राजनीतिमा वंशवाद

—जयप्रकाश आनन्द
राजनीतिलाई यदि कुनै परिवारको निजी सम्पत्ति मान्ने हो भने उत्तराधिकार अनुवांशिक हुन सक्छ । तर राजनीतिलाई जनताको सार्वभौम अधिकार, विचारको आन्दोलन र लोकतान्त्रिक संस्थाको रूपमा बुझ्ने हो भने त्यसको उत्तराधिकार रगतबाट होइन, संघर्ष, विचार, नैतिकता र जनविश्वासबाट निर्धारित हुन्छ ।

लोकतन्त्रमा वंशले परिचय दिन सक्छ, तर वैधता दिन सक्दैन । परिवारले नाम दिन सक्छ, तर इतिहासले स्थान दिन सक्दैन । इतिहासले स्थान केवल उसैलाई दिन्छ, जसले आफ्नो जीवनलाई विचारको पक्षमा खर्च गरेको हुन्छ । दक्षिण एशियाको राजनीतिमा वंशवाद नयाँ रोग होइन । तर बिडम्बना के छ भने लोकतन्त्रका सबैभन्दा ठुलो प्रवचन दिने दलहरू नै बेला–बेलामा परिवारवादका सबैभन्दा ठुला संरक्षक बनेका देखिन्छन् । उनीहरू सिद्धान्तमा लोकतन्त्रको वकालत गर्छन्, व्यवहारमा राजनीतिक सम्पत्तिको अंशबण्डा गर्छन् । भारतको स्वतन्त्रता आन्दोलनमा महात्मा गाँधीले जवाहरलाल नेहरूलाई आफ्नो राजनीतिक रोजाइ बनाए । तर नेहरू गाँधीका छोरा थिएनन्, न त कुनै पारिवारिक उत्तराधिकारी । उनी आन्दोलनका परीक्षित योद्धा, संगठनका स्वीकृत नेता र वैचारिक रूपमा परिपक्व व्यक्तित्व थिए । गाँधीको रोजाइ वंशको होइन, क्षमताको थियो ।

नेपालमा बिपी कोईरालाको जीवनको अन्तिम समय पनि यस्तै एउटा ऐतिहासिक सन्दर्भ हो । क्यान्सरले थलिएका बेला जब उहाँलाई सोधियो, “तपाईंपछि नेपाली कांग्रेस कसले चलाउँछ ?” बिपीले आफ्नो परिवारको कुनै सदस्यको नाम लिनुभएन । उनले निसंकोच भन्नुभयो, “मपछि गणेशमान, किसुनजी र गिरिजा जहाँ रहन्छन्, त्यही नै नेपाली कांग्रेस हुनेछ ।” यो कुनै सामान्य अभिव्यक्ति थिएन । यो लोकतान्त्रिक उत्तराधिकारको घोषणापत्र थियो । बिपीले स्पष्ट सन्देश दिनुभएको थियो, दल कुनै परिवारको सम्पत्ति होइन, त्यो विचारको संस्था हो । नेतृत्व रगतले होइन, संघर्षले जन्माउँछ ।

बिडम्बना, आज त्यही कांग्रेसमा कहिले कोईराला थर, कहिले सिंह थर, कहिले निधी वा अन्य पारिवारिक पहिचानलाई राजनीतिक वैधताको प्रमाणपत्र बनाउने प्रयास देखिन्छ । अझ रोचक त के छ भने सुशील कोईरालापछि पार्टी सभापति बन्ने क्रममा स्वयं शेरबहादुर देउवाले वंशवादी दाबीको कडा प्रतिवाद गरेका थिए । तर पछि आफ्नै राजनीतिक ध्रुवीकरणलाई वैध देखाउन प्रकाशमान सिंह, शशांक कोईराला, शेखर कोईराला र विमलेन्द्र निधिजस्ता नेताहरूको उपस्थिति “वास्तविक कांग्रेस” को प्रमाणका रूपमा प्रस्तुत गरियो । यसले सिद्धान्तभन्दा सुविधालाई प्राथमिकता दिने राजनीतिक संस्कृतिको परिचय दिन्छ ।

पाकिस्तानमा जुल्फिकार अली भुट्टोपछि बेनजीर भुट्टो अगाडि आइन् । तर बेनजीरको परिचय केवल “भुट्टोकी छोरी” भनेर दिनु अन्याय हुन्छ । उनले जेल भोगिन्, निर्वासन सहिन्, सैनिक तानाशाहीसँग जुधिन् र जनताको कठोर परीक्षण पार गरेर नेतृत्व स्थापित गरिन् । उनले वंशको नाम पाए पनि नेतृत्व आफ्नै संघर्षले कमाइन् । यही भिन्नता बुझ्नु आवश्यक छ । परिवारबाट अवसर प्राप्त गर्नु र आफ्नै बलमा नेतृत्व स्थापित गर्नु एउटै कुरा होइन । यस सन्दर्भमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको प्रसंग अत्यन्त मार्मिक छ ।

चन्द्रशेखर केवल प्रधानमन्त्री थिएनन्, उनी भारतीय समाजवादी आन्दोलनका एक वैचारिक स्तम्भ थिए । नेपालको लोकतान्त्रिक आन्दोलनसँग पनि उनको आत्मीय सम्बन्ध थियो । उनले आफ्नो जीवनमा सत्ता मात्र निर्माण गरेनन्; विचारका संस्थाहरू निर्माण गरे । दिल्लीको ‘नरेन्द्र निकेतन’ आचार्य नरेन्द्र देवको स्मृतिमा स्थापित वैचारिक केन्द्र थियो । हरियाणाको भोंडसीस्थित ‘भारत यात्रा केन्द्र’ त भारतीय समाजवादी आन्दोलनको जीवित अभिलेख थियो ।

तर चन्द्रशेखरको निधनपछि उनका विचारभन्दा सम्पत्तिको राजनीति बलियो बन्यो । ट्रस्टभित्र विवाद बढ्यो । राजनीतिक निष्ठा बदलियो । व्यक्तिगत महत्वाकांक्षाले वैचारिक प्रतिबद्धतालाई विस्थापित ग¥यो । अन्ततः नरेन्द्र निकेतन बुल्डोजरले भत्काइयो । त्यहाँ रहेका जेल डायरी, ऐतिहासिक चिठीपत्र, पाण्डुलिपि र समाजवादी आन्दोलनका दुर्लभ दस्तावेज सुरक्षित गर्ने पर्याप्त अवसरसमेत नपाएको भन्दै त्यस घटनाप्रति व्यापक दुःख र आलोचना व्यक्त गरियो ।

अझ ठुलो विडम्बना के रह्यो भने चन्द्रशेखरका पुत्र नीरज शेखर त्यसबेला भारतीय जनता पार्टीका नेता थिए । समाजवादी आन्दोलनबाट राजनीतिक यात्रा थालेका उनी अन्ततः त्यही शक्तिको राजनीतिक वृत्तमा पुगे, जसको शासनकालमा उनका पिताका वैचारिक संस्थाहरू संकटमा परे । इतिहासले यो संयोगलाई केवल राजनीतिक घटना मानेन, धेरैले यसलाई विचारमाथि महत्वाकांक्षाको विजयका रूपमा व्याख्या गरे । प्रश्न उठ्छ, यदि रगत नै उत्तराधिकार हो भने, आफ्नै पिताको वैचारिक सम्पदाको रक्षा गर्न नसक्ने व्यक्तिलाई इतिहासले उत्तराधिकारी मान्छ कि मान्दैन ? उत्तर स्पष्ट छ, मान्दैन ।

राजनीतिक उत्तराधिकार कुनै नागरिकता प्रमाणपत्र जस्तो वंशानुगत अधिकार होइन । यो त जनताले दिने नैतिक जनादेश हो । यसलाई अदालतले होइन, इतिहासले प्रमाणित गर्छ । दक्षिण एशियाको राजनीतिक इतिहास हेर्दा एउटा सत्य पटक–पटक दोहोरिएको छ, वंशले चुनाव जिताउन सक्छ, तर विचारको नेतृत्व दिलाउन सक्दैन । परिवारले पद दिलाउन सक्छ, तर सम्मान दिलाउन सक्दैन । नाम उधारो पाइन्छ, चरित्र उधारो पाइँदैन । लोकतन्त्रमा सबैभन्दा खतरनाक प्रवृत्ति तानाशाही मात्र होइन; दलभित्रको वंशवादी मानसिकता पनि हो । जहाँ नेता कार्यकर्ताबाट होइन, परिवारबाट खोजिन थाल्छ; जहाँ सिद्धान्तभन्दा थर ठूलो हुन्छ; जहाँ त्यागभन्दा रगतको सम्बन्ध बलियो ठानिन्छ, त्यहाँ लोकतन्त्रको आत्मा विस्तारै मर्न थाल्छ ।

राजनीतिक दलहरू कुनै गुठी होइनन् । कुनै परिवारको बिर्ता होइनन् । कुनै वंशको निजी कम्पनी पनि होइनन् । ती लाखौँ कार्यकर्ताको पसिना, जेल, बलिदान र जनविश्वासबाट बनेका सार्वजनिक संस्था हुन् । त्यसैले राजनीतिमा उत्तराधिकारको अन्तिम फैसला न परिवारले गर्छ, न गुटले, न सत्ताले । त्यो फैसला इतिहासले गर्छ । इतिहासले केवल उसैलाई उत्तराधिकारी स्वीकार्छ, जसले विचारको रक्षा गर्छ; जसले संघर्षलाई निरन्तरता दिन्छ; जसले अवसरभन्दा आदर्श रोज्छ ।
र अन्ततः यही सत्य शाश्वत छ !
राजनीतिमा रगतको होइन, विचारको वंश चल्छ ।
पदको होइन, चरित्रको उत्तराधिकार स्थापित हुन्छ ।
परिवारले नेता जन्माउन सक्छ; इतिहासले उत्तराधिकारी बनाउँछ ।

तपाईको प्रतिक्रिया