‘सम्मानीय, माननीय पुष्पकमल दाहालजीको प्रस्तावमा समर्थन गर्छु नै, मेरो दलको तर्फबाट समर्थन गर्छु नै । अरु दललाई पनि स्वतन्त्र माननीय सांसदजीहरुलाई पनि सबैलाई पनि आग्रह गर्छु । त्यसमध्ये प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले समर्थन जनाई सक्या छ ।
यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन भने यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याके जस्तै हुनेछ जाल । कोही यसभित्र भोलीका निम्ती अरुखालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ किनभने त्यस पानीबाट त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने बाला छैन ।’
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको मन्तव्यको अंश हो यो । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल काँग्रेसबाट समेत आफ्नो लागि विश्वासको मत लिएपछि एमालेका अध्यक्ष ओली तिरमिराउनु भएको छ । र, त्यसैको प्रतिकृया उहाँले संसदमा देखाउनु भएको हो ।
पुस १० गते मात्र काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच रहेको गठबन्धन टुटाउन अध्यक्ष ओली सफल हुनुभएको थियो तर १५ दिन नपुग्दै प्रचण्डले पुनः देउवाबाट समर्थन लिन सफल हुनुभयो । त्यसलाई एमालेका अध्यक्ष ओलीले आशंकाको घेराभित्र राख्नुभएको छ । काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने घटनालाई एमालेका अध्यक्ष केपी शर्मा अोलीले सहज रुपमा लिनुभएको छैन । काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ भन्ने कुरामा अध्यक्ष ओलीलाई विश्वास थिएन । तर प्रचण्डले गोप्य वार्ता गरेर काँग्रेसलाई आफ्नो पक्षमा ल्याउन सफल हुनुभयो ।
र, यसको सुरुवात अध्यक्ष अोलीले नै गर्नुभएको हो । उहाँ वर्तामन सरकारभित्र ‘सुपर पीएम’ बन्न कोशिस गर्नुभएको छ । उहाँले संसददेखि विभिन्न ठाउँमा ठाउँमा भन्नुभयो कि यो सरकारमा आफूले जे चाहन्छु, त्यही हुन्छ, यो सरकार आफूले नै चलाई रहेको पनि सन्देश दिनुभयो ।
माओवादी केन्द्रका एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘अध्यक्ष ओलीले यतिसम्म गर्नुभयो कि सात दलीय गठबन्धनभित्र अध्यक्ष ओलीले गुटबन्दी गरेर हाम्रो प्रधानमन्त्री प्रचण्डलाई कमजोर बनाउने कोशिस गर्नुभयो । त्यसलाई ब्यालेन्समा राख्नका लागि प्रधानमन्त्रीज्युले काँग्रेसको साथ लिनु भएको हो यसमा लुकाउने छिपाउने कुरा केही छैन ।’
ओलीले सात दलभित्र रवी लामेछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र लिङ्देलको राप्रपा, महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टीलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई कमजोर बनाएर आफूअनुसार चलाउन खोज्नु भएको माओवादी नेताहरुको आरोप छ । गठबन्धन बनेको दुई हप्ता पनि भएका छैन अध्यक्ष ओलीले देखिने गरि त्यसमा गुटबन्दी गर्न थाल्नुभयो । प्रधानमन्त्री प्रचण्डलाई घेराबन्दी गर्न थाल्नुभयो । त्यही घेराबन्दी तोड्नका लागि प्रचण्डले काँग्रेसलाई साथमा लिनुभएको हो ।
एमालेका अध्यक्ष ओलीले पुस २३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जे हर्कत गर्नुभयो त्यसले झन प्राधनमन्त्री प्रचण्ड सशंकित हुनुभयो । सरकारको न्युनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझाउन कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यहाँ उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजकको नाताले एमालेका अध्यक्ष ओली प्रधानमन्त्री जस्तै मुख्य कुर्सीमा बस्नुभयो र प्रधानमन्त्री प्रचण्डलाई एउटा समान्य व्यक्तिको जस्तो छेउको कुर्सी बसाई दिनुभयो । यो घटनालाई प्रधानमन्त्री प्रचण्ड र उहाँका पार्टीले गम्भीर रुपमा लिएका छन् । प्रधानमन्त्री हुँदा हुँदै अध्यक्ष ओलीले आफूलाई ‘सुपर पीएम’ जस्तो देखाउनु भएको छ । जुन तस्विर समाजिक सञ्जालमा भाइरल भयो । यो कुर्सी मिलाउने काम प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव शंकरदास बैरागीले गर्नुभयो ।
आफू प्रधानमन्त्री रहनु भएको बेला अध्यक्ष ओलीले परराष्ट्र मन्त्रालयमा सचिव रहनु भएका बैरागीलाई मुख्यसचिव बनाउनु भएको थियो । त्यसैको गुण बैरागीले तिर्नुभएको धेरैको बुझाई छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मुख्यसचिव बैरागीलाई फोन गरेर झपार्नुभएको छ ।
रमेश मल्लले बैरागीलाई भन्नुभएको थियो, ‘देशको प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ कि ओली यति कुराको पनि ज्ञान छैन तपाईलाई, परराष्ट्र जस्तो मन्त्रालय चलाएर आउनु भएका तपाईलाई पोर्टफोलियो कसरी मिलाइन्छ त्यति पनि ज्ञान छैन ।’ ओली सुपर पीएम बन्न खोजेपछि प्रधानमन्त्री प्रचण्डले तत्कालै काँग्रेसका सभापति देउवासँग सम्बन्ध बनाउन जानुभयो । त्यही दिन काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिने कि नदिने निर्णय पुस २६ गते नै गर्ने छलफल गरेको थियो ।
