मधेशका नेतासँग प्रचण्डले भने, ‘मोहन वैद्यको जस्तो पार्टी बनाउने कि आफ्नै पार्टी बनाउने’

माओवादी केन्द्रले फागुन २६ गतेदेखि २८ गतेसम्म तीन दिन मधेश प्रदेशका पार्टी केन्द्रीय समिति सदस्यसँग छलफल गर्यो । पेरिसडाँडामा भएको त्यो छलफलमा मधेश प्रदेशका आठवटै जिल्लाका नेताहरुको उपस्थिति थियो । बैठकमा सबैजनाले आआफ्नो कुरा राख्नुभएको थियो ।

कुरा राख्नेक्रममा सबैको एउटै गुनासो थियो, मधेशमा पार्टीको गुटबन्दी । मातृका यादव र गिरीराजमणी पोखेरेलको गुटबन्दीले मधेशमा माओवादी पार्टी कमजोर भएको अधिकाँशको गुनासो थियो । चुनावमा पनि त्यही कारणले पार्टी कमजोर भयो । पार्टीकै एउटा नेताले अर्को नेतालाई हराउनका लागि गतिविधि गरेको कुरा बैठकमा उठेको थियो ।

सोही क्रममा चुनावमा पार्टीभित्र अन्तर्घात गर्नेहरुलाई कारवाही हुनुपर्ने माग पनि जोडतोडले बैठकमा उठेको थियो ।
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्नुपर्छ भनि कुरा नेताहरुले उठाए पछि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यदि पार्टीमा कारवाही गर्ने हो भने कोही बाँकी रहँदैनन्, हामी सबै कारवाहीको भागेदार हुन्छौं । पार्टीलाई मोहन वैद्यको पार्टी जस्तो बनाउने हो कि अहिलेको पार्टीलाई अलिकति वृद्धि गर्ने हो ।

पार्टीमा कारवाही सुरु गर्ने हो भने कोही बाँकी रहदैन विचार गर्नुस् मोहन वैद्यको पार्टी बनाउने हो कि यसैलाई विस्तार गर्ने हो ।’

चुनावको समयमा भएको अन्तर्घात बारे पार्टीले छानविन गरिसकेको छ । त्यसको प्रतिवेदन हेडक्वाटरमा बुझाई सकेको छ । त्यो प्रतिवेदन अनुसार कारवाही हुने हो भने मधेश प्रदेशका ठूला ठूला नेताहरु कारवाहीमा पर्नेछन् । केन्द्रकै शीर्ष नेताहरु पनि कारवाहीमा पर्नसक्छ । प्रचण्डले भन्नुभएको थियो, ‘पार्टीमा विभिन्न जिल्ला तथा प्रदेशबाट आएको रिर्पोर्टको आधारमा कारवाही गर्ने हो भने हामी कोही बाँकी रहदैनौं ।’

मधेशमा गुटबन्दी रहेको कुरा सही हो तर त्यसलाई कसरी अन्त्य गर्ने, त्यसको जिम्मेवारी नेताहरुको नै रहेको प्रचण्डको भनाइ थियो । प्रचण्डले भन्नुभएको थियो, ‘हो पार्टीमा विधान बमोजिम केही पनि भएको छैन, सबै अस्तव्यस्त छन् यसै बीचबाट समाधान खोज्नुपर्छ ।’

बैठकले मधेश प्रदेशको विवाद समाधान गर्नका लागि दुई महिनाको समय दिएको छ । मधेश प्रदेशका सबै केन्द्रीय सदस्यहरुले कम्तीमा दुईटा पालिकामा पार्टी सुदृढीकरणका लागि अभियान चलाउने । त्यसक्रममा पार्टीका भातृ संगठनहरु निर्माण गर्दै संगठन विस्तार तथा सुदृढीकरण गर्न पार्टीका अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको छ ।

तीन दिनसम्म चलेको सो बैठकमा पार्टीमा उपमहासचिव मातृका यादव अनुपस्थित हुनुहुन्थ्यो । खासमा मधेशमा गिरीराज र मातृकाको द्वन्द रहेको छ र त्यही द्वन्दका कारण विवाद उत्पन्न भएको छ । सोही विवादलाई समाधान गर्न बैठक बोलाएको थियो तर मातृका यादव उपस्थित नभएपछि बैठकमा गुनासो पनि भएको थियो । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले मातृका यादव बैठकमा किन आएनन् त्यसको बारेमा आफूले कुरा गर्ने भनि आश्वासन नेताहरुलाई दिनुभएको थियो ।

केन्द्रीय सदस्य जगत यादवले बैठकको वैधानिकतामाथि नै प्रश्न उठाउनुभयो । उहाँले यो बैठक वैधानिक होइन, अवैधानिक हो । पार्टीको विधानमा हुँदै नभएको व्यवस्थाअनुसार बैठक बोलाएको हो भनि गुनासो गर्नुभएको थियो । केन्द्रीय मधेश प्रदेश समन्वय समितिको नामबाट बैठक बोलाइएको थियो । तर पार्टीको विधानमा यो समितिको कुनै व्यवस्था छैन ।

विधानमा व्यवस्था नै नभएको समिति बनाएर बैठक बोलाउनु नै विधान सम्मत नभएको गुनासो जगत यादवलगायतका नेताहरुले गरेपछि अध्यक्ष प्रचण्डले मधेश प्रदेशमा विवाद देखिएको कारणले बीचको बाटो रोजिएको कारण यो समिति बनाएर बैठक बोलाइएको स्पष्ट पारेका थिए । विधानमा यो समितिको व्यवस्था छैन तर अर्को कुनै उपाय पनि छैन यदि कुनै उपाय छ भने भन्नुस् त्यही अनुसार गरौंला भनि जवाफ पनि माग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया