बढ्दो चोरी निकासी पैठारीका कारण सिरहा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असूल गर्न नसकेको रहस्य खुलेको छ । त्यसरी चोरी निकासी पैठारी भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा हुने गरेको बताइएको छ । भन्सार कार्यालयका कर्मचारी र प्रहरी प्रशासन मिलेर व्यपारीले तिर्ने भन्सारको रकम बार्गेनिङको आधारमा उठाउँछन् । र, बिना भन्सारको पूर्जी मालवस्तु वारीपारी भइरहेका हुन्छन् ।

त्यहीं कारणले बाटो छली, लुकाइ छिपाइ र मालवस्तुको यथार्थ महसुल नतिरी आयात–निर्यातले प्रश्रय पाएपछि सिरहा भन्सारले लक्ष्य अनुसारको राजस्व असूल गर्न नसकेको हो । भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा असुल गरेको राजश्व र आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुस महिनासम्मको राजश्व असुली दरलाई तुलनात्मक अध्ययन गर्ने हो भने गत वर्षको तुलनामा चोरी निकासी पैठारीको कामले प्रश्रय पाएको पुष्टि हुन्छ । र, त्यो भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा हुने गरेको स्थानीय व्यपारीहरु बताउँछन् ।
तर भन्सारका कर्मचारीले चोर बाटो भएर भइरहेको निकासी पैठारीको कामलाई रोक्ने जिम्मेवारी प्रहरी प्रशासनको रहेको बताउँछन् । यता, सूचनाको हकको अभियान्ता परशुराम साहले लक्ष्य अनुसारको राजश्व असुली नहुनुको कारणबारे लिखित जवाफ मांग गर्दा भन्सार कार्यालयले लिखित रुपमा त्यसको जवाफ दिन नसकेको बताइन्छ । भन्सार कार्यालय सिरहाले आर्थिक वर्ष २०७९÷८० को साउनमा राजस्व असुलीका लागि लिएको लक्ष्य भन्दा ७७ प्रतिशत कम अर्थात २३ प्रतिशत मात्र राजस्व असुल गर्न सकेको छ । त्यस्तै भदौमा २०, असोजमा २७, कार्तिकमा ३०, मंसीरमा २५ र पुसमा ५७ प्रतिशत मात्र राजश्व असुल गर्न सकेको छ ।
जफतका गाडी कवारी बन्दै
जफत भएका सवारी साधनको समयमै लिलाम बिक्री नगरिदा, भन्सार परिसरमा वर्षौदेखि रहेका ३९६ थान सवारीसाधन कवाडीमा परिणत हुने देखिएको छ । अधिकांश सवारीसाधनको पार्टपुर्जा खोलिएको स्थानीयको दावी छ । यसका कारण राज्यलाई लाखौको राजस्व गुम्ने खतरा देखिदैछन् । पछिल्लो समय २०७५ जेष्ठ १४ मा सवारीसाधनको लिलाम बिक्रीका लागी सूचना प्रकाशित गरिएको थियो त्यसयताको जफत सवारीसाधनहरु भन्सार परिसरमा थन्किएका छन् ।
भन्सारका सूचना अधिकारी गोपाल महतोले कर्मचारी अभावका कारण लिलाम बिक्रीमा ढिलाइ भएको बताउँनुहुन्छ । सूचना हकको अभियानकर्ता परशुराम साहले जफत भएका सवारी साधनहरु पुरानो भइ मूल्य नघट्ने र राजस्वमा कमी न आउने आधारको खोजी गर्दा, भन्सारका सूचना अधिकारी गोपाल महतोले चोरी निकासी पैठारीको क्रममा जफत भएको मालवस्तुमध्ये पुरानो भइ मूल्य घट्न जाने मालबस्तुको लिलामबिक्री कति कति दिनमा गर्नुपर्ने हो सोको ब्यवस्था भन्सार ऐन तथा नियमावलीमा उल्लेख नरहेको लिखित जवाफ दिनुभएको छ ।
सिरहा भन्सार कार्यालय सिरहाले सडने, गल्ने, उपयोगिता समाप्त हुने मालबस्तु बाहेकलाई ५ देखि १० दिनको अन्तरालमा लिलाम बिक्रीको सूचना प्रकाशन गर्ने गरेको जवाफ दिएका छन् तर भन्सार ऐन २०६४ को दफा ५० (३) मा कब्जा भएका मालबस्तु सडने, गल्ने वा पुरानो भइ मूल्य घट्न जाने वा गोदाम वा स्थानको अभावले राख्न बाधा पर्न लागेमा भन्सार अधिकृतले त्यस्तो मालबस्तु तोकिए बमोजिम तुरुन्त लिलाम गर्न सक्ने ब्यवस्था छ । चोरी निकासी गरेको मालबस्तु ढुवानी गर्न प्रयोग भएको सवारीसाधन जफत हुँदा सवारी चालक पक्राउ नपर्नुका कारणको जवाफ भन्सारले दिन सकेको छैन ।
सूचना हकको अभियानकर्ता परशुराम साहले, सिरहा भन्सार कार्यालय संग सूचना अधिकारी तोकेको प्रमाण मांग गरेपछि कार्यालयले सो कार्यालयका सुब्बा गोपाल महतोलाई सूचना अधिकारी तोक्यो । सूचना अधिकारीको फ्लेक्स बोर्ड झुण्ड्याइयो तर ती फ्लेक्स बोर्डमा सूचना अधिकारीको इमेल ठेगाना र कोठा नम्बर राखेको देखिदैन ।
फ्लेक्स बोर्डमा राखिएको सम्पर्क नम्बर पनि सूचना अधिकारीको नीजि रहेको छ । कार्यालयले हालसम्म स्वतः प्रकाशनको काम गरेको छैन । सिरहाका परशुराम साहले सूचना अधिकारी तोकाउन सिरहाबाट थालिएको अभियानका कारण मधेश प्रदेश लगायत अन्य प्रदेशका सार्वजनिक निकायहरुले सूचना अधिकारी तोक्ने र फलेक्स बोर्ड राख्न बाध्य भएको छ ।


तपाईको प्रतिक्रिया