१२ वर्ष अरबमा बिताउनु भएका जयलाल सफल कृषक

कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक साठी हजार रुपियाँ भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । व्यावसायिकरूपले बाख्रा, भँैसी र गाईपालन गर्दै आउनुभएका उहाँले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको हो । सुरुवाती चरणमा बाख्रा पालनबाट व्यवसाय सुरु गर्नुभएका गिरीले अहिले भैँसी, गाई र माछापालन गरी व्यवसायलाई फराकिलो बनाउँदै लैजानुभएको छ ।

उहाँसँग साना र ठूला गरी २३ भैँसी, १० गाई र ३० बाख्रा छन् । व्यावसायिक पशुपालनबाट वार्षिक लाखौँ कमाइ गर्दै आउनुभएका गिरीले मासिक ६० हजार रुपियाँ भन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिनुभयोे । “साना र ठूला गरी ३३ भँैसी र गाई छन्”, उहाँले भन्नुभयो, “मासिकरूपमा खसी, बोका पनि बेच्दै आएको छु ।” रोजगारीको सिलसिलामा १२ वर्ष अरबको खाडीमा परिश्रम गरेको अनुभव कृषक गिरीसँग छ । “बाह्र वर्षसम्म खाडी मुलुकमा श्रम गरेँ उहाँले भन्नुभयो, “विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषिमा हात हालेको हुँ ।”

स्थानीय एक सरकारी विद्यालयको तीन बिघाभन्दा बढी जग्गा भाडामा लिएर पशुव्यावसाय गर्नुभएका गिरीले अझै लगानी थप्ने योजनामा रहेको जानकारी दिनुभयो ।

यस व्यवसायमा अहिलेसम्म दुई करोड रुपियाँ लगानी भइसकेको र कृषिमै केही गर्छु भन्ने उद्देश्यले व्यवसाय सञ्चालन गरेपनि सरकारी तबरबाट कुनै सहयोग नमिलेको उहाँको गुनासो थियो । राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिए राम्रो हुने अपेक्षामा रहनुभएका उहाँले कागती खेतीसमेत गर्न थाल्नुभएको छ । कागतीले अबको केही महिनापछि उत्पादन दिने भएको छ । गिरीसँगै श्रीमती र छोरा पनि काममा खटिँदै आएका र तीन कामदारले समेत मासिक १० हजार रुपियाँमा काम गर्दै आएका छन् ।

उत्पादित दूध र मासु बेच्न कुनै समस्या नरहेको उहाँले बताउनुभयो । “दूध लिन बिहानै गाडी फार्ममै आउँछ, खसी, बोका किन्न पनि व्यापारी यहीँ आउँछन् ” गिरीले भन्नुभयो, ‘बिक्री हुन्न कि भन्ने कुनै चिन्ता छैन ।” बाख्रामा उहाँले खरी, जमुनापारी, क्रस, वित्तल क्रस र लोकल जातका पाल्नुभएको छ । नजिकै रहेको जङ्गलमा दुई घण्टा बाख्रा चराएर अघिपछि घरायसी घाँस र दाना खुवाउने गरिएको जानकारी दिँदै गिरीले व्यावसायिकरूपमा बाख्रापालन गर्न सके मासिक हजारौँ रुपैयाँ कमाउन सकिने बताउनुभयो । भैँसी स्थानीय जातका जातका छन् । दूध दिन छाडेपछि भैँसी बेच्न समस्या नहुने देखेर व्यावसायिकरूपमै भैँसीपालन गरेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया