएको छ । अहिले शहर वजारभन्दा गाउँघरलाई यो चुनावले छोपि सकेको छ ।

चुनाव भनेको प्रतिस्पर्धात्मक खेल जस्तै हो । खेलमा जस्तै चुनावमा पनि कोही हार्छन् भने कोही जित्छन् । खेलमा जस्तै यसमा पनि जित्नका लागि सबै दाउ प्रयोग गरेका हुन्छन् । प्रतिस्पर्धीले जित्नकै लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका हुन्छन् । खासगरि मधेशमा चुनाव जित्नकै लागि सबै फर्मुला प्रयोग गरेका हुन्छन् ।

समग्र देशको राजनीति र मधेश प्रदेशको राजनीति बिल्कुलै फरक छ । माओवादीको जनयुद्ध र मधेश आन्दोलनपछि मधेशको राजनीतिमा आएको उलटफेरले फरक परिस्थिति सृजना गरि दिएको छ । खोलामा बाढी आएको समयमा खोला तर्न भय त्रास हुन्छ तर सुकेको बेलामा त्यही खोलामा मज्जाले तर्न सकिन्छ । अहिले मधेशको राजनीतिमा बाढीको अवस्था होइन, सुख्खाको अवस्था छ । खोला तर्न कुनै भय त्रास छैन । मधेशका वामपन्थी समर्थक तथा सचेत मतदाताहरु लोकतान्त्रिक वामगठबन्धनलाई रोज्ने कि जसपा–एमाले बेनामी गठबन्धनतिर जाने दोधारमा छन् । यस दोधारबाट किनारा लाग्न मंसिर ४ लाई कुर्नै पर्छ तर त्यसअघि मधेशको चुनावी तस्विर प्रष्ट हुने देखिन्छ ।

राजनीतिमा इमान्दारिता निष्ठा र सिद्धान्तको स्खलन दिन प्रतिदिन भइरहेको छ । त्यसले गर्दा सचेत मतदाताहरु निराश छन् । काँग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धन छ भने अर्कोतिर जसपा–एमाले गठन छ । ती दुवै गठबन्धमा मधेशवादी दलको संलग्नता छ । सत्ता गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेको छ भने एमालेसँग उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी रहेको छ ।

मधेशवादी दलहरुमा आएको यस विभाजनले मधेशका मतदाता जो मधेशवादी दललाई रुचाउँछन् उनीहरु अन्योलमा देखिएका छन् । यता, वामपन्थी दलहरु पनि दुवैतर्फ विभक्त छन् । त्यसले गर्दा वामपन्थी समर्थक मतदाताहरु पनि अन्यौलमा परेको अवस्था छ । दलहरुको बीचमा चुनावी परिणाम ल्याउन अङक गणितको आधार मानेर गठबन्धन गरेपनि समर्थक मतदाता आम जनताले यस गठबन्धनलाई सहयोग र साथ नदिइने आवाजहरु पनि सबैतिर सुनिन थालेका छन् ।

अहिले सुनिएको आवाजहरु मतमा बदलिए र मतपेटिकामा खसे भने निर्वाचन परिणमपछि मधेशवादीहरु पनि एक ठाउँ र वामपन्थीहरु वाम एकता गर्न बाध्य नहोला भनि भन्न सकिदैन । जसपा–एमाले गठबन्धनले एमालेलाई फाइदा कि घाटा यो महत्पूर्ण प्रश्न अहिले रहेको छ । स्थानीय तहमा जसपा र एमालेका मतहरु जसरी खसेका थिए । त्यहि अनुपातमा मत खसला र एमाले जसपा गठबन्धनले बाजी मार्ला भनि सोच जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीको रहेको छ ।

त्यही सोचेर एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशका जनतालाई बाँडफाँट गर्ने गरी मधेश प्रदेशका आठवटै जिल्लामा हुलाकी राजमार्ग छेउछाउ जसपालाई दिएको छ भने महेन्द्र राजमार्ग एमालेले आफै राखेका छन् । हतारमा गरेको निर्णय कहिलेकाहीं राम्रो भएपनि प्रायः त्यसले नोक्सान नै गरेको हुन्छन् । त्यस कुरालाई एमालेर बुझ्न सकेको छैन । जसपा नेपालका नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि एमालेमा प्रवेशमा प्रवेश गर्नुभयो भने उता उपेन्द्र यादवले आफ्नो पार्टी बचाउनका लागि रातारात एमालेसँग गठबन्धन गर्नुभयो । यो गठबन्धन गरेर एमालेलाई भन्दा जसपालाई बढी फाइदा हुने देखिन्छ ।

त्यही थाह पाएर जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गर्नुभयो । यदि केही दिन मात्र गठबन्धन नगरेको भए जसपाका अरु नेताहरु पनि एमालेमा प्रवेश गर्नुहुन्थ्यो । त्यो कुराको संकेत अध्यक्ष उपेन्द्र यादवले पनि पाइसक्नु भएको थियो । त्यसलाई जोगाउनका लागि भएपनि एमालेसँग चुनावी तालमेल गर्न बाध्य हुनुभयो ।

