Khadya Bibhag

भारतद्वारा निर्मित कलेजको भवन हस्तान्तरण

काठमाडौँ फागुन १५ गते । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेजको आज एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत यस कलेज भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा २.८६४ करोड रुपियाँको लागतमा निर्माण भएको हो । स्थापनाकालदेखि नै यस कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा देशका विभिन्न जिल्लाका एकहजार ५०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजले विभिन्न विषयमा अध्यापन गराउदै आएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् ।

यसबाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कूल बस उपहार स्वरुप प्रदान गरेको छ ।

यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको निर्माणमार्फत नेपाली जनताको उत्थानका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया