काठमाडौँ माघ १६–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् ।
उहाँले सहिद दिवसको अवसर पारेर आज आफ्नो फेसबुकमार्फत सो चेतावनी दिनुभएको हो ।
नेपाली जनता सुचित, चेतनशील एवम् जागृत र संगठित हुँदै गइरहेको उल्लेख गर्दै उहाँले देशको यही अवस्था र शासक जाति, वर्गको यस्तै चिन्तन र चरित्र रहिरह्यो भने देशमा अर्को भयानक जनबिद्रोह हुनसक्छ, त्यतिबेला कसैले सम्हालेर नसम्हलिन सकिने चेतावनी दिनुभएको छ ।
नेपालको शासन प्रणाली र संबैधानिक ब्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन ब्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन हुने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ ।’
राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा र नेपाली सेना परिचालनको सिफारिस गर्ने गरेको उल्लेख गर्दै उहाँले देशको आधा भन्दा बढी जनसंख्या ओगटेने मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई सो संस्थाहरुमा समावेशीकरण हुनबाट बञ्चित गरेको र त्यसले राष्ट्रिय एकता जोगाउन कसरी असम्भव हुने धरणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यी निकायहरूमा समाबेशीकरण कहिल्यै किन गरिदैन ? केही शासक वर्ग, जातिको जातीय अहंकार र नस्लवादी चिन्तन, व्यबहार र चरित्र यो हैन र ? नेपाली जनताको त्याग, तपस्या , संघर्ष र बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपेक्षा र उपहास भएन र ? यस्तै अवस्था रहिरहने हो भने परिणाम के होला ? यस सम्बन्धमा कस्ले ? कहिले सोच्ने ?’
अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको छ । सुरुमा काँग्रेस–माओवादी गठबन्धनमा रहनुभएका अध्यक्ष यादव चुनावको समय सो गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरी निर्वाचनमा भाग लिनुभएको थियो ।
त्यसबाट अपेक्षाकृत परिणाम जसपाले ल्याउन सक्नुभएन । चुनावपछि एमालेसँगको गठबन्धन भंग भएको घोषणा गरेर जसपा अध्यक्ष उपेन्द्र यादव पछिल्लो समय बनेको एमाले–माओवादी गठबन्धनमा सहभागी हुनुभयो । तर त्यहाँ पनि भागबण्डामा कुरा नमिलेपछि उहाँ असन्तुष्ट हुनुहुन्छ । सरकारलाई समर्थन र विश्वासको मत दिए पनि मन्त्री पठाउनु भएको छैन ।


तपाईको प्रतिक्रिया