सिरहाका जसपा नेता सत्रुधनसिंह कोइरी एमाले प्रवेश गर्न बालकोट जान तयारी अवस्थामा हुनुहुन्थ्यो । सत्रुधनलाई बालकोट जानबाट रोक्न सफल हुनुभयो । सत्रुधन सिंहले राजिनामा दिइसक्नु भएको थियो ।

केही दिनमै एमालेमा प्रवेश गर्ने तयारीमा लाग्नु भएको थियो । त्यसका सूचना उपेन्द्र यादव कहाँ पुग्यो । उपेन्द्र यादवले एमालेसँग गठबन्धन नै गरेपछि सत्रुधन सिंह कोइरी आफ्नो राजिनामा फिर्ता लिनुभयो ।

राजिनामा फिर्ता लिएपनि उहाँले जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु भएन । सत्रुधनसिंहको ठाउँमा राजकिशोर यादवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनुभयो ।

सत्रुधनसिंहले टिकट नपाउने भएपछि उहाँ पुनः एमालेमा गएर सिरहा २ ९क० का लागि प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभयो । टिकटकै लागि जसपा छाडेर एमालेका प्रवेश गरेका कतिपय नेताहरु अहिले न घरका भएका छन् न घाटका । जसपा–एमालबीच चुनावी गठबन्धन भएपनि न जसपाका मतदाताहरु एमालेको उम्मेदवारलाई मन पराइ रहेका छन्, न एमालेका मतदाताहरु जसपाका उम्मेदवारलाई मन पराइ रहेका छन् । एक हाते सदस्यता र अर्को हात टिकट पाएका नव आगन्तुक उम्मेदवारहरुलाई पनि जनताले मन पराई रहेका छैनन ।

केही दिन अगाडिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति विद्या देवी भण्डारी र एमालेका अध्यक्ष केपी ओलीको पुतला जलाएको जसपा अहिले त्यही केपी शर्मा ओलीसँग घाँटीमा घाँटी जोडेको छ । स्थानीय तहको चुनावमा जसपा र एमालेका नेता तथा कार्यकर्ता एक अर्कासँग आँखा समेत जुधाउन सकिरहेको थिएन तर यसपटको चुनावमा उनीहरु एकअर्का झण्डा बोक्न बाँध्य हुनुभएको छ ।
एक अर्कालाई देखि नसक्ने मतदाताहरुको मन सुलेसनले टालेर नटालिने अवस्था देखिएको छ । यसले दुवै दललाई सोचे जस्तो फाइदा होला जस्तो लाग्दैन । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत व्यापक भ्रष्टाचार भएको कुरा एमालेका प्रदेशसभाका सदस्यहरुको जसपाको विरोधमा दर्जनौ सभाहरुमा मनतव्य दिनु भएको थियो । तसर्थ, नेताले चाहदैमा जनताले अप्राकृतिक गठबन्धनलाई साथ दिइहाल्ने अवस्था देखिँदैन । मधेश प्रदेशका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरुको अवस्था पनि नाजुक छ ।
एमालेलाई सप्तरीको मलेठ घट्नापछि मधेशमा सभा गर्न र अन्य कार्यक्रम गर्न पनि समस्या थियो । त्यति मात्र होइन, २०७४ को चुनावमा सिरहा–३ र धनुषा–४ बाट क्रमशः लिलानाथ श्रेष्ठ र रघुवीर महासेठ मात्रै चुनाव जित्नु भएको थियो । नेकपा विभाजन हुँदा मधेशमा प्रभु साहहरु केपी ओलीलाई साथमा लिएर मधेश प्रवेश गराउनुभयो ।

तर त्यही केपी शर्मा अ‍ोलीले प्रभु साहलाई मात्रै टिकट दिनु भयो उहाँका साथमा आएका र उहाँले पार्टीमा ल्याएका नेताहरुले टिकट नपाउने अवस्था सृजना भयो । त्यसपछि प्रभु साहले स्वतन्त्र उम्मेदवार भएर एमालेमा विद्रोह गर्नुभयो । यसले पनि एमाले–जसपा गठबन्धनलाई ठूलै नोक्सानी पुरयाउने देखिन्छ । नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज समेत रहनु भएको रघुवीर महासेठ, सह इन्चार्ज लिलानाथ श्रेष्ठ र प्रदेश अध्यक्ष राम औतार यादवले पुरानो नेता कार्यकर्ताहरुलाई पाखा लगाएर जसपासँग गरेको माया प्रितिले एमाले–जसपा गठबन्धनसँग चुनावी मुद्दा समेत कमजोर परेको छ ।

