कोदालो बोकेर चुनाव प्रचारमा
काठमाडौँ कात्तिक ३ गते । जनता प्रगतिशिल पार्टीका उम्मेदवार श्रीमननारायण आफ्ना नौवटा प्रतिवद्धता मतदाता समक्ष प्रस्तुत गर्नुभएको छ ।
रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा सदस्यमा सो पार्टीबाट उम्मेदवारी दिनु भएको छ ।
आफू चुनाव जितेपछि अधिकार सम्पन्न र सशक्त प्रादेशिक सरकारको स्थापनाप्रति समर्पित रहने प्रतिवद्धता जनाउदै नेता श्रीमनले औद्योगिकीकरणलाई प्राथमिकतामा राखी वेरोजगारी समस्या न्युन गर्ने काम गर्नुको साथै रोजगार केन्द्रीत नीति र कार्यक्रम कार्यन्वयनका साथै तत्काल वेरोजगार युवालाई विना धितो जीवनयापन योग्य आर्थिक अनुदानको उपलब्धता गराउने प्रतिवद्धता जनाउनुभयो ।
कृषि र किसानलाई प्रमुख महत्व दिइ कृषि उपजको न्यायोजित मूल्य निर्धारण गराउने प्रतिवद्धता जनाउने उहाँले किसानहरुको खातामा सरकारी सहयताको उपलब्धता सनुनिश्चित गर्ने बताउनुभयो । कृषि सम्बन्धी नीति निर्धारणमा किसान प्रतिनिधिका सहभागिता हुने बताउँदै उहाँले वीरगञ्ज चिनी मिल, गरुडा चिनी मिल र जनकपुर चुरोट कारखानाको पुनः संञ्चालनको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विगत पाँच वर्षमा प्रदेश सरकारद्वारा भएका भ्रष्टाचार र अनियमितताका घटनाको छानविन गराई दोषीमाथि कारवाही गराउने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
श्रीमननारायण आफनो चुनावी अभियान तीब्र बनाउनु भएको छ । पुरानो अनुभवी राजनीतिक कर्मी भएका कारण उहाँलाई चुनावी अभियानमा कुनै समस्या भइरहेको छैन । यद्यपी उहाँको यो पहिलो चुनाव हो । उहाँले आफ्नो चुनाव चिन्ह बोकेर नै प्रचार प्रसारमा निस्कनु भएको छ ।
रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा सदस्यमा सो पार्टीबाट उम्मेदवारी दिनु भएका उहाँ कोदालो काँधमा राखेर प्रचारका लागि निस्कने गर्नुहुन्छ । उहाँको पार्टीका चुनाव चिन्ह कोदालो बोकेको किसान रहेको छ ।
उहाँ घरदैलो कार्यक्रम गर्दा आवश्यकता अनुसार काँधमा कोदालो राखेर मतदाता समक्षा जाने गर्नुभएको छ । श्रीमननारायणले भन्नुभयो, ‘मेरो चुनाव चिन्ह कोदालो बोकेको किसान हो, म किसानको छोरा भएको कारण आफ्नो र आफ्नो चुनाव चिन्हको परिचय गराउन त्यस्तो गरेको हुँ ।’ सबै ठाउँमा लिएर जान्न तर आवश्यकता र परिवेश अनुसार कोदालो काँधमा राखेर मतदातासमक्ष जाने गरेको उहाँले बताउनुभयो ।
नेपाल सद्भावना पार्टीमा स्थापनाकालदेखि नै क्रियाशिल रहेका श्रीमननारायण सो पार्टीमा कहिले कुनै अवसर पाउनु भएन । पछिल्लो समय एक दुईपटक समानुपातिक उम्मेदवार सूचीमा उहाँको नाम राखेपनि पार्टीका अध्यक्षहरुले आआफ्ना श्रीमती तथा आफन्तलाई नै सो सीट दिएको तर आफूलाई जहिले पछाडी राख्ने गरेको गुनासो गर्दै उहाँले यसपटकको चुनावमा आफू प्रत्यक्ष चुनावमा भाग लिएको बताउनुभयो ।
धेरै समय उहाँ कुनै पार्टीमा आवद्ध हुनुहुन्थेन । राजपासम्म उहाँ अनिल झाको साथमा हुनुहुन्थ्यो तर जब जसपा बन्यो उहाँ पार्टीमा एकएक निस्कृय हुनुभयो । पार्टीमा निस्कृय भएपनि उहाँ आफ्नो लेख रचनाबाट मधेशको राजनीतिमा सक्रिय नै हुनुहुन्थ्यो । आफ्नो क्षेत्रका जनताका साथमा नै हुनुहुन्थ्यो । ह्रदयश त्रिपाठीले जनता प्रगतिशिल पार्टी गठन गरेपछि उहाँ पनि सो पार्टीमा सहभागी भए र अहिले सोही पार्टीबाट चुनावमा भाग लिनु भएको छ ।
३३ वर्षको सक्रिय राजनीतिपछि उहाँ पहिलो पटक प्रत्यक्ष चुनावमा भाग लिनु भएको छ । उहाँ भन्नुहुन्छ, जनताको आग्रहमा नै मैले चुनावमा भाग लिएको हुँ र मलाई जनताले नै जिताउनेछ ।’



तपाईको प्रतिक्रिया