त्यसको भोलीपल्ट अर्थात पुस २४ गते प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अध्यक्ष अोलीको ‘सुपर पीएम’ सोच बारे छलफल गर्नुभएको थियो । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा ओलीलाई साइजमा ल्याउन काँग्रेससँग हात मिलाउनै पर्ने सुझाव अध्यक्ष यादव र अध्यक्ष नेपालले दिनुभएको स्रोतले बताएको छ । उहाँ दुवैजनाको सहमति लिइसकेपछि प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीको लागि ‘मुभ’ गर्नुभएको थियो ।
पुस २५ गते विहानै प्रधानमन्त्री प्रचण्ड सभापति देउवालाई भेट्नका लागि उहाँकै निवास धुम्बाराही पुग्नुभएको थियो । प्रचण्ड र देउवाको यो भेटले नेपालको राजनीतिमा सनसनी मचाई दियो । एमालेका अध्यक्ष ओलीलाई समेत जानकारी नदिइकन प्रचण्डले गरेको यो भेटले एमालेलाई पनि झस्काई दियो । प्रचण्डले भेटेर फर्किने बित्तिकै देउवाले पदाधिकारीको बैठक बोलाउनु भएको थियो ।
पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राख्नुभयो । तर त्यहाँ कुरा न मिलेपछि थप छलफलका लागि विश्वासको मत लिने दिन पुस २६ गते विहानै पार्टीको कार्य सम्पादन समितिको बैठक बस्यो ।
सो बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने प्रस्ताव गर्नुभएको थियो । महासचिव गगन थापाले विपक्षमै मत हाल्नुपर्छ भन्नुभएको थियो । अर्का महासचिव विश्वप्रकाश शर्मा, नेता अर्जुन केसी र बलबहादुर केसीलगायतले विपक्षमै मत हाल्नुपर्ने धारणा राख्नु भएको थियो तर देउवा पक्षका अधिकाँश नेताले पक्षमा मत हाल्नुपर्नेमा बल दिनुभएको थियो ।
शेखर कोइराला र गगन थापाले न पक्षमा, न विपक्षमा तटस्थ बसौं भन्ने पनि प्रस्ताव राख्नुभयो तर देउवाले प्रधानमन्त्री प्रचण्डलाई मत दिने मन बनाई सकेपछि त्यहाँ कसैको केही लागेन । काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि एमालेका अध्यक्ष ओलीको त्यो अभिव्यक्ति संसदबाट नै आएको थियो ।
काँग्रेसले राष्ट्रपति वा सभामुखमध्ये एउटा पाउने लगभग पक्का जस्तै छ । यसमा माओवादी केन्द्रले पनि काँग्रेसलाई सघाउने लगभग सहमति गरिसकेको कुरा एमालेका अध्यक्ष ओलीले थाह नपाउने कुरा हुँदैन । त्यसपछि उहाँले पनि आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरुसँग छलफललाई तीब्रता दिनुभएको छ ।
यत्रो बहुमत हुँदा हुँदै प्रचण्डले काँग्रेसको साथ खोजेकोमा एमाले अध्यक्ष ओली रुष्ट हुनुहुन्छ । पुस २७ गते गोरखा पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किने बित्तिकै ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । त्यहाँ ओलीले काँग्रेससँग भएको गठबन्धनको रहस्य बारे जिज्ञासा राख्नु भएको थियो । तर प्रचण्डले यो केही होइन, त्यसमा चिन्ता गर्नु बेकार हो । आफूले विश्वासको मत लिन सहमत गराएका मात्र हो, त्यसमा अरु केही सहमति वा छलफल नभएको विश्वास दिलाउनु भएको थियो तर ओलीले त्यसमा विश्वस्त हुनुभएन । प्रचण्डमाथि शंकाको दृष्टिले हेरि नै रहनुभयो ।
त्यसको भोलीपल्ट अध्यक्ष अोलीले आफै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जानुभयो । त्यहाँ पनि ओलीले प्रचण्डसँग काँग्रेसकै रणनीति बारे छलफल गर्नुभयो । मन्त्रीपरिषद्को विस्तारमा ओलीले प्रवेश नै गर्न चाहनु भएन । गठबन्धनको बैठक बस्ने कुरा थियो । त्यो पनि स्थगित भयो ।
पुस २९ गते पनि ओली प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुग्नुभएको थियो । त्यो दिन पनि राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्नेमा सुनिश्चितता प्रचण्डबाट खोज्नुभएको थियो । प्रचण्डले राष्ट्रपति र सभामुख एमालेले नै पाउने हो भनि जति विश्वास दिलाए पनि ओलीको मन मानेन ।
काँग्रेसले राष्ट्रपति तथा सभामुख पदको उम्मेदवार खोजि रहेको छ । त्यत्रो हिम्मत कहाँबाट आयो, त्यत्रो हिम्मत र साहस काँग्रेसलाई कसले दियो भनि ओलीले प्रचण्डलाई बारम्बार प्रश्न गर्नुभएको थियो । यी सब कुरा स्पष्ट नभएसम्म मन्त्रीपरिषद विस्तार नहुने ओलीले अडान लिनुभयो । पुस ३० गते पनि प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुग्नुभएको थियो । त्यहाँ पनि प्रचण्डसँग कुनै कुरामा सहमति भएन ।
बालुवाटारबाट फर्केपछि ओलीले स्वतन्त्र पार्टीका आध्यक्ष लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देलसँग छलफल गर्नुभयो । उता, प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टै छलफल गर्नुभयो । अर्थात प्रधानमन्त्री प्रचण्ड र अोलीले एकअर्कामाथि शंका गरेर आआफ्नो पक्षलाई बलियो बनाउनेमा लाग्नुभएको छ । जुनसुकै बेला राजनीतिको कोर्स परिवर्तन हुनसक्छ ।
तपाईको प्रतिक्रिया