अरुलाई जेसुकै होस् आफ्नो क्षेत्रमा चुनाव जित्न रघुवीर महासेठ र लिलानाथ श्रेष्ठले एमाले–जसपा गठबन्धन गरेर सुरक्षित हुन खोज्नु भएको सन्देशले एमालेका जमिनी नेता कार्यकर्ताहरु गरम मुडमा छन् । कही यसले गर्दा आफू सुरक्षित हुन खोजेका रघुवीर महासेठ र लिलानाथ श्रेष्ठलाई नै चुनाव महँगो पर्ने त होइन । सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सिके राउतबीच हुने चुनावी टक्करमा उपेन्द्र यादव रक्षात्मक अवस्थामा पुग्नु भएको छ ।

सप्तरी भनेको अत्यन्तै सेन्टिमेन्टल र संवेदनशील मतदाता र नेताहरुको जिल्ला भएकोले राजनीतिक मुद्दा उपेन्द्र यादवले कमजोर गरेको छ भनि विश्लेषण भइरहेको छ । जुन एमालेले दिनरात मधेश र मधेशीलाई सराप्यो । माखे साङ्ग्लोसम्मको संज्ञा दियो । काले धोतीसम्म भन्यो त्यो दलसँग जसपाले चुनावी गठबन्धन गर्नुले पक्कै पनि मतदातालाई सोच्न बाध्य बनाएको हुनुपर्छ ।

वामपन्थी समर्थक मतदाताहरु एमाले, माओवादी दुई फरक फरक गठबन्धनमा विभाजित भएपनि मतदान गर्ने अवसर मिलेमा वामपन्थी उम्मेदबारहरुलाई खोजी खोजी र रोजी रोजी मतदान गर्न पाए हुन्थ्यो भने हिसाबले पनि धारणाहरु सार्वजानिक भइ रहेको छ । यस्तो खाले मतदाताहरुको मतले नेकपा एकिकृत समाजवादीको उम्मेदबारहरु पनि जित हासिल गर्ने अवस्था सृजना भएको छ । यस्तो अवस्था खास गरी सिरहामा देखिएको छ ।

यता सतारुढ गठबन्धनमा नेपाली काँग्रेसको नेता कार्यकर्ताले आफ्ना सैद्धान्तिक र पारम्पारिक मतदाताहरुलाई गठबन्धनको धर्म अनुसार मत हाल्यो र केही गडबड गरिएन भने मधेशमा एमाले–जसपा गठबन्धनभन्दा बढी भारी हुने प्रष्ट छ । हरेक निर्वाचन क्षेत्रमा काँग्रेस, एकीकृत समाजवादी र माओवादीको मत जोडने हो भने गठबन्धन सजिलै चुनावी गोल गर्न सफल हुनेछ ।

सिरहाको २, ३ र ४ नम्बर क्षेत्रमा काँग्रेसले माओवादी र एकीकृत समाजवादीलाई चापेर मतदान गरे भने सत्ता गठबन्धन बाजी मार्छ । अलिकति पनि मत यताउती भयो भने हार हात लाग्नेछ । सिरहा ३ मा सत्ता गठबन्धनको नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसले कुनै बेइमानी गरेन भने माओवादी केन्द्रबाट उम्मेदवार हुनु भएका विश्वनाथ साहबाट एमालेका लिनानाथ श्रेष्ठलाई हारको सामना गर्नुपर्ने हुन्छ । काँग्रेसले आफनो दलभित्रको खिचातानीले मत यताउति गरयो भने लिलानाथ श्रेष्ठले जित हात पार्न सक्ने अवस्था छ ।

यस्तै सिरहा–२ मा पनि नेपाली काँग्रेस र माओवादी केन्द्रले दिलोज्यान लगाएर मत पेटिकामा मत सुरक्षित गर्न सकेन भने चित्रलेखा यादवको लागि पनि परिस्थिति अनुकूल नहुनसक्छ । हुनत दुबै गठबन्धनमा विश्वासको वातावरण बन्न जरुरी छ । तर जसपा–एमाले गठबन्धन अप्राकृतिक भएको कारण मतदाताहरु विश्वस्त हुनसकेका छैनन् । दुवै गठबन्धनका नेताहरु बीच मन बाँधिएको छैन मतदाता बाँधिनु धेरै टाढाको कुरा हो । यो कुराले सतारुढ गठबन्धनको लागि फाइदा हुने सम्भावना बढी छ ।

नेपाली काँग्रेसमा जति विवाद भएपनि मतदान हुने बेलासम्ममा मत आफ्नै गठबन्धनलाई जान सक्ने अवस्था बन्न सक्छ । तर मंसिर ४ पछि गठबन्धनको स्वरुप प्रकृति हेरफेर हुने गरी जनताले मनमनै गरेको वाम एकतालाई मतमा परिणत गरिदिने र मधेसवादी दलका समर्थक मतदाताहरुले मधेसवादीलाई एक ठाँउमा ल्याउने गरी मतदान गर्ने मुडमा पनि रहेको छ ।
(लेखक जीवछ यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया