मधेश आन्दोलन: १६ वर्षको कहानी

माघ ५ गते नेपालमा मधेश आन्दोलन सुरु भएको १६ वर्ष पुग्दैछ । नेपालकै इतिहासमा मात्र होइन सायद दक्षिण एसियामा नै यति लामो मधेश आन्दोलन भएको छैन । २०६३ देखि २०७२–०७३ सम्म लगातार मधेश आन्दोलन भएको थियो । पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलन गरी तीन चरणमा सो आन्दोलन भएको थियो । पहिलो र दोस्रो मधेश आन्दोलन सरकारसँग सम्झौता गरेर सकिएको थियो र तेस्रो मधेश आन्दोलन कसरी तुहियो त्यो अझै बाहिर आएको छैन ।


जब कि तेस्रो मधेश आन्दोलन नै सबभन्दा बढी लामो समयसम्म चलेको थियो । नाकाबन्दीदेखि लिएर काठमाडौँ केन्द्रीत आन्दोलन यहीं चरणमा भएको थियो तर तत्कालिन मधेशी मोर्चाका तत्कालिन नेताहरुको आन्तरिक द्वन्दका कारण विना सम्झौता आन्दोलन तुहिएको थियो । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिसँग मिलेर आन्दोलनलाई काठमाडौँमा केन्द्रीत गर्न खोज्नु भएको थियो तर तत्कालिन राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले नाकामा भइरहेको आन्दोलनलाई अझै केही समय निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुनुहुन्थ्यो ।

उता, विजयकुमार गच्छदार काँगेस, माओवादी र एमालेसँग मिलेर १६ बुँदे सम्झौता गरेर संविधान निर्माण गर्नमा लागेपछि यता मोर्चा त्यतिकै कमजोर भएको थियो । आन्दोलनलाई कसरी अगाडि बढाउने लफडाले गर्दा आन्दोलन कमजोर हुँदैन गयो । संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि राजेन्द्र महतोले नाका छाडेपछि आन्दोलन त्यतिकै समाप्त भएको थियो । काठमाडौँमा केही समय उपेन्द्र यादवले आन्दोलन गर्नुभयो तर त्यो पनि विस्तारै हराउँदै गयो । यसरी तेस्रो मधेश आन्दोलन समाप्त भएको थियो ।


त्यसपछि मधेशी दलहरु छुट्टा छुट्टै संविधान संशोधनका लागि आन्दोलनहरु गर्न थाले । तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि त्यो आन्दोलन पनि तुहिएको थियो । बाहिरबाट सरकारलाई समर्थन गरेको तत्कालिन राजपाले कहिले काही विरोधका कार्यक्रम गर्नुको साथै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने काम पनि गर्यो ।

हुन त सरकारमा रहेर पनि फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधनलगायत विभिन्न माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र दिनुभएको थियो तर उहाँहरुको मागलाई सरकारले केही सुनुवाई गरेन ।

पछि फोरम र राजपाले सरकारबाट हात झिकेपछि ओली कमजोर हुनुभएको थियो । ओलीको विरुद्धमा काँग्रेस, माओवादी, र उपेन्द्र यादव नेतृत्वको समाजवादीले मोर्चा कसेपछि महन्थ ठाकुर पक्षलाई समातेर प्रधानमन्त्री ओली मधेशका केही माग पुरा गर्ने प्रतिवद्धता गर्नुभयो । त्यसमध्ये केही गर्नु पनि भयो तर संविधान संशोधन र नागरिकताको समस्या अझै समाधान भएको छैन ।

मधेश शब्द गायब
मधेश आन्दोलन भएपछि उपलब्धी नभएको होइन । संघीयता, समानुपातिक समावेशी, धर्मनिरपेक्षता जस्ता कुरा मधेश आन्दोलनकै कारणले स्थापित भएको हो । आन्दोलनकै कारण सुशिल कोइराला नेतृत्वको तत्कालिन सरकारले संविधान संशोधन गरेर समानुपातिक समावेशीको कुरा संविधानमा निश्चित गरेको थियो । आन्दोलनकै कारण मधेश प्रदेशको नामाकरण भएको हो । महिला, मधेशी, आदिवासी जनजाति, दलितले आरक्षण मधेश आन्दोलनकै कारणले भएको हो तर मधेशीले अझै आफ्नो पहिचान पाउन नसकेको गुनासो भइरहको छ ।


यहाँसम्म कि दलहरुले पनि आआफ्नो पार्टीबाट मधेश शब्द हटाउन थाले । आन्दोलनताका चर्को स्वरमा ‘जय मधेस’ भन्ने तत्कालीन मधेसी जनअधिकार फोरमले पार्टी एकीकरण गरी नामबाटै मधेस शब्द हटाइसकेको छ ।

जनअधिकार फोरम संघीय समाजवादी फोरम हुँदै अहिले जनता समाजवादी पार्टीको रुपमा छ । तराई मधेश लोकतान्त्रिक समाजवादी पार्टी राजपा नेपाल हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा आएको छ ।

आन्दोलनका समय फोरम ‘ब्रान्ड’ नै बनेको थियो । अहिले तत्कालीन फोरमको नामसँंग न त मधेस छ, न त फोरम नै । हातमा मसाल लिएर आन्दोलनको मोर्चामा अग्र भागमा देखिएका फोरम कार्यकर्तासँंग अहिले त्यो मसाल पनि छैन र अभिभावदन गर्ने शब्द ‘जय मधेश’ पनि हराएको छ । जसपासँग अहिले छाता छाप छ भने लोसपासँग साइकल छाप छ ।

अन्तरिम संविधान जलाउनेदेखि लहान र सप्तरीको मलेठ घटनापछि विकसित आन्दोलनको एउटै माग थियो, ‘समग्र मधेश एक प्रदेश’ । तर, संघीयता कार्यान्वयनको क्रममा यसले पूर्णता पाउन सकेन । सप्तरीदेखि पर्सासम्मका आठ जिल्लामा मधेशलाई समिति गरेको छ । जहाँ मधेस आन्दोलनको नेतृत्व गरेका जसपा र तत्कालिन राजपाले सरकार पनि बनाएको थियो । पछि पाार्टीमा विवाद हुँदा राजपाबाट मन्त्री बनेकाहरुलाई हटाएर जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्र र एमालेबाट मन्त्री बनाउनु भएको थियो ।

मधेस आन्दोलन भइरहँदा थुप्रै मधेश केन्द्रित पार्टी खुले । तर, उनीहरूले सत्तामा पुग्ने भ¥याङको रुपमा मधेश मुद्दालाई प्रयोग गरे । मलेठ घटनापछि छवटा पार्टी मिलेर राजपा बनेको थियो । त्यो राजपाले तत्कालिन समाजवादी पार्टीसँग मिलेर जसपा बनाएको थियो पछि जसपाबाट अलग भएर महन्थ ठाकुरहरुले लोसपा बनाउनुभयो ।

मधेशको मुद्दा छाडेर सरकारमा ओहोर दोहोर गरेको कारण मेधशवादीव दल आफैमा समाप्त भए । यहाँसम्म कि मधेश आन्दोलनको नेतृत्व गर्नुभएका दुई मुख्य व्यक्ति उपेन्द्र यादव र राजेन्द्र महतो यसपटक चुनाव हार्नुभएको छ ।
यसरी चुनाव हार्नु र मधेशी शक्ति कमजोर हुनुमा सत्ताका लागि दौडधुप नै रहेको मधेश मामिलाका जानकार विजयकान्त कर्णले बताउनुभयो ।

२०६४ को चुनावपछि आजसम्म मधेशवादी दलका नेताहरु सत्ताका लागि जुनखालको दौडधुप गर्नुभयो । त्यसैको नतिजा हो आज न मधेशी दल छन् न मधेशी नेता नै, उहाँले भन्नुभयो, ‘जब जब मधेशी दल सत्तामा गए दल विभाजन भयो र मधेश कमजोर भयो, जब जब ती दलहरु सत्ता बाहिर रहे तब तब मधेश बलियो भयो र संगठन एकीकृत भयो ।’ उपेन्द्र यादवको पार्टी जतिपटक विभाजन भयो । सत्ताका कारण मात्र भएको थियो ।

तमलोपा र सद्भावना पनि सत्ताकै कारण पटक पटक विभाजन भएको हो । र, ती दलहरु सत्ता र दल विभाजनको खेलमा लागेपछि मधेश आन्दोलनको मागहरु ओझेलमा परे ।

कांग्रेसका केही स्थापित नेताहरू मधेस आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी छाडेर आउनुभयो । फलस्वरूप, कांग्रेस कमजोर भयो, मधेश आन्दोलन एउटा उचाइमा पनि पुग्यो । तर, अपेक्षाअनुरूप यो संस्थागत हुन सकेन । एकातिर कांग्रेस कमजोर भयो भने अर्कातिर आपसी विभाजनले गर्दा मधेशवादी दल पनि कमजोर भए ।

मधेशमा कम्युनिस्टको प्रभाव बढ्यो । २०७२ को संविधान जारी भइसकेपछि मधेशमा विभाजन सुरु भयो । जतिवेला मधेश आन्दोलन भइरहेको थियो, त्यहीबीच प्रधानमन्त्रीको निर्वाचन भयो र मधेशी लोकतान्त्रिक मोर्चामा आबद्ध मधेसवादी दलले संसद्मा सुशील कोइरालाका पक्षमा मतदान गरे ।

मधेश आन्दोलनमा जेजति प्रहरी दमन भइरहेका थियो, त्यो प्रधानमन्त्रीका नाताले उहाँकै नेतृत्वमा भइरहेको थियो । तर, मधेसी मोर्चाले उहाँलाई प्रधानमन्त्री बनाउन मतदानमा जाने निर्णय गर्नु नै मधेश आन्दोलनको सबैभन्दा ठूलो ऐतिहासिक भुल थियो ।

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठी भन्नुहुन्छ, ‘मधेसी दलमा विभाजन हुनुका दुई कारण छन् । पहिलो, सद्भावना पार्टी सक्रिय हुँदा झापाका राजवंशी, ताजपुरिया, गन्गाईदेखि कञ्चनपुरका रानाथारूसम्म सबैमा हामी मधेसी हौँ भन्ने भावना बलियो थियो । सिंगो मधेस एकसूत्रमा बाँधिएको थियो । तर, जब उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम राजनीतिमा प्रवेश ग¥यो । त्यसपछि मधेस जातजातिमा विभाजित भयो ।’

अहिलेको मधेस प्रदेशमा मधेशी कोही छैनन् । सबै विभिन्न जातजातिमा विभाजित भएको उहाँले बताउनुभयो । मधेस सैद्धान्तिक रूपले नभई व्यक्तिगत कारणले मात्रै कमजोर भएको उहाँको बुझाई छ । कोही सत्तामा जान, कोही सत्ताबाट हट्न या कसैलाई हटाउन विभाजनका खेलहरु भए ।

अहिले आएर मधेशवादी दलहरूबीचको विभाजनको शृंखला अवसानको चरणमा पुगेको छ । उनीहरू हिजो मिले, फेरि फुटे । मिल्दाखेरि किन मिले, फुट्दाखेरि किन फुटे ? यसको जवाफ नेतृत्वले कार्यकर्ता र जनतासामु दिन सक्नुपर्छ । मधेसी दलको फुटले मधेसमा कमजोर भएको कांग्रेस र एमालेले फेरि एकपटक बलियो हुने मौका पाएका छन् ।

तपाईको प्रतिक्रिया